ad ad

समाज


कैलालीका दुई संक्रमितले अस्पताल भर्ना पाएनन्, क्वारेन्टिनमा राखियो

कैलालीका दुई संक्रमितले अस्पताल भर्ना पाएनन्, क्वारेन्टिनमा राखियो

गोकुल जोशी
जेठ २५, २०७७ आइतबार ८:१४,

कैलालीको धनगढी उपमहानगरपालिका–१४ का दुई संक्रमितले अस्पताल भर्ना हुन नपाएपछि क्वारेन्टिनमा राखिएको छ।

जेठ २२ गते कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका दुई जना संक्रमितलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालले भर्ना नगरेपछि क्वारेन्टिनमा राखिए हो।

उनीहरुलाई धनगढी उपमहानगरपालिका–१४ ‘बि’ गाउँस्थित पञ्चवदेय माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको वडाध्यक्ष राम बजारी चौधरीले बताए।

जेठ १२ गते भारतबाट फर्किएर सो विद्यालयको क्वारेन्टिनमा बसेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तर, संक्रमण पुष्टि भएकै दिन सेती प्रादेशिक अस्पताल लगिए पनि अस्पतालले भर्ना नगरी फर्काएको वडाध्यक्ष चौधरी बताउँछन्।

‘अस्पतालमा ठाउँ छैन् भनेर फर्काइएको थियो, त्यसपछि संक्रमितलाई क्वारेन्टिनमै अरु मानिसभन्दा छुट्टै राखेका छौँ’, वडाध्यक्ष चौधरीले नेपालखबरसँग भने। संक्रमण पुष्टि भएका बिरामीलाई राखिएपछि क्वारेन्टिनमा बसेका अन्य मानिस त्रसित भएका छन्। सो क्वारेन्टिनमा अहिले २० जना रहेको वडाध्यक्ष चौधरीले बताए।

प्रयाप्त स्वास्थ्यकर्मी नहुँदा संक्रमितलाई दिनहँु चेकजाँच गर्न नसकिएको उनले गुनासो गरे। संक्रमितको अवस्था सामान्य रहेको धनगढी उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुम्भराज शर्माले बताए। उता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले संक्रमितमा कुनै लक्षण नदेखिएकाले स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकालाई टेकेर अस्पतालमा भर्ना नगरिएको बताए।

‘लक्षण नदेखिएका बिरामीलाई घरमै आइसोलेसन बस्न सक्ने व्यवस्था गरिएको छ, त्यही अनुसार सुरक्षित तरिकाले आइसोलेसनमा राख्नु भनेर अस्पतालमा भर्ना नगरी पठाइएको हो’, सूचना अधिकारी श्रेष्ठले भने।

धनगढीमा केही दिन अगाडि सञ्चालनमा आएको ५० शय्याको कोरोना अस्पतालमा शय्या खाली रहेकाले दुई संक्रमितलाई पनि त्यहीँ आइसोलेसनमै राख्नुपर्ने स्थानीयले माग गरे। सो अस्पतालमा अहिले २३ जना संक्रमित छन्।

कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका बिरामीहरुलाई घरमै आइसोलेसन राख्ने नीतिअनुरुप नयाँ निर्देशिका जारी गरेको हो। सो निर्देशिकामा घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने कुराहरु उल्लेख छन्। जसमा हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठाको व्यवस्था हुनुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यमार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने, प्रयोग गरेको भाडाहरु सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछि मात्रै प्रयोग गर्ने उल्लेख छ।

यस्तै स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाई गर्ने, व्यक्तिगत सामग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने आदि उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .