ad ad

समाज


...जसलाई आफ्नै घरका ढोकाभित्र छिर्न बन्देज छ

...जसलाई आफ्नै घरका ढोकाभित्र छिर्न बन्देज छ

वाशुदेव मिश्र
चैत २८, २०७६ शुक्रबार १२:३४,

पोखरा–१७,सीतापाइलास्थित पोखरा वृद्धाश्रममा पुग्दा मुलढोका बन्द थियो। ढक्ढक्याएपछि मात्रै ढोका खुल्यो। भित्र छिर्दै गर्दा त्यहाँ रहेका वृद्धवृद्धाहरु चलमलाए। आशयुक्त नजर बिच्छ्याए र हात जोडे।

५६ जना वृद्धवृद्धाको घर हो, याे वृद्धाश्रम। आफ्नो घरको ढोका उहिल्यै बन्द भएपछि जीवनको उत्तराद्र्धमा उनीहरु त्यहाँ आएका हुन्। कतिलाई आफ्नो घर कहाँ हो नै थाहा छैन, केहीलाई भने घरको ढोका बन्द भएको स्मृतिमात्रै छ। ‘बाउन्न हण्डर, त्रिपन्न ठक्कर’ खाएकाहरुमध्ये केहीले कोरोनाको कुरा बुझेका छन्, लकडाउनका कुरा सुनेका छन्। तर, जीवन नै लकडाउन भएकाहरुलाई यो लकडाउनले के फरक पाथ्र्यो र? दिन उस्तै छन्, वृद्धाश्रमको गेट मात्रै बन्द छ। व्यवस्थापनलाई चाहिँ आक्कलझुक्कल झुल्किने दाताहरु नआउँदा अब के होला? भन्ने चिन्ता छ।

साकिमान घिसिङलाई आफू सर्लाहीमा जन्मेको थाहा छ । २००० सालमा जन्मेका उनका कुनै बेला आमाबाबु, दाइभाइ सबै थिए। बिहे पनि गरेकै हुन्। तर, एकपछि अर्को गर्दै सबै बिते। उनी एक्ला भए। पाखुरी बजारेर खाने उनी एकाएक असक्त बने। पाखुरी बजार्न नसकेपछि मुखमा माड लाग्ने कुरै भएन। भौँतारिँदै गर्दा पोखरा महानगरपालिका–८ का तत्कालीन वडासचिव लोकदर्शन रेग्मीसँग ठोक्किन पुगे। उनको लागि वृद्धाश्रमको ढोका खुल्यो।

https://nepalkhabar.com/https://www.photojoiner.net/image/hPcEGJ88

‘अहिले के को इच्छा हुनु, धन कमाउनु छैन’,उनले भने, ‘अब एकदिन मर्ने त हो।’

कास्की लाहाचोककी महाकाली अधिकारीलाई आफू कति वर्षकी भएँ भन्ने नै थाहा छैन। सानैमा बाबुआमाले कास्कीकै हेम्जातिर बिहे गरिदिए। महाकालीले कान नसुन्ने, कान नसुनेकै कारण घरमा हेला गरियो।लोग्नेले छाडे। माइतीले पनि हेरेनन्। उनी बेसहारा भइन्। सासूहरुले नै उनलाई वृद्धाश्रममा ल्याएर छाडे। जीवनले लय त समात्यो तर तल्तिर बगेको सेतीको आवाज उनको कानसम्म अहँ, आउँदै आएन। कोरोनाको कुरा त उनले झन के सुन्ने?

घाचोकका नन्दलाल ढकाल १०२ वर्षका भए। गरिबीले उनलाई अर्काको घरमा गोठालो बस्न बाध्य बनायो। गाउँकै मान्छे कहाँ उनले जीवनभर घाँस, दाउरा गरे। मालिकले बिहे गर्दिने आवश्वासन पनि दिए रे १ तर, त्यो दिन कहिल्यै आएन। जीवनभर कुमारै रहेका उनले ५० वर्ष मालिकको सेवा गरे। मालिक बितेपछि ओत लाग्ने घर पनि रहेन। हात पाखुरा चल्न छाडेपछि मालिकका छोराले नै उनलाई वृद्धाश्रमको ढोकाभित्र हुलिदिए।

पोखराको ड्यामसाइडमा जन्मेकी बाटुली बरालको पोखरा–२२, पुम्दीतिर लगनगाँठो कसियो। तर,घरबार जमेन। ‘आफ्नो भाग्यले होला, आफैँ नबसेपछि कसलाई दोष दिने’, उनले अतित सम्झँदै भनिन्, ‘पछि मुद्धा मामिला गरेर अलिकति अंश पनि लिइयो, त्यसै दिनुभएन (श्रीमानले) काठमाडौँ नै पु¥याउनुभयो।’

उनले माइतीलाई नै घर ठानिन्। आमा भइञ्जले त ठीकै थियो। ११ वर्षअघि आमा खसेपछि उनलाई माइती घर नै बिरानो लाग्यो। ‘बाउआमाको सास भइञ्जेल माइतीघर छ, जब छैनन्, माइतीघर छैन भन्ने सोचेर म आफै यहाँ आएँ’, उनले भनिन्, ‘कहिलेकाहिँ भदा–भदिनी भेट्न आउँछन्।’आफैँले हुर्काएका भदा–भदिनीहरु पनि आफ्नोजस्तो नभएजस्तो लाग्छ रे उनलाई।

वृद्धाश्रमको वरपर सानोमा बयँर टिपेको स्मृति साँचेकी उनलाई भाग्यले त्यहीँको रैथाने बनाएको छ। भगवानसँग पनि उनी रिसाएकी छन्।
‘भगवान भएको भए, यस्तो हुन्थ्यो होला र?’, उनले प्रश्न गरिन्, ‘इच्छा पनि केही छैन, हिँड्दाहिँड्दै पुक्लुक्क मरौँ भन्ने हो।’

कास्की मट्टिखानकी देवकी पौडेलको पनि व्यथा उस्तै छ। श्रीमान् खसेपछि उनी एक्ली भइन्। जेनतेन गाउँमा बस्दै आएकी उनलाई बुढेसकालले च्यापेपछि त झन् एक्लिइन्। स्याङ्जा नौडाँडा माइती भए पनि माइतीको ढोका उनको लागि खुलेन।

‘माइतीमा सबै छन्, एकदुई दिनको मायाले हु्ँदैन’, उनले भनिन्, ‘भाइ आफ्नो भए बुहारी हुन्नन्, दाइ आफ्नो भए, भाउजू हुन्नन्, अनि म कसैलाई नसोधी यहाँ आएँ।’

लमजुङ राइनासका हरिबहादुर थापाले आफू वृद्धाश्रममा आउनुपर्ला भन्ने सायदै सोचेका थिए। भारतमा नोकरी गर्थे। घरपरिवार चलकै थियो। दुई छोरा, एउटी छोरी र श्रीमतीका धनी उनलाई प्रेसरले हान्यो। उमेरकै श्रीमतीले हेला गर्न थालिन्। उनी रन्थनिए। घर छाडेर हिँडे। संयोगले पोखराकै एक वृद्धाश्रमा आश्रय पाए। तर, भाग्यले त्यहाँ पनि ठग्यो। वृद्धाश्रम नै बन्द भयो। ‘पछि सीडीयोको सिफारिसमा यहाँ आएँ’, इष्टकोटको खल्तीमा दुईवटा पाइलट पेन सिउरिएका उनले निरस भावमा भने, ‘घरका सबैलाई म यहाँ भएको थाहा छ, सम्झेर बोलाए घर फर्कौँलाजस्तो लाग्छ तर उनीहरु आउँदैनन्।’ घरजम गरेकी कान्छी छोरीले कहिलेकाहिँ टेलिफोन गर्ने गरेको भने उनले सुनाए। लकडाउनबारे सुनेका उनले आफ्नो घरको लकडाउन कहिले खुल्ला भन्ने कल्पना नै नभएको सुनाए।

घरले त पहिल्यै जा भनेको हो, उनीहरुलाई। घरपछिको घरमा बसेका उनीहरुको निस्कने ठाउँ छैन। निस्कन सक्ने पनि कतिजना पो छन् र? बाटोतिर निस्कन सक्नेहरुलाई पनि यतिबेला वृद्धाश्रमभित्रै राखिएको छ। कोही कान सुन्दैनन्, कोही बोल्न सक्दैनन्। जो सक्छन्, उनीहरु आ–आफ्नै खाले गफ गर्छन्। लकडाउन लम्बियो भने दाताको भरमा चलेको वृद्धाश्रमको चुल्हो बल्दैन भन्ने थोरैलाई मात्र थाहा छ।

‘चामल त एकमहिनालाई पुग्छ कि?’ बृद्धाश्रममा स्वास्थ्य सेवा विभाग हेर्दै आएका शिशिरकेशव पराजुलीले भने, ‘तरकारी र अन्य कुराको अभाव हुन थालेको छ।’ उनका अनुसार बृद्धाश्रममा रहेकामध्ये ११ जनाले पत्थरी, १० जनाले प्रेसर, ४ जनाले थाइराइड, ४ जनाले मानसिक रोगको औषधि खान्छन्। औषधिको भने व्यवस्था गरिएको उनले सुनाए।

वृद्धाश्रम संचालक समितिका सदस्य श्रीनाथ आचार्यका अनुसार कोरोना त्रास र लकडाउनका कारण अरुबेला फाट्टफुट्ट आउने दाताहरु अहिले आउन पाएका छैनन्। दाता नआउँदा व्यवस्थापकलाई वृद्धवृद्धालाई कसरी खुवाउने भन्ने चिन्ता थपिएको छ। सरकारले एकद्वार प्रणालीबाट राहत बाँड्ने भनेपछि अझ समस्या थपिएको छ। बृद्धाश्रममा दैनिक १० किलो चामल, ३ किलो दाल, १० किलो हरियो तरकारीसहित खाजा चाहिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .