ad ad

समाज


माताले बिहे गर्न दबाब दिएपछि युवकले गरे हत्या

माताले बिहे गर्न दबाब दिएपछि युवकले गरे हत्या

नेपालखबर
साउन २७, २०८१ आइतबार १८:३९, काठमाडौँ

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ लामाचौरकी माता भनिने ४९ वर्षीया शुशिला मल्लको हत्या उनकै प्रेमीले गरेको खुलेको छ।

शुशिलाको हत्या आरोपमा प्रहरीले चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ।

साउन २३ गते प्रेमले नै शुशिलाको हत्या गरेको रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलले दाबी गरे।

उनका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका हुन्। 

शुशिला र प्रेमको डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेटघाट र चिनजान भएको थियो।

पछिल्लो ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा थिए।

शुशिला एकल महिला हुन्। उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो। उनका तीन छोरा रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन्। एक जना दुबई, अर्का मलेसिया र अर्का भारतमा छन्।

शुशिला र प्रेमको पछिल्लो समय भेटघाट बाक्लिएको थियो। प्रेम पटक पटक शुशिलाको घरमा आउने र शुशिला पनि प्रेमको घरमा गएको बस्ने गरेको खुलेको छ।

प्रेम शुशिलाकोमा आउने र बस्ने गरेको थाहा पाएपछि छिमेकीले शुशिलालाई यस बारेमा सोधेका थिए। तर उनले प्रेम आफ्नो भक्त भएको बताएकी थिइन्।

शुशिला माताका रुपमा पनि चिनिन्थिन्। प्रेम धर्मकर्ममा लगाव राख्ने व्यक्तिका रुपमा चिनिन्थे। तर गाउँलेहरूले नै शंका गर्न थालेपछि शुशिलाले अब आफूसँग विवाह गर्न दबाब दिएको प्रेमले प्रहरीलाई बताएका छन्।

उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान छ।

हत्याको दुई दिन अघि नै प्रेम शुशिलाको घरमा आएर बसेका थिए। साउन २१ गते राति उनीहरुसँगै बसे। २२ गते बिहान उठेर उनी रिम्ना बजार, चाइनाबगरतिर घुमफिर गरेर साँझ पुनः शुशिलाकै घरमा फर्किए।

त्यसरात शुशिलाले प्रेमसँगको सम्बन्धका बारेमा गाउँमा थाहा भएको बताउँदै बिहे गर्न भनिन्।

तर आफूले बिहे गर्न सक्ने अवस्था नभएकोले हत्या गरेको प्रेमले बताएका छन्। फरामको तावा, सिलौटोर लोराले हानेको र सलले घाँटी कसेर हत्या गरेको खुलेको छ। 

शुशिलाको शव आफ्नो घरको कोठामा फेला परेको थियो।

हत्यापछि शुशिलाको मोबाइल पनि प्रेमले लिएर गएका थिए। उक्त मोबाइल पनि बरामद भएको डीएसपी पोखरेलले बताए।

हत्यामा प्रयोग गरेका सामान रगत लागेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

घटनाको जानकारी पाए लगतै खटिएको प्रहरीले त्यसैदिन उनको संलग्नता रहेको पत्ता लगाएको र भोलिपल्ट पक्राउ गरिएको जनाएको छ।

प्रेमविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अगाडी बढाएको डीएसपी पोखरेलले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .