ad ad

समाज


वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

वरिष्ठ पत्रकार भैरव रिसाललाई ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’

फाइल फोटो


नेपालखबर
साउन ७, २०८१ सोमबार २१:३९, काठमाडौँ

रोटरी इन्टरनेसनलले यसवर्षको ‘यज्ञप्रसाद आचार्य रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरेको छ।

रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को स्थापना दिवसका अवसरमा क्लबका पदाधिकारीले आज पत्रकार रिसाल निवास अनामनगर पुगी अवार्ड प्रदान गरे। पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र छ।

अवार्ड ग्रहण गर्दै पत्रकार रिसालले पछिल्लो समय पत्रकारिताको मूल्य, मान्यता र आदर्श खस्किएको धारणा राखे। उनले आजको अवस्थामा पत्रकारिताको उच्च व्यावसायिक अभ्यासमार्फत राष्ट्र र जनताका खारित आवाज बुलन्द हुनुपर्नेमा जोड दिए। अवार्डले आफूलाई सक्रिय जीवनका लागि थप ऊर्जा र प्रेरणा मिलेको पनि रिसालले बताए।

रोटरी जर्नो अवार्ड समितिका निमित्त अध्यक्ष नम्रता शर्माले पत्रकारिताको माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताए। वातावरण, शिक्षालगायत क्षेत्रका सात विधामा अवार्ड दिँदै आएको रोटरीले यसवर्षदेखि पत्रकारितामार्फत देश र समाजका लागि योगदान गर्ने पत्रकारलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको उनले जानकारी दिए।

पुरस्कारका लागि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को संस्थापकसमेत रहेका सुरेश आचार्यले वरिष्ठ पत्रकार भैरव रिसालले जीवनभर पत्रकारितामार्फत योगदान दिएकाले उनको योगदानको कदरस्वरुप अवार्ड प्रदान गरिएको बताए। उनले वरिष्ठ व्यक्तित्वलाई अवार्ड प्रदान गर्न पाउँदा पुरस्कारको ओज बढेको बताए।

आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मरणमा रु एक लाख एक हजार कोषमा प्रदान गरेका छन्। सोही रकमबाट ‘रोटरी लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो।

पुरस्कार यसै वर्षदेखि हरेक दुई वर्षमा प्रदान गरिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .