ad ad

समाज


पाण्डेलाई पूर्वमन्त्रीहरूको सुझाव– प्राधिकरणलाई टुक्र्याउनू, हवाई माफियाबाट जोगिनू

पाण्डेलाई पूर्वमन्त्रीहरूको सुझाव– प्राधिकरणलाई टुक्र्याउनू, हवाई माफियाबाट जोगिनू

फाइल तस्बिर


नेपालखबर
साउन २५, २०८१ शुक्रबार १९:२७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्वपर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन्।

छलफलमा पूर्वमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एकसाथ राख्न नहुने बताउँदै अलगअलग बनाउनुपर्नेमा जोड दिए।

शुक्रबार मन्त्रालयमा भएको बैठकमा समग्र हवाई क्षेत्रकाे सुधारका लागि पूर्वमन्त्रीहरूको अनुभवसहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन्।

मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलगअलग सुझाव मागेका थिए। सोही क्रममा पूर्वमन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए। उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनुपर्नेमा जोड दिए। त्यसैगरी उनीहरूले दुर्घटनापछि ज्यान गुमाइसकेका पाइलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारे।

पूर्वमन्त्रीहरूले प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त काम गर्न नसक्ने सुझाव बताए।उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्यबद्ध भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनीहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न सुझाए। जहाज खरिद र मर्मत गर्ने कुरामा सोचविचार गरेर मात्रै काम गर्न सचेत पनि गराए। प्राधिकरणलगायत क्षेत्रमा बेथिति रहेकाले सचेत भएर नडगमगाई काम गर्न सुझाव उनीहरूले  दिए। 

घटना भएपछि आयोग बनाउनुभन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्न पनि उनीहरूले भने। त्यसैगरी नजिकका स्वार्थ समूहहरूबाट बच्नुपर्ने र हवाई माफियाबाट सचेत रहनुपर्ने पूर्वमन्त्रीहरूको भनाइ थियो। 

बलबहादुर केसी, जितेन्द्र देव, हितबहादुर तामाङ, जीवनबहादुर शाही, प्रेम आले, आनन्द पोखरेल लगायत पूर्वमन्त्रीहरू सुझाव दिन मन्त्रालय पुगेका थिए।

मन्त्री पाण्डेले बिहीबार प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग सुझाव मागेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .