ad ad

समाज


नेपालमा कोरोना अपडेट: ११३३ परीक्षण, ९९ जना आइसोलेसनमा

नेपालमा कोरोना अपडेट: ११३३ परीक्षण, ९९ जना आइसोलेसनमा

नेपालखबर
चैत १९, २०७६ बुधबार ११:३८,

नेपालमा कोरोना भाइरसको परीक्षण गराउनेको संख्या बुधबारसम्म ११ सय ३३ पुगेको छ भने देशभर यसको शंका गरिएका ९९ बिरामी आइसोलेसनमा उपचार गराइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ सम्बन्धी अपडेटका लागि दैनिक गर्ने लाइभ कार्यक्रमअन्तर्गत बुधबार दिउँसो प्रवक्ता डा. विकास देवकोटाले आज नयाँ ७३ बिरामीको नमुना परीक्षणको नतिजा आएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना परीक्षण गराउनेको संख्या १ हजार १ सय ३३ पुगेको हो। तर लाइभ कार्यक्रममा प्रवक्ता देवकोटाले परीक्षण संख्या बताए पनि आजको रिपोर्टमा कति नेगेटिभ कति पोजेटिभ भन्ने जानकारी दिएनन्।

यसै सन्दर्भमा नेपालखबरले फोनमार्फत रोखेको जिज्ञासमा प्रवक्ता देवकोटाले आजका रिपोर्टमा कुनै पोजेटिभ केस अर्थात् कोरोना भाइरस देखिएको नतिजा नरहेको जानकारी दिए।

यस हिसाबले नेपालमा अहिलेसम्म  कोरोना संक्रमित ५ मात्रै छन्। तीमध्ये एक जना निको भइसकेका छन् भने ४ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ। कोरोना शंकामा नमुना जाँच गरिएकामध्ये ११ सय २८ जनाको नतिजा नेगेटिभ आएको उनले जानकारी दिए।

तर स्वास्थ्य मन्त्रालयको वेबसाइटले भने प्रवक्ताले दिएको जानकारीको सही अभिलेख गर्न सकेको छैन। उसले परीक्षण संख्या ११३१ मात्रै रेकर्ड गरेको छ। जबकि प्रवक्ताको लाइभ अहिले पनि सुन्ने हो भने प्रस्टसँग ११३३ बताएका छन्।

 यसैगरी प्रवक्ता देवकोटाले देशभरिमा कोरोना भाइरसका लक्षण देखिएका ९९ बिरामी विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको जानकारी दिए।

कोरोना भाइरसको संक्रमण हुँदा देखिने लक्षणका बिरामीलाई उपचारका लागि अस्पतालमा व्यवस्था गरिएको अलग्गै वार्ड (कक्ष) लाई आइसोलेसन भनिन्छ।

काठमाडौंबाहिर कहाँ कति कोरोना परीक्षण हुँदै छ?
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बुधबार पोखरामा पनि कोरोना परीक्षण सुरु भएको छ। त्यहाँ अहिले ४ नमुना परीक्षण क्रममा रहेको उनले जानकारी दिए।

यसैगरी चार/पाँच दिनदेखि नै कोरोना प्रयोगशाला सञ्चालन गरिएको धरानमा १२ नमुना परीक्षण भइरहेको छ।

हेटौंडामा पनि प्रयोगशालाका उपकरण तथा जनशक्ति व्यवस्था भइसकेकाले अहिले साँझ नै कोरोना परीक्षण थालिने प्रवक्ता देवकोटाले जानकारी दिए।

यसैगरी सुर्खेत, धनगढी, बुटवल, जनकपुरमा पनि आजै वा भोलि बिहीबार कोरोना परीक्षण सुरु गरिने उनले लाइभ कार्यक्रममा बताए।

एप्समार्फत सम्पर्कमा आए कोरोनाका शंकास्पद १२ बिरामी
कोरोना भाइरस संक्रमितको पहिचान तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले फोन तथा एप्स सेवा सञ्चालन गरिरहेको छ।

एप्सअन्तर्गत अहिलेसम्म २ हजार ३ सय जनाले जिज्ञासा राखिसकेको प्रवक्ता देवकोटाले जानकारी दिए। तीमध्ये १२ जनाले आफूलाई ज्वरो र खोकी लागेको बताएकाले उनीहरू पनि सम्भावित संक्रमितको सूचीमा राखिएको र नमुना परीक्षण गर्ने तयारीमा सरकार रहेको उनले बताए।

‘ती १२ जनाको हामीसँग सम्पर्क नम्बर छ,’ कोभिड-१९ अपडेट लाइभ कार्यक्रममा बुधबार दिउँसो बोल्दै प्रवक्ता देवकोटाले भने, ‘अब हामी उनीहरूको चाँडै नमुना संकलन गरी परीक्षण गर्ने तयारीमा छौं।’

कोरोना संक्रमितका सम्पर्कमा रहेका, विदेशबाट आएका जति पनि कोरोना भाइरस संक्रमण आशंका गरिएका व्यक्ति छन्, ती सबैलाई सरकारले कडाइसाथ खोजी गरी पहिचान गर्ने र तिनको नमुना परीक्षण गरी संक्रमित हो होइन पहिचान गर्ने काम गरिरहेको प्रवक्ता देवकोटाको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .