ad ad

समाज


बेचन झाको बयान : टेकनारायण र रामशरणलाई चिन्दिनँ, २ करोडको चेक पनि लिएको होइन

डिजिटल फेरेन्सिक ल्याबको रिपोर्ट कुर्दै प्रहरी
बेचन झाको बयान : टेकनारायण र रामशरणलाई चिन्दिनँ, २ करोडको चेक पनि लिएको होइन

उजिर कार्की
साउन १३, २०८१ आइतबार १९:१७, काठमाडौँ

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनी ठगी गरेको कसुरमा पक्राउ परेका बेचन झाको पहिलो चरणको बयान सकिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिल कार्यालयमा लगेर उनको बयान गराइसकेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए। 

असार १३ गते पक्राउ परेका झामाथि ठगी, लिखत किर्ते, राज्य विरुद्धको कसुर र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

‘हामीले पहिलो चरणको बयान सकिसकेका छौँ। अब सरकारी वकिलसँग सल्लाहमा थप बयान आवश्यक प¥यो भने लिने हो। त्यसका लागि हामी फरेन्सिक ल्याबको रिपोर्ट हेर्छौं पहिले। रिपोर्ट आउन बाँकी छ,’ एसएसपी रजौरेले नेपालखबरसँग भने। 

झाले आफूमाथि लागेका सबै आरोपको इन्कार गर्दै बयान दिएका छन्। उनका दुई वटा मोबाइल प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। ल्याबको रिपोर्ट आउन बाँकी रहेको एसएसपी रजौरेले बताए। 

ल्याबबाट यस विषयमा कुनै प्रमाण खुलेमा त्यसको आधारमा थप बयान गराउने प्रहरीको तयारी छ। उनले मन्त्रिपरिषदसम्म मिलाउने भनेको यसअघिका प्रतिवादीहरुले बयान दिएकाले अनुसन्धान उच्च तहसम्म पुग्ने अनुमान प्रहरीको थियो। 

यसअघि पक्राउ परेका रामशरण केसीलाई सानु भण्डारीले भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यका लागि मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरु गराउँछन् भनेको बयान दिएका थिए। 

उक्त निर्णयहरुको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी पठाउन सजिलो हुन्छ भन्दै बेचन झालाई चेक मार्फत २ करोड रुपैयाँ दिएको बयान रामशरण केसीले दिएका थिए।

यस्तै पूर्वगृहसचिव समेत रहेका प्रतिवादी टेकनारायण पाण्डेले बयान गर्दा मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ भन्दै झालाई मुछेका थिए। 

तर बेचन झाले भने उनीहरु दुवै जनालाई नचिनेको बयान दिएका छन्। 

‘टेकनारायण पाण्डेसँग त्यस्तो कुनै संवाद गरेको छैन। मैले नेपालीहरुलाई भुटानी नागरिक बनाई अमेरिका पठाउने कार्यका लागि कसैलाई पनि आश्वासन दिएको छैन। रामशरण केसीबाट मैले चेक लिएको छैन। निजहरुले मलाई किन यसरी पोल गरी बयान गरेका हुन्, सो बारेमा मलाई कुनै थाहा जानकारी छैन। टेकनारायण पाण्डे र रामशरण केसीसँग कुनै संवाद समेत नगरेको अवस्थामा समेत के कसरी अनुसन्धानमा मेरो नाम उल्लेख गरी बयान गरेका रहेछन्, सो बारेमा म अनभिज्ञ छु,’ झाले बयानमा भनेका छन्। 

झाको निवेदन सुनुवाइ गर्न सर्वोच्चको इन्कार
एक महिनादेखि प्रहरी हिरासतमा रहेका बेचन झालाई थुनामुक्त गर्न माग गर्दै उनका छोरा दिव्यांशु शेखर झाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न नमानेको उनको निवेदन इजलासले पनि इन्कार गरेको छ। 

न्यायाधीश टेकप्रसाद ढुंगानाको आदेशमा भनिएको छ, ‘रिट निवेदक उपर ठगी, किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध सम्बन्धी मुद्दाको अनुसन्धान भइरहेको, सोही अनुसन्धान प्रयोजनका लागि कानुन बमोजिम मुद्दा हेर्ने अधिकार क्षेत्र रहेको काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई पक्राउ गरिएको र कानुन बमोजिम पटकपटक म्याद समेत थप भएको मिसिल संलग्न प्रमाणबाट देखिँदा यस्तो विषयमा यस अदालतको असाधारण अधिकार क्षेत्रबाट हस्तक्षेप गर्नु पर्ने ठोस आधार देखिएन।’

सर्वोच्चका रजिस्ट्रारबाट २०८१ असार २८ गते भएको दरपिठको निर्णय नै इजलासले पनि सदर गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध २०८१ असार १३ गते पक्राउ पुर्जी जारी गरेको थियो। झालाई यसअघिका प्रतिवादीहरुले पोलेको बयानकै आधारमा अनुसन्धान गर्नु पर्ने खुलाइएको छ।

रामशरण केसीले २०८० जेठ ७ मा अनुसन्धान अधिकारी समक्ष थप बयान कागजमा पनि झालाई रकम दिएको बयान दिएका थिए। 

यस्तै अदालत समक्ष जेठ १७ गते बयान गर्दा बयानको सवाल जवाफ नम्बर ११ मा सानु भण्डारीले ग्यारेन्टी स्वरुप ब्यालेन्स नभएको चेक दिनु भनी भनेकाले दिएको हुँ भनी उल्लेख गरेका थिए। 

तर बेचनलाई यसबारेमा बयानका क्रममा सोध्दा कुनै जानकारी नभएको, आफूलाई कुनै चेक समेत नदिएको र निजले कुन परिपञ्चका लागि सो कार्य गरेका हुन्, त्यो व्यहोरा उनीहरुलाई नै थाहा होला भनी बयान दिएका छन्।

टेकनारायण पाण्डेले २०८० जेठ २७ गते अनुसन्धान अधिकारी समक्ष दिएको थप बयानमा सवाल जवाफ नम्बर २ मा बेचन झाको बारेमा खुलाएका थिए। 

तर यस सन्दर्भमा सोधपुछ गर्दा पनि बेचनले आफूले मन्त्रालयमा टेकनारायण पाण्डेलाई नभेटेको, सो बारेमा आफूले कुनै कुरा नगरेको र आफूले सो कार्य गर्न कुनै अवस्था समेत सिर्जना नगराएको बताएका छन्।

नक्कली भुटानी शरणार्थीको मुद्दामा पहिलो चरणमा २०८० जेठ १० मा अभियोग पत्र पेस भएको थियो। उक्त अभियोगको पृष्ठ नं २०३ मा अन्य कुरा खुलाउनु पर्ने भएमा भन्ने शीर्षकमा प्रतिवादीहरुको बयान पोलमा परी खुलाइदिएका व्यक्तिहरुको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा अनुसन्धानका क्रममा स्वतन्त्र प्रमाणबाट संगठित समूहको सदस्य भई कसुर गरेका खुल्न आएका बखत वा पक्राउ परी आएका बखत र हालसम्म यकिन नाम तथा वतन नखुलेका व्यक्तिहरुको हकमा यकिन नाम थर खुलेका बखत थप अभियोग दाबी लिई अभियोग पत्र पेस गरिने उल्लेख थियो।

दोस्रोपटक २०८१ वैशाख ९ गते जिल्ला अदालतमा अभियोग दायर भएको थियो। उक्त अभियोग पत्रमा बेचन झाको नागरिकता, मतदाता परिचयपत्र समेत उल्लेख गरिएको थियो। 

सर्वोच्चले दर्ता गर्न नमानेको निवेदनमा बेचनका छोराले दोस्रोपटकको अभियोगमा फरार प्रतिवादी वा यकिन नामथर खुल्न नसकेको भनी उल्लेख गर्न नसकेको जिकिर गर्दै रिहाइको माग गरेका थिए। यस्तै उनले टेकनारायण पाण्डे र रामशरण केसीको पोल बयानपछि हाल कुनै थप प्रमाण नभेटिएकाले पक्राउ गर्नु पर्ने कारण नरहेको जिकिर गरेका थिए। 

यस्तै, उनले कसुर थाहा भएको एक वर्ष पुगिसकेकाले हद म्याद नाघेको दाबी गरेका थिए। तर सर्वोच्चले त्यसलाई दर्ता गरेर सुनुवाइ गर्न इन्कार गरेको छ। यससँगै उनलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुला भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .