आज (आइतबार) देखि प्रदेश २ को जनकपुर र वीरगञ्जमा पनि कोरोना संक्रमितको उपचार सुरु हुने भएको छ।
प्रादेशिक अस्पताल जनकपुर र नेशनल मेडिकल कलेज वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ।
कोरोना संक्रमितको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा १० वेड छुट्याइएको अस्पतालका प्रमुख डा.नागेन्द्र यादवले जानकारी दिए।
‘कोरोना उपचारको लागि हाललाई १० वटा बेड छुट्याएका छौँ,’ उनले भने, ‘बाँकी व्यवस्थापनको काम भइरहेको छ। उपकरणहरु आउन बाँकी नै छ।’
कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई मात्र उपचारको लागि वार्डमा राखिने उनले बताए।
‘यहाँ कोरोना चेकजाँचको ल्याव छैन। शंकास्पद बिरामीको स्वाँव लिएर परीक्षण गर्न काठमाडौं नै पठाउनु पर्छ,’ उनले भने।
कोरोनाका बिरामीको उपचार सुरु गरे पनि अस्पतालमा अकास्मिक, प्रसुति, ज्वरो, डायलाइसिस लगायतका अतिआवश्यक सेवा सुचारु नै रहने उनले बताए।
यसअघि कोरोनाको उपचार जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा हुने निर्णय प्रदेश २ सरकारले गरेको थियो।
तर, शिक्षण अस्पतालको व्यवस्थापन पक्ष प्रतिवद्धताबाट पछि हटेपछि जनकपुर प्रादेशिक अस्पतालमा नै उपचार गर्ने व्यवस्था मिलाइएको हो।
प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहको संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण कमिटीले शनिबार जनकपुरमै कोरोना संक्रमितको उपचार गर्ने निर्णय गरेको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए।
प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरको अलावा पर्साको विरगञ्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा पनि कोरोना उपचारको व्यवस्था मिलाइएको छ।
‘नेशनल मेडिकल कलेजमा ५० वटा आइसोलेशन बेड तयार गरिएको छ। कोरोनाका शंकास्पद बिरामी अथवा पुष्टि भएका बिरामीलाई वीरगञ्ज र प्रादेशिक अस्पताल जनकपुरमै आइतबारदेखि उपचार गर्ने व्यवस्था मिलाएका छौँ,’ बरिष्ठ अधिकृत झाले भने।
उनले कोरोना उपचारको लागि चाहिने उपकरण ल्याउने र व्यवस्थापन गर्ने काम भने भइरहेको बताए।
प्रतिक्रिया