ad ad

समाज


आरडीटी आतंकः पोजिटिभ देखिएका त्रिशूली र गंगालाल अस्पतालका ९ जनाको पीसीआर नेगेटिभ

आरडीटी आतंकः पोजिटिभ देखिएका त्रिशूली र गंगालाल अस्पतालका ९ जनाको पीसीआर नेगेटिभ

नेपालखबर
जेठ १०, २०७७ शनिबार १४:१४,

कोरोना पत्ता लगाउन गरिने आरडीटी परीक्षणले आतंक सिर्जना गरिरहेको छ। किनकि यसको रिपोर्ट पोजिटिभ आउनेबित्तिकै मान्छे आत्तिने गरेका छन्। यस्तै आतंक भयाे- नुवाकोटस्थित त्रिशूली अस्पताल र काठमाडौंमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पनि।

आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि पीसीपीसीआर परीक्षण गरिएका नुवाकोटको त्रिशूली जिल्ला अस्पतालका स्वास्थ्यकर्मीसहित आठै कर्मचारीकाे रिपोर्ट अन्तत: नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएको छ। 

अस्पताल प्रमुख सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले यी ८ कर्मचारीसहित अस्पतालको आइसोलेसनमा रहेका अर्का १ जना बिरामीको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। उनका अनुसार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

‘अब अस्पतालका ६ कर्मचारीको रिपोर्ट आउन बाँकी छ,’ डा. राईले शनिबार साँझ नेपालखबरसँग भने, ‘त्यो पनि नेगेटिन आउनेमा हामी ढुक्क छौं।’

डा. राईका अनुसार रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको आइसोलेसनमा रहेका १ जना बिरामीलाई आजै डिस्चार्ज गरिएको छ।

‘उहाँ सूर्यगढी गाउँपालिकाको हुनुहुन्थ्यो,’ डा. राईले भने, ‘उहाँमा घाँटी, दुख्ने, ज्वरो आउनेजस्ता कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका थिए, त्यही भएर शंका लागेर स्वाब परीक्षणमा पठाइएका थियाैँ, तर रिपोर्ट नेगेटिभ आएपछि घर पठायाैँ।’

डा. राईका अनुसार ती व्यक्ति जेठ ६ गतेदेखि आइसोलेसनमा थिए। ‘यहाँ आईसीयू छैन,’ उनले भने, ‘आईसीयू नचाहिने अवस्थाका बिरामीलाई मात्र हामी आइसोलेसनमा राख्छौं।’

सुरुमा पठाइएको १५ जनाकाे नमुनामध्ये ९ जनाको रिपोर्ट नेगेटिभ आएको र अब ६ जनाकाे रिपोर्ट आउन बाँकी रहेको उनले बताए। यसपछि पनि १२ जनाको स्वाब पठाइएको उनले बताए।

सावधानी र सतर्कताका लागि शंका लाग्नेबित्तिकै आइसोलेसनमा राख्ने तथा आरडीटी/पीसीआर परीक्षण गर्ने गरिएको डा.राईले बताए। अस्पतालबाट दैनिकजसो स्वाब संकलन गरी टेकु प्रयोगशालमा पठाउने गरिएको उनले जानकारी दिए।

trine

गंगालाल अस्पतालका आरडीटी पोजिटिभ बिरामी पनि पीसीआरमा नेगेटिभ
काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा पनि आरडीटी पोजिटिभ देखिएका एक बिरामीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

अस्पतालका अनुसार केन्द्रको आकस्मिक कक्षमा भर्ना गरिएका ५८ वर्षे बिरामीको आरडीटी जाँच्दा रिपोर्ट पोजिटिभ आएको थियो।

त्यसपछि हतारहतार उनलाई पाटन अस्पताल रेफर गरी आकस्मिक कक्ष सिल गरिएको थियो। अस्थायी आकस्मिक कक्ष स्थापना गरी सेवा दिइएको थियो।

तर बिरामीको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्न पठाइएकामा शनिबार रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। योसँगै अस्पतालको आकस्मिक कक्ष खुला गरिएको बताइएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .