ad ad

समाज


बंगलादेशबाट ३४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे

माल्दिभ्सकी एक छात्रा पनि आइन् नेपाल
बंगलादेशबाट ३४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे

यो तस्बिरचाहिँ बंगलादेशबाटै तर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अवतरण गरेका विद्यार्थीको हो। जम्मा ५७ जना ती विद्याथी बंगलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए। तस्बिर : रासस


नेपालखबर
साउन ६, २०८१ आइतबार १४:३१, झापा

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बंगलादेशबाट फर्किएका छन्। बंगलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन्। 

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएको जानकारी दिए।

नेपाली विद्यार्थीसँगै बंगलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए।

‘माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ’, अध्यागमन प्रमुख पनेरुले भने, ‘आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीसँगै यहाँ आउनुभयो। भारतीय अध्यागमन अधिकारीले पनि उहाँलाई नेपाल जान अनुमति दिनुभयो।’

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बंगलादेशमा छन्। केही समययता बंगलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ। त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन्। 

ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख पनेरुले बताए।

कुनै कारणवश होस्टेलबाट बाहिरिनुपर्ने भएमा दूतावासमा जानकारी गराउनसमेत भनिएको उनले बताए। 

बंगलादेशमा हिंसात्मक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीले त्यहाँ बस्नुभन्दा स्वदेश फर्किनु उचित सम्झेर परिवारसँग सम्पर्क गरिरहेको अध्यागमन प्रमुख पनेरुले बताए। 

राजधानी ढाकाबाट २० किलोमिटर टाढा इनाम मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका भूषण पोखरेल त्यहाँ जारी निषेधाज्ञाका कारण स्वदेश फर्किन नसकिरहेको उनका बुबा जयधर्म पोखरेलले बताए।

‘धेरै नेपाली विद्यार्थी होस्टेलबाट सडकमा निस्कने अवस्था छैन’, छोरालाई उद्धृद गर्दै उनले भने, ‘ढाकास्थित नेपाली दूतावासले सुरक्षा र प्रहरीको निगरानीमा एयरपोर्टसम्म पुर्‍याउने व्यवस्था गरिदिए धेरै विद्यार्थी घर फर्किने थिए।’

बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘वाट्स एप’, ‘मेसेन्जर’लगायत समाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क स्थापित गर्न नसकिएको अभिभावक पोखरेलले जानकारी दिए। टेलिफोन सम्पर्कमा समेत नेटवर्कको समस्या देखिने गरेको उनले बताए।

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई ढाकाबाट हवाईमार्ग हुँदै सिधै काठमाडौँ अवतरण हुने र पूर्वीनाका काँकडभिट्टा हुँदै स्थलमार्गबाट नेपाल आउने दुई सजिला विकल्प छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .