नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीहरुको कोरोना परीक्षण गर्न माग गरेको छ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई समेत प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मीहरुले उच्च जोखिमका बीच जनतालाई सुसुचित गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको -यापिड टेस्टसहित परिक्षणको व्यवस्था मिलाउन महासंघले सरकारसँग माग गरेको हो।
अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले केही सञ्चारगृहले पत्रकारलाई वेतलबी बिदा बस्न दबाब दिएको भन्दै त्यसको विरोध गरेको छ।
यस्तै, कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जारी विज्ञप्तिमा जनाइएको छ। महासंघले दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न आग्रह पनि गरेको छ।
श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानुनी लगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानहरुको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको जनाएको छ।
कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीहहरुलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि महासंघले आव्हान गरेको छ।
प्रतिक्रिया