ad ad

समाज


जब बुबा नै काल बनेर आए, अनि सुवर्णले मुछेको पिठो त्यसै रह्यो...

जब बुबा नै काल बनेर आए, अनि सुवर्णले मुछेको पिठो त्यसै रह्यो...

गोकुल जोशी
फागुन २९, २०७६ बिहिबार १३:४४,

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ को वडा कार्यालयबाट करिब दुई किलोमिटर दक्षिणपूर्वतर्फ हिँडेपछि पुगिन्छ, उल्टाखामको स्थानीय ‘६ नम्बर चौराह’।

६ नम्बर चौराह नजिकै छ, डम्मर चन्दको घर। त्यो घर कालोपत्रे सडक भन्दा सय मिटर भित्र पर्छ। टायलले छाएको डम्मरको दुई तले घरमा उनकी श्रीमती र दुई साना–साना छोराछोरी बस्थे। तर अहिले भने त्यस परिवारको एक सदस्य कहिल्यै नआउने गरी अलप भएका छन्। चन्द परिवारको एक मात्र वारेस १५ वर्षीय सुवर्ण चन्दले बुधवार बेलुका यो संसार त्यागे। कारण उनकै बुवा थिए।

बुधवार बेलुका डम्मरले आफ्नै १५ वर्षीय छोरा सुवर्णको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। ग्रामीण परिवेश जहाँ मेलापात, वस्तुभाउमा नै रमाएका हुन्छन्, मानिस। सबै जना मिलेर घरको दैनिकीमा सघाउने, गाईगोरु पाल्ने तथा मेलापातमा नै व्यस्त हुन्छन्, त्यहाँका बासिन्दा। चन्द परिवारको पनि दैनिकी यस्तै थियो। केही वस्तुभाउ पालेका थिए। तिनकै स्याहार सुसार र घरको अन्य काममै दिन जान्थ्यो, सुवर्णको पनि।

बुधवार बेलुका घरमा सुर्वण र उनकी बहिनी दिया मात्रै थिइन्। उनकी आमा राधादेवी चन्द वस्तुभाउलाई घाँसपात हाल्दै थिइन्, गोठमा। सुवर्ण परिवारमा जेठोबाठो हुनाले आफ्नो आमालाई काममा सघाउथे।

बुधवार बेलुकी ६ बजेतिर सुवर्ण भान्सामा बेलुकीको खानाका लागि पिठो मुछ्दै थिए। त्यही बेला सुवर्णका बुवा डम्मर नजिक आए र कैँचीे घाँटीमा घोचे। मदिराले मात्तिएका डम्मरले सुवर्णको घाँटीमा धारिलो कैँचीले घोची घोची बालकलाई गम्भीर घाइते बनाइदिए।

11-29-1_-_Copy.jpg

‘सुवर्ण पिठो मुछ्दै थिए त्यसै बेला दारु खाएर मातिएका डम्मरले सुवर्णको घाँटीमा कैँचीले घोचे’ मृतकका दाई नाता पर्ने गणेश चन्दले नेपालखबरसँग भने, ‘दारुको मातमा सुवर्णलाई मारे, सधैँ मदिरा खाएर घरमा झैझगडा गर्ने गरेका थिए।’

घाँटीमा धारिलो वस्तुको गम्भीर चोट लागे पछि सुवर्ण जीवन मरणको दोसाँधमा थिए। बाच्नका लागि रगत बगिरहेको कैँची घोचेको ठाउँ हातले बन्द गरेर आफ्नो घर भन्दा सय मिटर टाढा रहेको ठुलीआमा (भागा चन्द) को घरमा पुगे। उनको शरीरबाट धेरै रगत बगिरहेको थियो।

‘घाँटी च्यापेर यहाँ आएको थियो, आमासँग मलाई बचाउनु भन्यो, आमाले के भयो भनी हेर्दा घाँटीबाट अत्याधिक मात्रामा रगत बगिरहेको थियो’ बुधवारको घटना सम्झँदै गणेशले भने, ‘त्यस पछि रुमालले रगत बन्द गरेर अस्पताल ल्यायौँ।’ जीवनका लागि संघर्ष गरिरहेका सुवर्णले अस्पताल पुर्‍याउनु अघि नै प्राण छोडि सकेका थिए। केही बेर पछि अस्पतालले सुवर्णको मृत्यु भएको पुष्टि गर्‍यो।

पुरै परिवारलाई बेलुकाको खानाको खुवाउने तयारीमा रहेका सुवर्णले त्यो पुरा गर्न सकेनन्। आफ्नै बुवा काल बनेर आए पछि बेलुकीको खानाका लागि तयार पार्दै गरेको पिठो जस्ताको त्यस्तै रह्यो। सुवर्णले मुछेको पिठोबाट न आमा, बहिनीलाई खाना खुवाउन सके नत आफूले नै खान सके। आफ्नै बुवा त्यसमा तगारो मात्रै बनेनन् कालै नै बनेर आए। सुवर्णले मुछ्दै गरेको पिठो अहिले पनि भान्सामा जहाँको त्यहीँ छ।

घटना पछि फरार भएका डम्मरलाई प्रहरीले घर नजिकैबाट नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको कैँची बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलले जानकारी दिएका छन्।

मदिराले निम्त्याएको घटना
यो घटना मदिरा सेवनले निम्त्याएको देखिन्छ। सुवर्णकी आमा राधालाई उनका श्रीमान् डम्मरले कमै साथ दिन्थे। दिनभरी मदिरा सेवन गर्ने गर्दथे, डम्मर। कुनै व्यवसाय वा पेशा नै नगर्ने उनले सम्पत्तिको नाममा भएको जमीन समेत बिक्री गर्दै मदिरा सेवन गर्र्थे। सम्पत्तिका नाममा रहेको डेढ बिगाह जमीन बिक्री गरेर अहिले मात्रै ५ कट्टा जमीन बाँकी रहेको छ। चन्द परिवारमा निम्तिएको घटना मदिरा सेवन कै उपज हो। ‘मदिरा सेवन गरेर सधैँ झगडा गर्ने गर्थ्यो। दिनभरी दारु खाने, गाउँभरी डुल्ने, साँझ आएर घरमा झगडा गर्थ्यो’ मृतक सुवर्णकी आमा राधाले भनिन्।

89706592_501515560533009_6845496262809092096_n.jpg

आफूलाई काममा सघाउने छोराको दर्दनाक हत्यापछि राधा विक्षिप्त बनेकी छन्। ‘मेरा लागि बोर्डिङ्ग स्कुलमा पढ्ने पैसा नभए पनि म सरकारी स्कुल पढुला बहिनीलाई बोर्डिङ्ग स्कुल नै पढाउनु भन्थ्यो। कतैबाट केही पाए पनि बहिनीलाई दिन्थ्यो’ सुवर्णलाई सम्झँदै उनले भनिन्, ‘खाना बनाउनेलगायत काममा सघाउँथ्यो।’

यस्तो घटना अरु कसैको घरमा नघटोस् भन्ने कामना समेत उनले गरेकी छन्।

परीक्षाको तयारीमा थिए सुवर्ण
भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित मोर्डन मन्टेश्वरी बाल विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए, सुवर्ण। उनको परीक्षा नजिकै थियो। चैत्र २ गतेदेखि हुने परीक्षाको तयारीमा थिए, सुवर्ण। तर परीक्षा दिन पाएनन्। नर्सरी देखि नै मोर्डन मन्टेश्वरी बाल विद्यालयमा नै सुवर्णले अध्ययन गरे। उनी पढाइमा निकै मिहेनती थिए। त्यसैले गर्दा कक्षाका अब्बल विद्यार्थीको सूचिमा उनको नाम पनि अटाउँथ्यो।

‘सुवर्ण एकदमै मिहेनती, लगनशील विद्यार्थी हो, उ कक्षामा उत्कृष्ट १० विद्यार्थीभित्र पर्थ्यो’ विद्यालयका प्रधानाध्यापक प्रेम सिंह पुजाराले भने, ‘उनको त्यो दुःखद खबरले हामी मर्माहित भएका छौँ।’

वडा कार्यालय घेराउ
मदिराले गर्दा घटना घटेको भन्दै आक्रोशित भएका स्थानीयले बिहीवार भीमदत्त नगरपालिका–२ को वडा कार्यालय घेराउ गरेका छन्। आफ्नो क्षेत्रमा घटना घटेको बेला पनि स्थानीय जनप्रतिनिधि घटनास्थलमा नपुगेको, मदिरा बिक्री वितरण बन्दका लागि बारम्बार ताकेता गर्दा पनि स्थानीय जनप्रतिनिधिले तदारुकता नदेखाउँदा घटनाको सृजना भएको भन्दै आक्रोशित स्थानीय सर्वसाधारणले वडा कार्यालय घेराउ गरेका थिए।

wada.jpg

वडाक्षेत्रमा मदिरा बिक्री वितरण गर्न बन्द गर्न पटक–पटक अनुरोध गर्दा पनि बन्द नगरेको हुँदा घटना घटेकोले वडा कार्यालय घेराउ गरिएको स्थानीय आनन्दी भट्टले बताइन्। ‘वडाध्यक्षलाई हामीले पटक–पटक २ नम्बर वडामा मदिरा खरिदबिक्री गर्न बन्द गराउन अनुरोध गर्दा पनि वास्ता नगर्दा आज यो घटना घटेको हो’ उनले भनिन्, ‘अझै पनि मदिरा बन्द गरिएन भने यस्ता घटना धेरै हुन सक्छन्।’

घटना पछि भीमदत्त नगरपालिका–२ लाई मदिरा निषेधित क्षेत्र घोषणाको माग समेत स्थानीयले गरेका छन्। उता भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्मर कार्की (डिके)ले आफू घटना भएको दिन टाढा रहेकाले घटनास्थल पुग्न नसकेको बताए। यद्यपी घर परिवार लगायत प्रशासनिक निकायका प्रमुखसँग सधँै सम्पर्कमा नै रहेको उनको दाबी छ। मदिरा बिक्री वितरणलाई व्यवस्थित बनाउने सवालमा वडाको तर्फबाट चाल्न सकिने कदम चाल्न आफु तयार रहेको उनको भनाइ छ।

परिवारले शव बुझेन
सुवर्णको शव परिवारले अझै बुझेका छैनन्। दोषीमाथि कारबाहीको माग गर्दै परिवारले शव बुझ्न अस्वीकार गरेका हुन्। अहिले शव महाकाली अस्पतालमा राखिएको छ।

स्थानीय जनप्रतिनिधि र प्रशासनलाई बारम्बार मदिरा बन्द गर्न माग गर्दा पनि कुनै तदारुकता नदेखाएकाले सोही कारण घटना बढ्दै गएको भन्दै यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्नेमा स्थानीय सर्वसाधारणहरुले जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .