धनुषाबाट अपहरणमा परेकी किशोरीलाई बाबुआमा नभएको मौका छोपेर गोठबाट विप्लव नेतृत्वको माओवादी लडाकुहरुले लगेको प्रहरीले जनाएको छ।
किशोरीका हजुरबाको मृत्यु भएकाले बुबा र आमा काजकिरियामा सहभागी हुन सिन्धुलीको दुधौली नगरपालिका ३ स्थित आफ्नो घर गएका थिए। उनीहरु तीनै जना धनुषा जिल्लामा पर्ने गोठमा बस्ने गर्थे।
बुधबार दिउँसो ३ बजे विप्लवका कार्यकर्ता त्यहाँ आइपुगेका थिए। उनीहरुले किशोरीलाई लिएर गएको वरिपरिका गोठका मानिसले पनि देखेका थिए।
किशोरीलाई लगिसकेपछि विप्लव समूहका लडाकुले उनको दाइलाई फोन गरेर बहिनी आफूहरुसँग भएको जानकारी गराएका थिए।
लगत्तै साँझ ५ बजे किशोरीका दाजुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले खबर पाउनासाथ उदयपुर, सिराहा र धनुषाबाट टोली परिचालन गरेको थियो। झण्डै २४ घण्टापछि उदयपुर र सिराहाको सिमानास्थित जंगलबाट किशोरीलाई सकुशल उद्धार गर्न सफल भएको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले जानकारी दिए।
उनीहरुले लडाकु बनाउनका लागि ती किशोरीलाई लगेको बुझिएको कार्कीले बताए।
सो जंगलमा विप्लव समूहको तालिम केन्द्र हुन सक्ने प्रहरीको अनुमान छ।
अपहरित किशोरीको परिवार धनुषाको गौरीखोला नजिकै बसेर खेती किसानी गर्छ।
प्रहरीले हतियारसहित १४ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ११ थान सकेट बम, एक थान प्रेसर कुकर बम र तीनवटा चाइनिज पेस्तोल बरामद गरिएको छ।
प्रतिक्रिया