ad ad

समाज


रविविरुद्ध पूरक जाहेरी परेको ७ महिनापछि प्रहरीले अघि बढायो अनुसन्धान

सरकारी कार्यालयमै लगेर रवि, छवि, दीपेश र विपिनलाई गराइयो कागज
रविविरुद्ध पूरक जाहेरी परेको ७ महिनापछि प्रहरीले अघि बढायो अनुसन्धान

उजिर कार्की
भदौ १७, २०८१ सोमबार २१:३१, काठमाडौँ

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पूरक जाहेरी परेको ७ महिनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसअघि जो माथि अनुसन्धान हुनुपर्ने उनै रवि लामिछाने प्रहरीलाई आदेश दिने पदमा आसीन भएकाले अनुसन्धान रोकिएको थियो।

तर लामिछाने गृहमन्त्रीबाट हटेको एक साता नबित्दै जिल्ला प्रहरी कार्यालय कास्कीले फाइल खोलेको हो। असार २८ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि रवि लामिछाने गृहमन्त्रीबाट हटेका थिए। 

उनी गृहमन्त्रीबाट हट्नासाथ साउन २ गते नै जिल्ला प्रहरी कार्यालय कास्कीले पूरक जाहेरीमा अनुसन्धान अगाडि बढाएको खुलेको छ। गृहमन्त्री हुनासाथ रमेश लेखकले प्रहरी महानिरीक्षकलाई बोलाएर यस जाहेरीबारे चासो दिँदै अनुसन्धान गर्न भनेका थिए।

प्रहरी उच्च स्रोतले भन्यो, ‘पूरक जाहेरी परिसकेपछि अनुसन्धान नै नगरी निर्दोष भन्न हुँदैन, दोषी वा निर्दोष भन्ने अनुसन्धानले, अदालतले छुट्याउने कुरा हो तर पूरक निवेदनलाई कानुनअनुसार अगाडि बढाउनुपर्छ भन्ने गृहमन्त्रीको निर्देशन थियो। सोही अनुसार अहिले अगाडि बढेको हो।’ 

प्रहरीले केही दिनअघि मात्रै पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनासँग बयान कागज गराइसकेको छ। 

लामिछानेसहित रास्वपाका सहमहामन्त्री विपिन आचार्य, पूर्वडीआईजी समेत रहेका छविलाल जोशी बञ्जाडे र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग काठमाडौँ नै आएर बयान कागज गराइसकेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी गराएको छ। 

यस्तै टोलीले उनीहरूले सञ्चालन गरेका र पूरक जाहेरीमा प्रतिवादी बनाइएका संस्थाहरू गोर्खा मिडिया नेटवर्क, नेचर हब र नेचर नेस्टको कार्यालयमा खानतलासी गरेको छ। यी कार्यालयबाट केही कागजात बरामद गरेर कास्की लगिएको छ।

‘यी तीनवटा कम्पनीमा खानतलासी गर्दा उक्त जाहेरीमा प्रमाण लाग्ने कागजात हुनसक्छन् भन्ने हामीलाई सूचना आयो। त्यसपछि कास्कीबाट टोली आएर टोली करिब तीन दिन काठमाडौँ बस्यो। सबै प्रक्रिया पूरा गरेर फर्किइसकेको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। 

जिल्ला प्रहरी कार्यालय कास्कीले भने यी तीन वटा कम्पनीमा छापा हान्नका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई साउनमै पत्र पठाएको थियो। लामिछाने गृहमन्त्रीबाट हटेको एकसाता नबित्दै जिल्ला प्रहरी कार्यालय कास्कीले काठमाडौँ प्रहरीलाई पत्र पठाएको थियो। 

साउन २ गते नै कास्की प्रहरीले यी कम्पनीमा छापा हानेर कागजात नियन्त्रणमा लिएर पठाइदिन पत्राचार गरेको थियो। तर काठमाडौँ प्रहरीले कास्कीको पत्र अनुसार कुनै प्रक्रिया अगाडि नबढाएको र पछि कास्कीबाटै टोली आएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपालखबरलाई जानकारी दियो। 

पुरक जाहेरी परेपछि आफ्नो हिसाबले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ।
 
‘पूरक जाहेरी आइसकेपछि हामी अनुसन्धान नगरी चुप लागेर बसेको थिएनौँ। सरकारी वकिल कार्यालयले पुरक जाहेरीमा अनुसन्धान अगाडि बढाउन भनिसकेको थियो। पोखरा महानगरपालिकाको ३ हजार ४ सय पृष्ठको वित्तीय विश्लेषण पनि आयो। युवराज सफलको अर्को जाहेरी पनि पर्‍यो। यी विषयले पनि पूरक जाहेरी अगाडि बढाउने गरी नै प्रहरीले काम गरिरहेको थियो,’ प्रहरी उच्च स्रोतले भन्यो, ‘उनी गृहमन्त्रीबाट हटिसकेपछि अनुसन्धानले सहज ढंगबाट गति लिएको सत्य हो।’

पूर्वडीआईजी जोशीको शंखमूलस्थित घरमा रहेको नेचरनेस्ट कम्पनीमा खानतलासी गर्दा लेखापरीक्षण प्रतिवेदन फेला परेको छ। 

‘अरु दुई कार्यालयमा पनि केही कागजातहरू त भेटिएका छन्। तर ती प्रमाण लाग्ने हुन् कि होइनन् भन्ने हेर्न बाँकी नै छ। कास्कीको टोलीले यी सबै कागजातहरू हेर्दैछ। पूरक जाहेरीका अरु प्रतिवादी र कम्पनीहरूको बारेमा पनि अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो।

यसअघि पनि नेचर हबको कार्यालयमा जिल्ला प्रहरी परिसरको टोलीले छापा मारेर सहकारीको अभिलेख रहेका उपकरणहरू बरामद गरेको थियो। तिनै उपकरणबाट सूर्यदर्शनसहित जीबी राईका चारवटा सहकारीको विवरण खुलेको थियो। खानतलासी गरिसकेपछि एउटा सरकारी कार्यालयमै लगेर रवि लामिछाने, छविलाल जोशी, विपिन आचार्य र दीपेश पुनसँग बयान कागज गराएको स्रोतले जानकारी दियो।

यस्तै अरु आरोपितसँग पनि सोधपुछ र बयानको काम भइरहेको प्रहरी स्रोतको दाबी छ। 

‘पूरक जाहेरी कानुनी हिसाबले अगाडि बढिसकेको छ। फैसला नहुँदै हामीले पुरक जाहेरी लगिसक्ने हो। यो जान्छ नै, तर प्रतिवादी क–कसलाई बनाउने भन्ने अहिले नै टुंगो लागिसकेको छैन,’ एक प्रहरी अधिकारीले भने। 

संसदीय छानबिन समितिले पनि यो विषयमा छानबिन गरिरहेकाले प्रहरीले समितिको प्रतिवेदनपछि मात्रै पूरक जाहेरी दर्ता गर्ने तयारी गरेको छ। तर समितिको प्रतिवेदन जे आए पनि अनुसन्धान प्रतिवेदनलाई फरक नपर्ने प्रहरी अधिकारी बताउँछन्।

‘संसदीय समिति र हाम्रो भूमिका, अनुसन्धान नै फरक हो। तर समितिको प्रतिवेदन पहिल्यै आयो भने राम्रो हुन्थ्यो भन्ने मात्रै हो। त्यसको कानुनी आधारभन्दा पनि हाम्रो पनि केही काम बाँकी नै छ,’ प्रहरी अधिकारीले भने। 

गत माघ १६ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेसहित व्यक्ति र संस्था गरी १८ लाई विपक्षी बनाएर पूरक  जाहेरी परेको थियो। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले २०८० चैतमा पूरक जाहेरीमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो। 

तर त्यतिबेला गृहमन्त्री रवि लामिछाने नै थिए। आरोपित व्यक्ति नै गृहमन्त्री भएपछि प्रहरीले अनुसन्धान गर्नभन्दा पनि उनलाई उन्मुक्ति दिन त्यतिबेला जोड दिएको थियो। सरकारी वकिल कार्यालयको निर्देशनपछि पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको थिएन। आफूमाथि अनुससन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापालाई नै गृह मन्त्रालयमा लगेर रवि लामिछानेले सूर्यदर्शन सहकारीको बारेमा छलफल गरेका थिए। 

यस्तै, राज्य व्यवस्था समितिले पनि लामिछानेलाई बोलाएर यो विषयमा छलफल गरेको थियो। प्रहरी महानिरीक्षक वसन्त कुँवर र कास्कीका प्रहरी प्रमुख थापालाई नै लिएर लामिछाने समितिमा पुगेका थिए। 

लामिछानेले आफूमाथिको आरोप इन्कार गरे। प्रहरी प्रमुख कुँवरले पनि त्यतिबेला प्रहरीमा उनीविरुद्ध कुनै जाहेरी नै नपरेको जवाफ दिएका थिए। हालसम्मको अनुसन्धानबाट लामिछाने संलग्न भएको भन्ने प्रमाण समेत फेला नपरेको बताएका थिए। 

कास्की प्रहरी प्रमुखलाई पनि यस विषयमा समितिमै बोल्न लगाइएको थियो। तर समितिका सांसदहरूले कुरा बुझियो भन्दै एसपी थापाले बोल्न नपर्ने बताउँदै रोकेका थिए। 

त्यसअघि बुटवलको सुप्रिम सहकारीको अभियोग पत्रमा रवि लामिछानेले दुई करोड लिएको उल्लेख गरिएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदनमै विभिन्न ठाउँमा आफ्नो नाम उल्लेख भएको र विवादमा तान्ने गरी अनुसन्धान प्रतिवेदन तयार गरेको भन्दै लामिछानेले प्रहरी महानिरीक्षकसँग आक्रोश पोखेका थिए। प्रहरी महानिरीक्षक कुँवरले पनि आफ्नो मुद्दामा लामिछानेले आफैँ चासो दिइरहेकाले आफूले कुनै निर्देशन नदिएको जवाफ दिएका थिए। 

त्यसपछि लामिछानेले सूर्यदर्शनको अनुसन्धानमा के हुन्छ भनेर चासो देखाएका थिए। अनि कास्कीका प्रहरी प्रमुखलाई काठमाडौँ बोलाएर छलफल गरेका थिए। लामिछाने गृहमन्त्री हुँदा यी सहकारीको अनुसन्धान नै रोकिएको थियो। तर लामिछानेमाथि अनुसन्धान हुनुपर्छ भन्दै संससदमा चर्को आवाज उठाउने र संसदीय छानबिन समितिको माग गर्दै संसद नै अवरोध गरेका कांग्रेस नेता रमेश लेखक नै गृहमन्त्री बनेपछि उनले मुख्य चासो नै यो मुद्दामा दिएका हुन्। 

लेखक गृहमन्त्री भएको चौथो दिनमै गोर्खा मिडिया नेटवर्कसहित, नेचर हब र नेचर नेस्टको कार्यालयमा छापा मार्ने प्रयास भएको थियो। तर लामिछानेले काठमाडौँ प्रहरी प्रमुखमा सरुवा गरेर पठाएका एसएसपी वसन्त रजौरेले कास्की प्रहरीको पत्र अनुसार छापा हान्न मानेका थिएनन्। उनले नगरेपछि कास्कीबाट डीएसपीको नेतृत्वमा टोली नै आएर खानतलासी गरेको हो। 

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रूपैयाँ हिनामिना गरेको आरोप छ। 

सहकारी ऐन अनुसार उनीहरूलाई बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ। सूर्यदर्शनसहित यी कम्पनीका प्रमुख जीबी भन्ने गितेन्द्रबाबु राई भने मलेसिया भागेका छन्। 

उनलाई नेपाल फिर्ता ल्याउन सरकारले प्रयास गरेको भने पनि सकेको छैन। अन्य केही यसअघिकै अभियोग पत्रका प्रतिवादीहरू पनि फरार छन्। पक्राउ परेकाहरू भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .