ad ad

समाज


उच्च अदालत बारको चुनाव: एमाले सत्ता पल्टाउन सक्ला त कांग्रेस-समाजवादीले?

उच्च अदालत बारको चुनाव: एमाले सत्ता पल्टाउन सक्ला त कांग्रेस-समाजवादीले?

अध्यक्षका उम्मेदवारद्वय विदुरप्रसाद ढुंगाना र गोपाल श्रेष्ठ


नेपालखबर
साउन २६, २०८१ शनिबार ८:२४, काठमाडौँ

पाटन उच्च अदालत बार एसोसिएसनमा चुनाव लागेको छ। भदौ १ गते शनिबार हुने चुनावका दुई फरक-फरक प्यानल प्रतिस्पर्धामा आमनेसामने भएका छन्।

नेकपा एमाले र माओवादीनिकट कानुन व्यवसायीले एउटा प्यानल बनाएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीले अर्को खडा गरेका छन्।

सुरूमा एमाले र एकीकृत समाजवादीबीच वार्ता भएको थियो। एकीकृत समाजवादी पक्षधरले पहिलाको चुनावमा जस्तै उपाध्यक्ष, सहसचिव र दुई सदस्य पाउनुपर्ने दाबी गरेको थियो। तर, एमालेनिकट समूहले दुई सदस्य मात्र दिन सकिने भनेपछि एकीकृत समाजवादी टाढिएको थियो।

त्यसपछि कांग्रेसनिकट समूहसँग माओवादी र एकीकृत समाजवादीनिकटले गठबन्धन गर्ने सहमति भएको थियो। पदीय भागबण्डा पनि टुंगिसकेको थियो। तर, साँझतिर भएको सहमति मध्यरातमा तोडियो र माओवादी समूह एमालेतिर पुगेर सहसचिव र एक महिला सदस्य लिन सहमत भयो। अन्तिम समयमा माओवादीले कित्ता फेर्दा कांग्रेसनिकट प्यानलमा उम्मेदवार पनि पूरा संख्यामा छैनन्।

एमाले-माओवादी गठबन्धनले प्रगतिशील, पेसागत, गणतान्त्रिक र समावेशी समूहले एउटा प्यानल बनाएको छ।

यस समूहबाट विदुरप्रसाद दुंगाना अध्यक्षमा उम्मेदवार बनेका छन् भने विष्णुऋषि कोइराला उपाध्यक्षका दाबेदार छन्। यस्तै सचिवमा प्रबल शर्मा, सहसचिवमा सुशीला चौधरी र कोषाध्यक्षमा भूपाल बस्नेत उम्मेदवार छन्।

महिला सदस्यका उम्मेदवारमा विमलाकुमारी शर्मा, जितिन्द्रा विष्ट (जितु) र पुष्पा भुसाल (विमली) टिममा परेका छन्।

खुला सदस्यतर्फ चित्र बहादुर कुताल विष्ट, रामानन्द चौधरी थारू (राजु), तिलकबहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भीष्मप्रसाद पौड्याल, सुशीला श्रेष्ठ, कृष्णसिंह महरा, रेशम कँडेल, निकेशकुमार लम्साल र केशव खतिवडा छन्।

उच्च अदालत पाटन बार एसोसिएसनका लागि समाजवादी तथा लोकतान्त्रिक पेसागत कानुन व्यवसायीको संयुक्त प्यानल बनेको छ।

भदौ १ गते हुने चुनावका लागि उम्मेदवारहरूको संयुक्त प्यानल घोषणा भइसकेको छ। अहिले उनीहरू मत माग्न व्यस्त छन्। 

यस प्यानलबाट अधिवक्ता गोपाल श्रेष्ठ अध्यक्षका उम्मेदवार बनेका छन्। यस्तै दुर्गाप्रसाद चिमरिया उपाध्यक्ष, देवीप्रसाद रिजाल सचिव, यशोदाकुमारी पाण्डे सहसचिव, लक्ष्मी रेग्मी कोषाध्यक्षका उम्मेदवार छन्। 

उपमा पोखरेल महिला सदस्य र नवीना धिताल, जमुना भुसाल, राजन केसी, राजकुमार महतो र दुर्गाप्रसाद खनाल खुला सदस्यका उम्मेदवार छन्।

सत्ता गठबन्धनमा कांग्रेस र एमालेबीच सहकार्य चलिरहेको भए पनि पाटन बारमा यी दुई दलनिकट संगठन आमनेसामने भएका छन्। 
यस्तै विपक्षी दल माओवादीनिकट कानुन व्यवसायीले एमाले पक्षधरसँग गठबन्धन गरेका छन्।

एमालेनिकट समूह आफ्नो पक्षको उपस्थिति बलियो रहेकाले विजयी हुनेमा ढुक्कजस्तै छ। यसअघिका चुनावमा एमाले पक्षधरकै जित भएको बार एकाई पनि हो यो। अर्को समूहले पूरा उम्मेदवार नै उठाउन नसकेको भन्दै आफ्नो जित सुनिश्चित रहेको यस समूहको दाबी छ।

तर एकीकृत समाजवादी र कांग्रेसनिकट समूह भने एमालेको पराम्परागत सत्ता ढाल्ने दाउमा छ। एकीकृत समाजवादी एमालेबाटै विभाजित भएको र एमालेनिकट कानुन व्यवसायीको संगठनमा टिकटका आकांक्षी धेरै भएको कारण नपाउनेहरूको असन्तुष्टिको लाभ आफूले पाउने आस समाजवादी-लोकतान्त्रिक समूहमा छ।

माओवादीनिकट कानुन व्यवसायीमा रमनकुमार श्रेष्ठ र दीनमणि पोखरेलका फरक समूह रहेको र तीमध्ये पोखरेल समूह मात्र एमालेनिकटसँग गठबन्धन गर्न पुगेको, श्रेष्ठ समूहले कांग्रेसको साथ नछाड्ने विश्लेषण पनि गरिएको छ। त्यसैले यो चुनाव विगतभन्दा प्रतिस्पर्धात्मक हुने यस खेमाको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .