ad ad

समाज


अपडेट-वर्षाको वितण्डाः १७ को मृत्यु, ७ बेपत्ता, (नामावली सहित)

अपडेट-वर्षाको वितण्डाः १७ को मृत्यु, ७ बेपत्ता, (नामावली सहित)

नेपालखबर
असार २७, २०७६ शुक्रबार १०:४७,

मनसुनको सक्रियतासँगै देशका उच्च हिमाली, हिमाली, पहाडी तथा तराई–मधेसमा यसको प्रभाव देखिएको छ। मनसुनी वर्षाका कारण तराई–मधेशका शहरी तथा ग्रामीण क्षेत्र डुबानमा परेका छन्। 

यस्तै पहाडी क्षेत्रमा बाढी र पहिरोले घर  बगाउने र पुर्ने काम गरेकाे प्रहरीले जनाएको छ।

गृहमन्त्रालयका अनुसार शुक्रबार बाढी र पहिरोमा १७ को मृत्यु भएको छ भने  ७ जना बेपत्ता र ७ जना घाइते भएका छन्।

5गृह मन्त्रालयद्वारा शुक्रबार साँझ प्रकाशित तथ्या‌ंक

काठमाडौँको मूलपानीमा वर्षाका कारण घर भत्कँदा ३ जनाको मृत्यु भएको छ भने काभ्रेको नालामा पहिरोले घर पुर्दा दुई जनाको ज्यान गएको छ भने भोजपुरमा पनी दुई जनाले ज्यान गुमाएका छन्। त्यस्तै, रामेछाप, सिन्धुली, ललितपुर र धादिङमा पहिरो तथा बाढीमा परी एक–एक जना ज्यान गएको छ।

badi 1 पहिरोका कारण शुक्रबार बिहानदेखि अवरुद्ध काभ्रेपलाञ्चोकको खोपासी–ढुङ्खर्क सडकखण्ड।

मन्त्रालयले ४ सय घरधुरीका एकहजार जना प्रभावित भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।

त्यस्तै मोरङ, सुनसरी, महोत्तरी, पाँचथर, खोटाङ र काठमाडौंमा एक–एक जना बेपत्ता भएका छन्।

हेराैं नामावली

 1 2

2 1

कहाँ के भयो?

काठमाडौं

काठमाडौँको मूलपानीमा पक्की घरको पर्खाल भत्कँदा बाराका तीन मजदुरको मृत्यु भएको छ। ज्यामी काम गर्न आएका उनीहरु बन्दै गरेको पक्की घरसँग जोडेर टहरो बनाएर बसेका थिए। उनीहरुले टहरो बनाएकै स्थानमा घरको पर्खाल ढलेर च्यापिएको महानगरी प्रहरी वृत्त बौद्धले जनाएको छ। मृत्यु हुनेमा बाराकी ३५ वर्षीया शर्मिला यादव, वर्ष ३०की निमु यादव र १० वर्षीय कुन्दन यादव रहेका छन्।

अविरल वर्षापछि काठमाडौंमा घर भत्किएको छ। कामनपा–२१ लगनस्थित बिना शाक्यको ढुंगामाटोले बनेको कच्ची घर पुरानो घर भत्किएको हो। उक्त घरमा कोही नबस्ने भएकाले मानवीय क्षति भएको छैन।

धादिङ
अविरल वर्षापछि धादिङका दुई स्थानमा लेदो सडकमा खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपलिकामा वडा नम्बर १० स्थित जवाङ खोलामा लोदे खस्दा दिउँसो १२ बजेदेखि सडक अवरुद्ध भएको छ।

badi 7ओखलढुंगाको भँडारे खोलामा आएको बाढीका कारण रोकिएका यात्रु र सवारीसाधन।

‘दुवैतर्फ सयौं गाडी रोकिएको छन्,’ एक स्थानीयले भने, ‘एउटा जेसीबीले पन्छाउने काम भइरहेको छ। निरन्तरको वर्षाको कारण लेदो झर्ने काम रोकिएको छ। तर सडक खुल्न केही घण्टा लाग्ने देखिएको छ ।’

त्यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा पनि लेदो खस्न सुरु भएको सुरक्षा निकायले जनाएको छ।

काभ्रे
काभ्रेमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुई दिनदेखिको लगाताको वर्षाले काभ्रेको बनेपा नगरपालिका–३ नालामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको हो।

पहिलोरले स्थानीय रामप्रसाद दंगालको घर पुरिएको र पहिरोमा परेर उनकी श्रीमती ५५ वर्षीया गोमा दंगाल र र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख ९एसपी० जयराम सापकोटाले बताए।

त्यस्तै पहिरोमा परेका दंगालका बुहारी ३० वर्षीया सुशीला दंगाल र ७ दिनकी नातिनी अनुस्कालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको एसपी सापकोटाले बताए।

badi 3 वर्षाका कारण दमक–७ स्थित पशुहाट क्षेत्रका जलमग्न सुकुम्बासी बस्ती।

पाल्पा
पहिरो वर्षाका कारण तिनाउ गापा-५ केराबारीस्थित सिद्धार्थ राजमार्गमा माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ। त्यहाँ पहिरो पन्छाउन प्रहरीको टोली परिचालन भएको छ।

कञ्चनपुर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा विद्यार्थी बोकेर गुडिरहेको बसमाथि सालको रुख ढलेको छ।रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते छन्।

शुक्लाफाँटा नगरपालिकास्थित अनिरूद्र माविको विद्यार्थी बोकेको बसमाथि वनसमितिमा रुख ढलेको हो।

सुनसरी
सुनसरीको हरिनगरा गाउँपालिका– ५, सुकसेना टोलका करिब ६० घर डुबानमा परेका छन्। गाउँ नै डुबान हुने सम्भावना रहेकाले स्थानीय हरिनगरा गापा(४ मा रहेको श्री माविस्कुल वसन्तपुरमा सुरक्षित स्थानतरण गर्ने पहल भइरहेको सुरक्षा बेसक्याम्प वसन्तपुरले जनाएको छ।

badi 4अविरल वर्षाका कारण जलमग्न प्रदेश नं २ को राजधानी जनकपुर अञ्चल अस्पताल।

महोत्तरी
महोत्तरीको जलेश्वर न।पा। २ स्थित कारागार कार्यालय कम्पाउन्ड भित्र करिब १ फिट पानी जम्दा त्यहाँका कैदीबन्दीलाई खाना बनाउन समस्या भएको छ। त्यस्तै रातो खोलाले बगाउँदा घाँस काटन गएका एक बृद्ध बेपत्ता बनेका छन्। बलवा नगरपालिका–२ का ७० वर्षीय हनिफ बैठालाई रातो खोलाले बगाएको हो। उनको अहिले खोजी कार्य भइरहेको छ।

सिन्धुली
सिन्धुलीमा अविरल वर्षासँगै आएको चट्याङले लागेर एक जना घाइते भएका छन्। जिल्लाको गोलान्जोर गाउँपालिका–२ बित्तिजोरका वर्ष ४० की निर्मला कार्की आफ्नै घरमा बसिरहेका बेला चट्याङले लागेर घाइते भएकी हुन्। बेहोस भएकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टार लगिएको प्रहरीले जनाएको छ।

रामेछाप
रामेछाप नगरपालिका– ५ करमटारकी ७२ वर्षीय पदमकुमारी सुनुवारको मृत्यु भएको हो। उनी घर नजिकै रहेको गोठमा गएको अबस्थामा ढुंगामाटोले बनेको १ तल्ले कच्चि गोठ भत्किन जाँदा घटनास्थलमै मृत्यु भएको हो। उनकी बुहारी ५० वर्षीया असुली सुनुवार घाइते भएकी छन्। पहिरोले सुनवार परिवारको दुई चौपाया समेत मरेका छन्।

रौतहट
रौतहटको चन्द्रपुर नपा २ स्थित पूर्वपश्चिम राजमार्गमा बाढी पसेपछि यातायात बन्द भएको छ। पहिलो लच्कामा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको हाल नं।नखुलेको बस बाढीले रोकिन जाँदा दुवैतर्फ यातायात रोकिएको रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भूपेन्द्र खत्रीले नेपालखबरलाई जानकारी दिए। सडक खुलाउने प्रयास भइरहेको उनले बताए।

पाँचथर
फाल्गुनन्द गा।पा। ३ मेची राजमार्गस्थित पाङग्रेभिरबाट ढुंगासहितको पहिरो खस्दा यातायात बन्द भएको छ। भिरबाट पहिरो झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ।

त्यस्तै खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन्। अहिले उनको ओजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

धनुषा
जनकपुर उपमहानगरपालिका २३ जिरोमाईलस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयभित्र पानी पस्दा क्षति पुगेको छ।२ ओटा कम्प्युटर, साउण्ड सिस्टम र सोफाहररू पानीमा डुबेका हुन्। यसलाई अहिले धमाधम सार्ने काम भइरहेको छ। करिब ३ लाख रुपैयाँ बराबरका सामान क्षति भएको उपमहानगरपालिकाले जनाएको छ।

जनकपुर ४ कदमचोक स्थित पल्टु महत्तोको किराना पसलमा पनि पानी पसेर क्षति पुर्याएको छ। करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

यस्तै धनुषाकै हंसपुर नगरपािलका वडा नम्बर ३ मा वर्षाका कारण तीनवटा घर भत्किएका छन्। उक्त वडामा पर्ने कठपुत्ला टोलका अनुपलाल राउत, कुमराटोलका प्रमोद मल्लिक र कुमोद मल्लिकको कच्ची घर भत्किएका हुन्। तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

badi 5भक्तपुरको तरकारी तथा फलफूल बजार आसपासमा बाढीले पारेको प्रभाव।

चितवन
चितवनको माडी नगरपालिका–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा आएको बाढीका कारण नारायणगढ माडी सडकखण्ड अवरुद्ध भएको छ। पानी परिरहेका कारण खोला बढ्दै गएकाले सडक खुलाउन गाह्रो भइरहेको प्रहरीले जनाएको छ।

मकवानपुर
इन्द्रसरोबर गापा ५ महा लक्ष्मी खोलानजिक अविरल वर्षाका कारण पहिरो खस्दा सडक बन्द भएको छ। गाडीहरू बीच बाटामै रोकिएका छन्। सडक खुलाउने प्रयास भइरहेको बताइएको छ।

सिन्धुली

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ।

गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उनले जानकारी दिए। उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ।

 

उदयपुर
उदयपुरको कटारी न।पा।-१४ घुर्मीस्थित ओखलढुङगा तिरबाट काठमाडौँ तर्फ जादै गरेको ना १ झ ३३३८ नं।को सुमो बाजुरा खोलाले बगाएको छ। बढेको खोला हेर्न यात्रुहरु बाहिर निस्केको समयमा सुमोलाई खोलाले बगाएका कारण मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

त्यस्तै उयुदयपुर न।पा।-११ स्थित रहेको बरुवा खोलामा पानिको बहाब उच्च भई बाँध बाढीले कटान गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली पुगी गिटी बालुवा भरी बाँध बान्ने काम गरेका छ।

भोजपुर

अविरल वर्षासँगै आएको बाढी पर पहिरोका भोजपुरमा दुईजनाको मृत्यु भएको छ। वर्षासँगै गएको पहिरोले चर्पी बगाउँदा चर्पीसँगै रहेका टेम्केमैयुम गाउँपालिका–ं ९ लेखर्क ओइराङका कुवेरमान विकका १४ वर्षीय छोरा जनक विकको ज्यान गएको छ भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलीसहितको गाह्रो भत्किएर पुरेकाले मृत्यु भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .