ad ad

समाज


कैलालीका सात संक्रमित थपिएपछि महाकाली अस्पतालको आइसोलेसन भरिभराउ

कैलालीका सात संक्रमित थपिएपछि महाकाली अस्पतालको आइसोलेसन भरिभराउ

गोकुल जोशी
जेठ २१, २०७७ बुधबार १५:३९,

सेती प्रादेशिक अस्पतालले भर्ना नलिएका कैलालीको गौरीगंगा नगरपालिकाका सात जना संक्रमित एक दिन पछि महाकाली अस्पताल भर्ना भएका छन्।

उनीहरुलाई राख्न कैलालीमा आइसोलेसन अभाव भए पछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको डा. सरोज आचार्यले बताए। यो सँगै २० जना बिरामी राख्न मिल्ने महाकाली अस्पतालको आइसोलेसनमा १५ जना कोरोना संक्रमित भर्ना भएका छन्।

यस्तै महाकाली अस्पतालमा आरडीटी पोजेटिभ सहित कोरोना शंकास्पद बिरामी संख्या १६ पुगेको छ। जहाँ कोरोना शंकास्पद बिरामी राख्ने क्षमता १० मात्रै हो। शंकास्पद बिरामीको पीसीआर रिपोर्ट आउन ढिलाई हुँदा यही अवस्थामा कोरोना संक्रमित बढे भने उनीहरुलाई राख्न समस्या हुने डा. आचार्यको भनाई छ।

‘शंकास्पद बिरामीको पीसीआर रिपोर्ट आउन ढिलाई भएको छ, अबका संक्रमितलाई महेन्द्रनगरस्थित सेफर हस्पिटलमा राख्ने तयारी भइरहको छ’ उनले भने।

कोरोना परीक्षण रिपोर्ट नआउँदा १६ जना एक सातादेखि अस्पतालको आइसोलेसनमा छन्। कैलालीको गौरीगंगा नगरपालिका–२ मालिका माध्यमिक विद्यालय र वडा–४ को कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई सेती अस्पतालले भर्ना नगरे पछि एक दिन पछि महाकाली अस्पताल पु-याइएको हो।

मंगलबार राति एम्बुलेन्सबाट सेती प्रादेशिक अस्पताल पु-याइएका उनीहरुलाई आइसोलेसन अभावमा भर्ना गरिएको थिइन। त्यसपछि ती संक्रमितलाई गौरीगंगा नगरपालिका–४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएको थियो। उनीहरुमा कोरोना संक्रमण लक्षण स्पष्ट देखिएको चिकित्सकले बताएका छन्।

कञ्चनपुर–कैलालीमा ५०/५० शय्याको कोरोना अस्पताल सञ्चालनमा नआउँदा बिरामी व्यवस्थापनमा समस्या देखिएको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्व–तयारी नहुँदा संक्रमितले उपचार नै नपाउने अवस्था सृजना हुन सक्ने खतरा देखिएको छ।

कोरोना बिशेष महाकाली र सेती अस्पतालका आइसोलेसन बिरामीले भरिएका छन्। महाकाली अस्पतालमा अहिलेसम्म भेन्टिलेटर तथा आईसीयू कक्ष सञ्चालनमा आएको छैन। नयाँ भेन्टिलेटर र आईसीयू कक्ष सञ्चालनमा आउन अझै एक महिना लाग्ने देखिएको छ।

भेन्टिलेटरका लागि तीन वटा फर्मले टेन्डर हालेकोमा अहिलेसम्म कसैको पनि टेन्डर स्वीकृत नभएको महाकाली अस्पतालले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका एक सय ८० शय्याका १६ वटा आइसोलेसन वार्ड मात्रै तयार गरिएको छ। लकडाउन पछि पनि भारतबाट हजारौँ मानिसलाई ल्याएर सम्बन्धित ठाउँको क्वारेन्टिनमा राखिएको छ। उनीहरुको कोरोना परीक्षण गर्न बाँकी नै छ। यस्तो अवस्थामा प्रदेशमा कोरोना संक्रमित बढ्न सक्ने निश्चित छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उचित व्यवस्थापन र पूर्व–तयारी नहुँदा संक्रमितले उपचारबाट बञ्चित भइ ज्यान गुमाउनु पर्ने अवस्था आउने संकेत देखिन थालेको विज्ञहरु बताउँछन्।

सुदूरपश्चिम प्रदेशमा हाल १४ शय्याको आइसीयू वार्ड र ८ वटा भेन्टिलेटर मात्रै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .