नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौँ) बाट उड्नेबित्तिकै खसेको जनाएको छ।
दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने पाइलट मनीषरत्न शाक्य मात्र बाँच्न सफल भएका छन्। तर उनको अवस्था पनि गम्भीर छ। हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ।
क्यानको विज्ञप्तिअनुसार काठमाडौँबाट उड्नासाथ बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटनामा परेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०२४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ ९९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो।’
त्यस्तै क्यानले तत्कालै उद्धार सुरु गरी १ जना घाइतेलाई अस्पताल पुर्याइएको जनाएको छ। उनी जहाजका चालक मनीषरत्न शाक्य हुन्।
बाँकी १८ जनाको भने घटनास्थलमै मृत्यु भएको छ।
Shares
प्रतिक्रिया