ad ad

समाज


‘एक छाक खाएर प्राण धानिरहेका छौं, नेपाल आउन चाहन्छौं’

‘एक छाक खाएर प्राण धानिरहेका छौं, नेपाल आउन चाहन्छौं’

यज्ञराज जोशी
जेठ १०, २०७७ शनिबार ११:४८,

लकडाउनका कारण काम बन्द हुनुका साथै भएको खानेकुरा र खर्च पनि सकिएपछि भारतको तमिलनाडु राज्यको पन्डीचेरीमा रहेका नेपालीहरु चरम समस्यामा परेका छन्।

स्थानीय होटलमा काम गर्ने गुल्मीका अमृत सापकोटाले विगत एक महिनादेखि एक छाकमात्रै खाना खाएर पेट भर्ने गरेको बताए।

‘काम बन्द भएको आज ६१ दिन भयो,’ अमृतले शनिबार नेपालखबरसँग भने, ‘पहिलो महिना त होटल सञ्चालकले सहयोग गरेका थिए। एक महिना भयो होटल मालिकले पनि वास्ता गर्न छाडेको। अहिले आफूसँग भएको पैसा पनि सकिएको छ।’

डेढ महिनाअघि मात्रै स्थानीय होटलमा काम थालेका उनको पहिलो महिनाको तलब पनि आउन नपाउँदै लकडाउन सुरु भयो। लकडाउनको पहिलो महिना होटल सञ्चालकले नै खानाको व्यवस्था गरेका थिए। तर, आफ्नो पनि व्यवसाय ठप्प रहेको भन्दै एकमहिना देखि साहुले पनि खाना दिन छाडेको अमृतले बताए।

‘पछिल्लो एकमहिना अरु साथीहरुसँग सरसापटी मागेर एक छाक मात्र खाएर प्राण धानिरहेका छौं,’ उनले भने, ‘अब त सबैसँग भएको पैसा सकिइसक्यो। भोकै मरिन्छ कि भन्ने पीर परेको छ।’

सोही ठाउँमा रहेका बाग्लुङका सूर्य कार्कीको अवस्था पनि उस्तै छ। पेटभर खान नपाएको एकमहिना भइसकेको तर कसैले पनि वास्ता नगरेको सूर्यले बताए।

‘पैसा पनि छैन। खाना पनि छैन। एक छाक मात्रै खाँदै आएको पनि डेढ महिना हुन लाग्यो। हामी चाँडै घर फर्कन चाहन्छौं,’ सूर्यले नेपालखबरसँग भने।

उनीहरुले आफूहरुको उद्धारका लागि आफ्नो स्थानीय प्रतिनिधिलाई पनि सम्पर्क गरेका थिए। तर स्थानीय प्रतिनिधिले केही विकल्प दिन नसकेको अमृतले बताए।

‘पर्खनु, गर्दैछु, गर्दैछु मात्रै भन्छन। त्यसो भनेको पनि डेढ महिना भइसक्यो। हामी भोकभोकै मर्ने अवस्था आइसक्यो,’ अमृतले मलिनो स्वरमा भने।

उनीहरु बस्ने क्षेत्रमा ३५ देखि ४० जना नेपालीहरु रहेको र सबैको अवस्था नाजुक भएको उनले बताए। आफूहरुले समस्या बताउँन दूतावासमा फोन गर्दा समेत फोन नउठेको उनले बताए।

‘यहाँ कसैले हेर्दा पनि हेर्दैन। घर जाउ मात्रै भन्छन्। पैसा नभएपछि कसरी जाने?’ अमृतले भने, ‘हामी छिटो घर पुग्न चाहन्छौं। नेपाल सरकारले केही गर्दिए हुन्थ्यो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .