कोभिड–१९ले स्वास्थ्यकर्मी समेत संक्रमित भएपछि नेपालमा झन् त्रास बढिरहेको बेला जुम्ल्याहा दाजुभाइ लव र कुशले ‘गो कोरोना’ रोबोट बनाएका छन्।
जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थीले आइसोलेसनमा बसेका बिरामीलाई रोबोटिक माध्यमबाट सामग्री पुर्याउन सकिने रोबोट बनाएका हुन्।
करिब ३ हप्ता लगाएर बनाएको रोबोटले स्वास्थ्यकर्मीहरुको लागि सुरक्षा र बिरामीको लागि असल साथी हुने उनीहरुको दाबी छ।
रोबोट सञ्चालनको लागि एन्ड्रोइड एपको विकास गरिएको छ। उनीहरुले सुरुमा रिमोटबाट कन्ट्रोल गर्ने सोच बनाएका थिए। तर धेरै स्वास्थ्यकर्मीले एउटै रिमोटबाट रोबोट सञ्चालन गर्दा कोरोना संक्रमण बढ्ने डरले एपको विकास गरेको उनीहरुको भनाइ छ।
रोबोटको कमाण्ड मोबाइलबाट गर्न सकिन्छ।
‘मोबाइलको स्क्रिनमा रोबोट कुन दिशामा गइरहेको हेर्न र कमाण्ड गर्न सकिन्छ’, लवकुशले भने, ‘रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्टजस्ता प्रोग्रामिङ गरिएको छ।’
कोरोना संक्रमितलाई खाना, औषधि, स्यानिटाइजर पुर्याउन सक्ने उक्त रोबोटमा कोरोना संक्रमण धेरै समय टिक्न नसकोस् भनेर तामा, प्लास्टिक र काठको बढी प्रयोग गरिएको उनीहरुले बताएका छन्।
रोबोट सञ्चालनको लागि इन्टरनेटको आवश्यक पर्दैन। १२ भोल्टको ब्याट्रीजडित रोबोट एक किलोमिटर दूरीसम्म जान र फर्किनसक्छ।
लकडाउनपछि उनीहरुले हस्पिटलमा नर्सले गर्ने काम रोबोटमार्फत गर्न सकिने सोचका साथ आफ्नो काम सुरु गरेका थिए। तर रोबोटमा धेरै फिचर्स प्रयोग गर्दा महंगो पनि पर्ने र धेरै समय लाग्ने भएकाले सामान्य काम गर्नसक्ने रोबोट बनाएको उनीहरुको भनाइ छ।
‘रोबोटको लागि आवश्यक पर्ने सामग्री खोज्नको लागि लकडाउनले गर्दा गाह्रो थियो’, उनीहरुले भने, ‘कुनै सामग्री बाहिर खोजियो भने कुनै पहिले बनाएको रोबोटका सामग्री डिस्कनेक्ट गरी गो–कोरोना रोबोटमा प्रयोग ग¥यौं।’
प्रदेश ५ लाई हस्तान्तरण
लबकुशले शनिबार प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई रोबोट हस्तान्तरण गरेका छन्। मन्त्रीले उनीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। ‘गो कोरोना रोबोट’ निर्माणमा ७० हजार खर्च भएको उनीहरुले बताएका छन्।
उनीहरुले यसअघि पनि अंग्रेजीमा बोल्ने गो–गो–१, नेपाली भाषा बोल्ने, फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र लबकुश मार्स रोबोट बनाइसकेका थिए। तिलोत्तमा प्रवेशद्वारमा जडान गरिएको स्यानिटाइजर स्टेसनका लागि सेन्सर सिस्टम समेत बनाएका थिए।
‘सरकारलाई आवश्यक भए धेरै बनाउन सक्छौँ’
लवकुशले उनीहरुको रोबोटलाई हस्पिटलमा प्रयोग गर्न खोजे धेरै बनाउनसक्ने बताएका छन्। ‘मन्त्री बरालले देशभरका कोरोना अस्पतालमा प्रयोग गर्न सकिन्छ भन्नुभएको छ’, उनीहरुले भने, ‘सरकारले सहयोग गरे हामी बनाउन तयार छौँ।’
नेपाल सरकारले नयाँ आविष्कारहरुको लागि खासै सहयोग नगरेको बताउँछन्।
‘सरकारले केही नै सहयोग गरेको छैन भन्न त मिल्दैन तर तिर्खा लागेकोलाई घाँटी भिजाउनेसम्मको सहयोग गरेको छ। तिर्खा मेटिने गरी सहयोग गरेको छैन’, उनीहरुले भने।
बुटवलको योगीकुटीमा बस्दै आएका लवकुश तिलोत्तमा कलेजमा कक्षा ११मा कम्प्युटर विज्ञान पढ्छन्। उनीहरुले आफूहरु तत्काल व्यावसायिक रुपमा रोबोट उत्पादनभन्दा पनि अध्ययनमा बढी ध्यान भएको बताउँछन्।
‘धेरैले मिलेर काम गरौं भन्नुभएको छ तर हामी सिक्दै गरेको अवस्था भएकाले केही वर्षपछि मात्रै व्यावसायिक काम गर्ने सोचमा छौँ’, लवकुशले भने, ‘अहिले हामी व्यावसायिक बन्नेभन्दा पनि आफ्नो बेस बनाउनेमा बढी ध्यान दिएका छौं।’
कृषि क्षेत्रमा रोबोट प्रयोग गर्ने सोच
अबको प्राथमिकता समाजमा धेरैले फाइदा लिनसक्ने प्रोजेक्टमा काम गर्ने रहेको बताएका छन्। रोबोट बनाउँदा धेरै फिचर्स राख्नुभन्दा कुनै विशेष काम गर्ने व्यावसायिक रोबोट बनाउनुपर्छ भन्ने सोच छ।
‘नेपाललाई कृषिप्रधान देश भने पनि आफूलाई खान पुग्ने अन्न बाली उत्पादन गर्नसकेका छैनौँ। त्यसैले कृषि क्षेत्रमा रोबोट प्रयोग गर्ने चाहना छ’, दाजुभाइले भने।
उनीहरुलाई सुरुमा रोबोट बनाउनु ठूलो कुरा लाग्थ्यो। सिक्दै जाँदा रोबोट बनाउनु ठूलो कुरा नभई त्यसलाई समाजमा कसरी प्रयोग गछौं त्यो ठूलो कुरा रहेछ भन्ने बुझे।
नयाँ आविष्कारको लागि कसैलाई फलो गर्नुभन्दा पनि आफैँले रिसर्च गर्दा आफ्नो जग बलियो हुने विश्वास रहेको छ।
‘कुनै पनि विषयमा सोच्नु, इच्छा राख्नु मात्रै ठूलो कुरा नभई त्यसलाई निरन्तरता दिए सफल भइन्छ भन्ने हामीलाई लाग्छ’, उनीहरुले भने, ‘हामीले पनि थुप्रै प्रोजेक्ट बनाउने सोच्यौँ तर निरन्तरता दिन नसक्दा स्थगित भएका छन्। भविष्यमा तिनलाई पनि निरन्तरता दिनेछौँ।’
Shares
प्रतिक्रिया