ad ad

समाज


कारागारभित्रै ‘आइसोलेसन वार्ड’ बनाइँदै, कोरोनाको उच्च जोखिममा कैदीबन्दी

कारागारभित्रै ‘आइसोलेसन वार्ड’ बनाइँदै, कोरोनाको उच्च जोखिममा कैदीबन्दी

उजिर कार्की
चैत ३, २०७६ सोमबार १४:१९,

नेपालमा कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा देखिएका छन्। कैदीबन्दीको खचाखच बसाइ र दैनिक भेटघाटमा आउने आफन्तका कारण जोखिम बढ्दै गएको कारागार प्रशासनले जनाएको छ।

बाहिरबाट दैनिक कैदी थपिइरहने भएकाले पनि जोखिम बढेको केन्द्रीय कारागार सुन्धारास्थित अस्पतालका मेडिकल इन्चार्ज डा. भगतलाल श्रेष्ठले बताए।

७२ जिल्लाका ७४ कारागार मध्ये दुई वटा खाली छन्। ७२ कारागारमा २५ हजारभन्दा बढी कैदीबन्दी रहेको र यो संख्या थपिँदै गएको कारागार व्यवस्थापन विभागले जनाएको छ।

केन्द्रीय कारागार सुन्धारामा कैदी भेट्न दैनिक ५ सय जति आफन्त आउने गरेका छन्।

कोरोना संक्रमण फैलिने खतरापछि कारागारमा कैदीबन्दी भेट्न कडाइ गरिएको छ। तर, कैदी भेट्न आउनेको भीडभाड नघटेको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले बताए।

विभागले देशभरका कारागारलाई सतर्कता अपनाउन परिपत्र गरिसकेको छ। विभागको परिपत्रपछि केन्द्रीय कारागार सुन्धारामा कैदी भेट्न आउनेलाई मास्क अनिवार्य लगाउन र ज्वरो परीक्षणपछि मात्रै भित्र जान दिने गरिएको छ।

यस्तै पहिले दुई जनाका दरले हप्तामा दुई पटक भेट्न दिने गरिएकोमा अहिले एक जनालाई हप्तामा एक पटक मात्रै दिने गरिएको छ।

तर कडाइ हुने हल्ला चलेपछि कैदीबन्दी भेट्न आउने आफन्तको भीड झनै बढेको कारागारले जनाएको छ।

central-jail1.jpg

केन्द्रीय कारागारले सर्जिकल मास्क नपाएपछि कैदीबन्दीलाई कपडाका मास्क बाँडेको छ। कारागारमा बाहिरबाट लगिने खाने कुरामा पनि कडाइ गर्न थालिएको कारागार व्यवस्थापन विभागका निमित्त प्रमुख देवेन्द्र लामिछानेले बताए। यस्तै विभागले कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई विदा नदिने निर्णय समेत गरेको छ।

एउटै कोठामा ३ सय कैदी
केन्द्रीय कारागारको क्षमता १ हजार १ सय कैदीको मात्रै हो। तर, यहाँ केन्द्रीय कारागारमा ३ हजार २ सय ५० जना कैदीबन्दी छन्। क्षमताभन्दा तीन गुना कैदी भएपछि एउटै कोठामा तीन सयसम्म कैदी राखिएको छ।

‘कम्तीमा एक सयदेखि तीनसयसम्म कैदीलाई एउटा कोठामा राखिएको छ,’ जेलर बास्कोटाले भने, ‘हामीले भित्रिन नदिन होसियारी अपनाउने मात्रै हो। तर, जेलभित्र कोरोना छिर्‍यो भने संक्रमण नियन्त्रण गर्न सम्भव छैन।’

कारागारमा लहरै टाँसेर ६/३ का बेड राखिएका छन्। तिनमा खचाखच कैदी छन्।

केन्द्रीय कारागारस्थित अस्पतालले हाल तीन वटा ब्लकका बिरामीलाई छुट्टाछुट्टै समयमा चेकजाँच गर्न थालेको छ। महिला, भद्र र केन्द्रीय ब्लकका कैदीबन्दीलाई छुट्टाछुट्टै समयमा अस्पतालमा ल्याउने गरिएको डा. श्रेष्ठले बताए।

‘एउटा ब्लकका कैदीमा कोरोना संक्रमण भएपनि अरुमा नसरोस् भनेर यस्तो गरेका हौं,’ डा. श्रेष्ठले भने, ‘भित्र जति सचेतना अपनाए पनि बाहिरबाट नयाँ कैदीबन्दी आइरहेकाले जोखिम बढी छ। तत्कालका लागि बाहिरबाट कैदीबन्दी ल्याउन रोक्ने हो भने जोखिम कम हुन्छ।’

यहाँ आउने कैदीबन्दीलाई अस्पतालमा चेकजाँच गरेर ल्याउने भए पनि कोरोना संक्रमण हुनासाथ लक्षण नदेखिने भएकाले कोरोना संक्रमित कारागारभित्र छैनन् भन्ने अवस्था नरहेको डा. श्रेष्ठले बताए।

यता नक्खु कारागारमा पनि कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि सचेतना बढाइएको जेलर मोहन अधिकारीले बताए। कारागारमा आफन्त र कानुन व्यवसायीलाई मात्रै कैदी भेट्न दिइएको छ। उनीहरुलाई पनि ज्वरो परीक्षण, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।

central-jail6.jpg

जेलभित्रै ‘आइसोलेसन वार्ड’
गृह मन्त्रालयले कारागारमा कोरोना फैलिए के गर्ने भनेर अध्ययन गर्न कारागार व्यवस्थापन विभागलाई निर्देशन दिएको छ। यस विषयमा केही दिनदेखि छलफल चलिरहेको र आवश्यक अध्ययन भइरहेको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

कारागार व्यवस्थापन विभागका निमित्त प्रमुख लामिछानेले कैदीलाई संक्रमणको आशंका लागेमा तत्काल आइसोलेसनमा राख्न अध्ययन भइरहेको जनाए।

‘अहिले तत्काललाई केन्द्रीय कारागार सुन्धारा र ललितपुरस्थित नक्खु कारागारमा राख्न सकिन्छ कि भन्ने छ,’ लामिछानेले भने, ‘अवस्था जटिल भए बाहिर पनि राख्न सकिने गरी अध्ययन गरिरहेका छौं।’

केन्द्रीय कारागारमा ३० शय्याको अस्पताल छ। केन्द्रीय कारागारको अस्पतालमा तत्काल चार जनासम्मलाई आइसोलेसनमा राख्न सकिने डा. श्रेष्ठले बताए। यहाँ बिरामीको चाप समेत धेरै छ। दैनिक ८० देखि १ सय ५० जना बिरामी चेकजाँचमा आउने गरेको अस्पतालले जनाएको छ। तर, १५ बेडको महिला वार्डमा भने बिरामीको चाप कम हुने गरेको डा. श्रेष्ठले बताए।

नक्खुमा १५ शय्याको अस्पताल बने पनि सञ्चालनमा आएको छैन। यहाँ आपत परे थप बेड राख्न सकिने जेलर अधिकारीले बताए। कैदीबन्दीका लागि सबैभन्दा उत्तम विकल्प यही अस्पताललाई हेरिएको छ।

central-jail4.jpg

कस्तो छ अन्तर्राष्ट्रिय अभ्यास?
पूर्वी चीनको शाङ्दोङ प्रान्तस्थित रेन्चेङ कारागारमा सातजना सुरक्षागार्ड र २ सय कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो। संक्रमितलाई बाहिर लगेर उपचार गरिएको थियो। झेजियाङको सिलिफेन जेलमा पनि ३४ जनामा सो भाइरसको सङ्क्रमण देखिएको थियो। मध्य प्रान्त हुबेईको वुहानस्थित एक कारागारमा २ सय ७१ कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो।

वुहानको महिला बन्दीगृहमा कैदीमा कोरोना देखिएपछि उनीहरुलाई बाहिर लगेर उपचार गरिरहेको थियो।

इरानले कारागारमा कोरोनाको उच्च जोखिम भएको भन्दै ७० हजार कैदीलाई छाडिसकेको छ। उनीहरुलाई अस्थायी रुपमा छाडिएको हो। बेलायतमा पनि यही उपाय अपनाउनु पर्ने आवाज उठेको छ। त्यहाँका कारागारमा कार्यरत कर्मचारीले कैदीलाई छाड्ने विकल्प अगाडि सारेका हुन्।

भारतमा अदालतले कैदीलाई आफन्तसँग भेटघाटमा प्रतिबन्ध लगाएको छ। अमेरिकाका १ सय २२ संघीय र १ हजार ७ सय राज्यस्तरीय कारागारमा पनि कैदी भेट्न प्रतिबन्ध लगाइएको छ।

कोरोनाकै कारण आफूहरुलाई मुक्त गर्न माग गर्दै इटलीमा कैदीले आन्दोलन गर्दा ६ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .