ad ad

समाज


अदालतलाई आईजीपीको हास्यास्पद जवाफ : छुटेका विप्लव कार्यकर्ता फेरि पक्रेका होइनौं, सामान लिन आएका हुन्

अदालतलाई आईजीपीको हास्यास्पद जवाफ : छुटेका विप्लव कार्यकर्ता फेरि पक्रेका होइनौं, सामान लिन आएका हुन्

नेपालखबर
फागुन २८, २०७६ बुधबार ८:१९,

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अदालतको आदेश अवज्ञा गरेको मुद्दामा लिखित जवाफ दिएका छन्।

मंगलबार दिउँसो अदालतमा उपस्थित भएका महानिरीक्षक ज्ञवालीले अदालतको आदेशको अवज्ञा गर्ने कुरा कल्पना पनि गर्न नसकिने जवाफ दिएका हुन्।

विप्वल नेतृत्वको नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी (दैलेख), हरिचन्द्र खड्का (रामेछाप) र विष्णुप्रसाद अधिकारी (कास्की)का तर्फबाट भीमप्रसाद शर्माले प्रहरीले अदालतको आदेशको अवज्ञा गरेको भन्दै मुद्दा दायर गरेका थिए। शर्माले अदालतको आदेशबाट छुटेलगत्तै गिरफ्तार गरेर अदालतको अवहेलना गरेको भन्दै प्रहरी महानिरीक्षकसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

सोही रिटमा सुनुवाई गर्दै अदालतको अवहेलना मुद्दामा किन कारबाही नगर्नुपर्ने हो? भन्दै गत फागुन १६ गते महानिरीक्षकसहितलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। २२ गते म्याद बुझेका महानिरीक्षक ज्ञवालीले छाडिएका विप्लव कार्यकर्तालाई अदालतको गेटभित्रबाट नपक्रिएको जवाफ दिएका हुन्।

‘म र मेरो कार्यालयका तर्फबाट कुनै पनि आदेश दिएको छैन। पक्राउ परेकालाई छाडेपछि फेरि पक्राउ गर्नु भनि यस कार्यालयबाट कुनै पनि प्रहरीलाई खटाइएको छैन,’ उनको जवाफ छ, ‘कानुन कार्यान्वयनका लागि भएका कामकारबाहीमा अदालतको आदेशबमोजिम छुटेका व्यक्तिलाई पुनः कानुन विपरीतको कार्य गरेकोमा कानुनबमोजिम पक्राउ गरेको कार्यलाई सम्मानित अदालतको आदेशको पालना नभएको भनी व्याख्या गर्नु उपयुक्त हुँदैन।’ उनले स्थानीय प्रहरीले गर्ने काममा प्रधान कार्यालयको संलग्नता नहुने समेत प्रस्ट पारेका छन्।

अधिकारीलाई प्रहरीले २०७६ माघ २३ गते चन्दा असुली अन्तर्गतको कसुरमा पक्राउ गरी मुद्दा चलाएको थियो। अदालतको आदेशपछि उनी फागुन ५ गते रिहा भएका थिए। रिहा भएपछि पनि अधिकारी हिरासतमा आफ्नो सामान छुटेको भन्दै पनि प्रहरीसँगै आएको आईजीपीको जवाफमा उल्लेख छ।

‘मेरो सामान महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ भन्दै प्रहरीको गाडीमा आएका हुन्, हामीले पक्रिएका होइनौं’, ‘आईजीपी ज्ञवालीले भनेका छन्, ‘सामान बुझेर त्यही दिन आफ्नो गन्तव्यतिर लागेका हुन्। उनीहरुलाई अदालतबाट पुनः पक्राउ गरिएको होइन।’

आईजीपी ज्ञवालीले प्रहरीले नपक्रेको जवाफ दिए पनि रिहा भएकै राति सोह्रखुट्टेमा होहल्ला गरी असहज वातावरण सिर्जना गरेको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेकोले पक्राउ परेको प्रहरीको दाबी छ।

उनीहरुलाई अभद्र व्यवहारमा हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको जवाफ आईजीपीको छ। उनले कानुनविपरित काम कोही कसैबाट भएका रहेछन् भने सुधार्ने प्रतिवद्धता भने व्यक्त गरेका छन्।

उनले नेपाल प्रहरीको काम कारबाही तथा कार्य प्रकृति प्रस्तुत मुद्दामा आफ्नो पदीय जिम्मेवारीका कारण तारेखमा नराखी मुद्दाको सुनुवाई गर्नसमेत माग गरेका छन्।

गत वर्ष फागुन २८ गते सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि ३ हजार २ सय ९९ जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ परेका मध्ये २ हजार ७ सयबढी छुटिसकेका छन्। १ सय ४१ जनालाई कारागार चलान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .