ad ad

समाज


मधेशका महिलाहरु बरको रुखको पूजा गरी वट सावित्री पर्व मनाउँदै

मधेशका महिलाहरु बरको रुखको पूजा गरी वट सावित्री पर्व मनाउँदै

शैलेन्द्र महतो
जेठ ९, २०७७ शुक्रबार ९:३७,

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चल लगायत मधेशका महिलाहरुले आज (शुक्रबार) वट सावित्री पर्व मनाइरहेका छन्। सरकारले कोरोना महामारीबाट बच्न गरेको लकडाउनका कारण महिलाहरुले घरमै बरको सानो बोट, हाँगा अथवा घर नजिकैको बरको रुखको पूजा गरी वट सावित्री पर्व मनाउँदै छन्। प्रहरीले लकडाउनमा घरमै बट सावित्री पर्व मनाउन सबैमा आग्रह गरेको थियो ।

वट सावित्री पर्वमा जनकपुर लगायत ग्रामिण भेगका महिलाहरु बरको रुखमा पहेंलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्ने गर्दछन्। अन्य वर्षहरुमा आजको दिन बरको रुख मुनि पूजा र्अचना गर्ने महिलाहरुको भीडभाड देखिएपनि यसपटक कोरोना संक्रमणको त्रास र प्रहरीको आग्रहलाई स्वीकार गरी भीडभाड नगरी पालैपालो घरमै अथवा नजिकैको बरको खरु मुनि गएर वट सावित्री पर्व मनाइरहेको देखिएको छ।

वट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरा हुने र पतिको आयु पनि बढ्ने जनविश्वास रही आएकाले शदिऔंदेखि यो पर्व मनाउँदै आएको जनकपुरधाम उपमहानगरपालिका ९ की सोनी यादवले बताइन्। यो पर्वमा आँप, लिची, नरिवल, सिँदुर, चना, दही, चुरा, बेना (बाँसको पंखा) रातो पहेंलो धागो, पान, सुपारी लगायतका सामग्री चढाइन्छ ।

धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा ब्रह्मा, बिष्णु र महादेवको बास हुने भएकोले बरको रुखको पुजा गर्ने प्रचलन छ। पौराणिक मान्यता अनुसार ऋषिपुत्री साबित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै बिवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन्।

केही वर्षअघिसम्म यो पर्व ब्राम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँदै आएकोमा अहिले अन्य समुदायका महिलाहरुले पनि मनाउने गर्दछन्। नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन छ।

कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेना (बाँसको पंखा), रातो पहेंलो धागो लगायतका सामग्री पठाइन्छ। तर यसपटक लकडाउनको कारण अधिकांश महिलालाई माइतबाट पूजा सामग्री नआएपछि आफैँ पूजा सामग्री जोरजाम गरी वट सावित्री पर्व मनाइरहेका छन्।

अन्य रुखको तुलनामा बरको रुखको आयू लामो हुने र बरकै रुखमुनि सावित्रीका पति सत्यवानको प्राण फिर्ता गरिएकाले पूजा गर्ने चलन चलिआएको संस्कृतिविद्हरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .