स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ।
पीसीआर टेष्ट किटसहित स्वीस सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो।
स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज हस्तान्तरण गरिएको छ। विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरिन्।
टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताइन्। एसडीसीले ४ हजार सेट पीपीई सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापानाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्यांकको कोष स्वीकृत गरेको छ।
सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता थता समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ। कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि स्वीस सरकारले गरेको छ।
Shares
प्रतिक्रिया