ad ad

समाज


महोत्तरीमा अज्ञात कारणले मृत्यु हुनेको संख्या दर्जन पुग्यो

महोत्तरीमा अज्ञात कारणले मृत्यु हुनेको संख्या दर्जन पुग्यो

शैलेन्द्र महतो
बैशाख २१, २०७७ आइतबार ८:५४,

महोत्तरीमा अज्ञात रोगबाट मृत्यु हुनेको संख्या एक दर्जन पुगेको छ।

आइतबार बिहान भंगहा नगरपालिका ७ हरकपुरका ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको हो। रुपनारायणसहित ११ दिन यता भंगहा नगरपालिका वडा नंं ७, ६ र बर्दिबास नगरपालिका वडा नं. १२ मा गरी एक दर्जन व्यक्तिको अज्ञात कारणले मृत्यु भएको हो।

जसमा वैशाख १६ गतेदेखि २१ गतेसम्म ५ दिनमा मात्र ११ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्रकुमार झाले जानकारी दिए।

मृत्यु हुनेमा भंगहा नगरपालिका वडा नं. ७ का सबभन्दा बढी ७ जना छन्। वैशाख १० गते रौतहट जिल्ला जुरिबेला घर भई भंगहा नगरपालिका ७ मोघरौल टोलमा बस्दै आएका महेन्द्र चौधरीको अज्ञात कारणले मृत्यु भएको थियो। वैशाख १६ गते भंगहा नपा ७ मेघरौल टोलकै ४४ वर्षका पुरुष मोहन चौधरी, १७ गते सोही टोलका ५५ वर्षका लालबाबु सिंह र सोही वडाको मझौलिया टोलका ५५ वर्षीय नथुनी महराको मृत्यु भएको थियो।

यस्तै वैशाख १८ गते भंगहा ७ मझौलियाका ५७ वर्षीय सिकिन्दर सिंह र ५७ वर्षीय सुकदेव महराको मृत्यु भएको थियो भने वैशाख १९ गते भंगहा नगरपालिका वडा नं. ६ हतिसर्वाका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो।

भंगहा नगरपालिका ७ सँगै जोडिएको बर्दिबास नगरपालिका वडा नं १२ को अहिनाम टोलका ५५ वर्षीय गंगाराम सदाको वैशाख १६ गते मृत्यु भएको थियो भने १८ गते सोही वडाको जुरी टोलका ३० वर्षका सिकिन्दर मण्डल र ५५ वर्षया सोमनीदेव बातरको मृत्यु भएको थियो। यस्तै वैशाख १९ गते शुक्रबार बर्दिबास नपा १२ जुरीटोलकै एक इँटाभट्टामा काम गर्ने मजदुर भारतको उत्तर प्रदेश, जिल्ला लखिमपुर, गोलाकेकरनाथ ग्राम पञ्चायत बस्ने ५५ वर्षका मोतीलाल प्रजापतिको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन झाले जानकारी दिएका छन्।

घटना सार्वजनिक भएपछि सम्बन्धित निकाय गम्भीर
पाँच जनाको मृत्यु हुँदासम्म स्थानीय प्रहरी प्रशासन र सरोकारबाला निकाय उदासिन रहेका थिए। सबभन्दा पहिले नेपालखबरमार्फत घटना सार्वजनिक भएपछि र मृत्यु हुने क्रम नरोकिएपछि स्थानीय प्रहरी प्रशासन घटनाप्रति गम्भीर बनेको छ।

समाचार सार्वजनिक भएपछि प्रहरीले मृतक मध्येका सिकिन्दर सिंह र सुकदेव महराको जिल्ला अस्पताल जलेश्वरमा पोस्टमार्टम गराएको छ। दुबै जनाको शवमा कोरोना परीक्षण समेत गरिएको छ।

कोरोना परीक्षणमा दुवै जनाको पीसीआर र आरडीटी रिपोर्ट दुवै निगेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। उनीहरुको पोस्टमार्टम रिपोर्ट भने अहिलेसम्म नआएको उनले बताए।

मृतकमध्येका अधिकांशले नियमित मदिरा सेवन गर्ने गरेको पाइएकाले उनीहरुको मृत्यु पनि विषाक्त मदिराकै कारणले भएको हुन सक्ने आशंका गरिएको छ। तर, केही मदिरा नखानेको पनि मृत्यु भएपछि वास्तविक कारण खुल्न सकेको छैन।

‘विषाक्त मदिरा सेवनकै कारणले तिनीहरुको मृत्यु भएको आशंका छ। तर केही रक्सी नखाने मान्छेको पनि मृत्यु भएको छ। कोरोना परीक्षण गर्दा आरडीटी र पीसीआर दुवै रिपोर्ट निगेटिभ आएको छ’ प्रमुख जिल्ला अधिकारी खत्रीले नेपालखबरसंग भने, ‘घटना पत्ता लगाउन त्यहाँ विभिन्न टोलीहरु पुगेका छन्। पोस्टमार्टम रिपोर्ट र अनुसन्धान रिपोर्ट आएपछि मात्र मृत्युको कारण भन्न सकिन्छ।’

अहिले स्वास्थ्य कार्यालय महोत्तरी, जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरी, ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौं टेकु र डब्ल्युएचओको टोली त्यहाँ पुगेर के कारणले तिनीहरुको मृत्यु भएको होण् भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्।

पेट दुख्ने, झाडा पखाला लाग्ने, टाउको दुख्ने, दम फुल्नेजस्ता लक्षण देखिने र एकाएक सिकिस्त भएर मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .