ad ad

समाज


‘सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ’ का सर्जकको सम्झनामा...

‘सोह्र वर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ’ का सर्जकको सम्झनामा...

वाशुदेव मिश्र
असार २६, २०७६ बिहिबार १४:५६,

 यो कलिलो तामाकै सिजन हो! अनि, आहा! कलिलो तामालाई सोधे रामालाई .... भन्ने गीतचाहिँ सर्वकालीन!

संयोग कस्तो भने, गण्डकी क्षेत्रमा गाइने यो गीतको संकलकमध्येका एक कल्याण सेरचन पनि तामा टुसाउने बेलैमा जन्मेका थिए, पोखराको रानीपौवामा। रानीपौवामा २०११ साल साउन १२ गते जन्मेका कल्याणले साथीहरुसँग मिलेर नेपालका गाउँहरु डुले। गीतका भाका र लय टिपे अनि साथीहरुसँग मिलेर गेडाहरु उने। जिब्रोमै टाँस्सिने बनाए।

यो उपक्रममा नै कहाँ नानी घर तिम्रो, कहाँ माइती मावली .... भन्दै सोध्न भ्याए र आफ्नो मनको बह गीतमै पोखे। ‘सोह्र वर्षे उमेरमा म पनि झिल्के हुँदो हो..... अहिले पो बूढो भयो र ...... बूढाहरुले मुखको स्वाद फेर्न पनि जानेका! त्यही गीतमा भनिहाले,‘यो नानीको शीरको फूल चोखो छ कि जुठो छ, त्यो फूल लाउने मलाई धोको छ ......’

शब्दको अभिव्यञ्जनातिर नजाऊँ। त्यो कालखण्डको गीतका सर्जक कल्याण सेरचन यो धर्तीमा छैनन्। उनले २०६७ सालमै यो संसारबाट बिदा लिए। तर, यस्ता सर्जकलाई बिर्सनु कसरी? अहिले स्मृतिमा कल्याण सेरचन स्मृति प्रतिष्ठान क्रियाशिल रहेको छ।

कल्याणकै नाममा जन्मेको संस्थाले लोकसंगीतको उत्थानको काम गर्छ/गरिरहेको छ। र, यही मेसोमा उनको ७३ औँ जन्मजयन्तीको अवसरमा पोखरामा पुरुष तथा महिला ‘राष्ट्रिय एकल लोकनृत्य प्रतियोगिता–२०७६’ प्रतियोगिता आयोजना हुँदैछ। साँस्कृतिक संस्थानसँगको सहकार्यमा आयोजना हुने यो प्रतियोगिताअन्तर्गत देशका सातवटै प्रदेशबाट कलाकार चयन गरिनेछ। हरेक प्रदेशबाट एक महिला र एक पुरुष कलाकार चयन हुनेछन्। छानिएका कलाकारहरुले साउन १२ गते अन्तिम प्रतिष्पर्धा गर्नेछन्।

महिला र पुरुष विधामा पहिलो हुनेले जनही १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, दोस्रोले ५० हजार ५ सय १५, तेस्रोले २५ हजार ५ सय १५, सान्त्वनाले १५ हजार ५ सय १५ र उत्कृष्ट कोरियोग्राफरले २५ हजार ५ सय १५ रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताबारे जानकारी दिन विहीबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्णबहादुर गुरुङ ह्योल्मोले जनाए अनुसार प्रतियोगीहरुले विशुद्ध लोकगीतमै नाच्नु पर्नेछ। गीतको भाषामा भने बन्देज छैन। मैथिलीदेखि भोजपुरी, डोटेलीजस्ता आञ्चलीक भाषाका लोकगीतमा नाच्नुपर्ने उनले जनाए।

प्रतियोगिता पोखरामा लोकबाजा संग्रहालय निर्माणको उदेश्यले प्रेरित रहेको पनि उनले सुनाए। कल्याण सेरचन स्मृति प्रतिष्ठानले यसअघि पश्चिमाञ्चलस्तरीय कौरा प्रतियोगिता,राष्ट्रिय खुला मादल प्रतियोगिता,राष्ट्रिय सारंगी उत्सवलगायतका साँस्कृतिक कार्यक्रम सम्पन्न गरिसकेको संस्थाका द्धितीय उपाध्यक्ष श्रीजंग गुरुङले बताए।

सचिव ज्ञानबहादुर थापाका अनुसार विभिन्न संघ/संस्थासँगको सहकार्यमा प्रतिष्ठानले विद्यालय भवन निर्माण र खेलकुदमा पनि विशेष योगदान दिँदै आएको छ।

सहसचिव प्रेमराज अधिकारीका अनुसार प्रतियोगिताअन्तर्गत असार २८ गते धरान, धनगढी र पोखरा, साउन २ गते बुटवल, साउन ४ गते काठमाण्डौ, साउन, ५ गते राजविराज, साउन ६ गते सुर्खेतमा कलाकार छनौट कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .