ad ad

समाज


कुवेतले यसै सातादेखि नेपाली ल्याइदिने, भाडामा कुरा नमिल्दा यूएईबाट आउन रोकियो

कुवेतले यसै सातादेखि नेपाली ल्याइदिने, भाडामा कुरा नमिल्दा यूएईबाट आउन रोकियो

उजिर कार्की
जेठ २६, २०७७ सोमबार १२:५९,

कुवेतमा अलपत्र परेका नेपालीलाई त्यहाँको सरकारले यसै सातादेखि नेपाल ल्याइदिन थाल्ने भएको छ। कुवेत सरकारले आममाफी दिएका ३ हजार र अन्य नेपालीलाई यसै साताबाट फर्काइदिने कुवेतस्थित दूतावासले जानकारी गराएको छ।

कुवेतबाट बिहीबार वा शुक्रबार पहिलो उडान नेपाल आउने परराष्ट्र स्रोतले जानकारी दियो।

कुवेतले पहिलो चरणमा आममाफी दिएका नेपालीलाई ल्याइदिनेछ। त्यहाँ करिब ३ हजार नेपालीले आममाफी पाएका छन्। उनीहरुलाई घरफिर्ती केन्द्रमा राखिएको छ। यस्तै अरु ५ हजारजति फर्किन चाहेको र उनीहरुलाई पनि त्यहाँका कम्पनीकै खर्चमा फर्काउने व्यवस्था गरिने परराष्ट्र मन्त्रालय स्रोतले नेपालखबरलाई बतायो।

शुक्रबार पहिलो चरणमा दुई देशबाट १ सय ९४ जना नेपाली फर्किएका छन्। अन्य देशबाट भने तत्काल आउने सम्भावना कम देखिएको छ। परराष्ट्र मन्त्रालयले सम्बन्धित देशसँग कूटनीतिक संवाद गरेर कम्तीमा एक उडान गराउन सबै कूटनीतिक नियोगहरुलाई सोमबार पत्राचार गरेको छ।

विदेशमा रहेका नेपालीलाई कसरी फर्काउने भन्ने अन्यौलकाबीच परराष्ट्रले यस्तो पत्राचार गरेको हो। विदेशबाट फर्किनेलाई राख्न होल्डिङ सेन्टर र होटलहरु तयार गरिएपनि फर्काउँदा लागत बढी पर्ने भएपछि समस्या देखिएको छ।

‘कूटनीतिमा सबै कुरा हामीले भनेजस्तो हुँदैन, हामीले निर्णय गरे जसरी नै अहिले हाम्रा नागरिक फर्काउने अवस्था देखिएन, दूतावासहरुलाई कम्तीमा एक उडानको व्यवस्था गरौं भनेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘त्यसको अनुभवले बाँकी के कसरी गर्ने निर्णय हुन्छ।’

यसअघि यूएईबाट पहिलो उडानमा नेपाली ल्याउँदा समन्वय अभाव देखिएको थियो। जसका कारण त्यहाँबाट अर्को उडान आउन सकेको छैन।

यूएईले सोमबार दोस्रो उडान गर्ने तालिका पठाएको थियो। तर फर्किने यात्रुको टिकट र जहाजको भाडादरका कारण सो उडान रोकिएको छ।

यूएईले ८ वटा उडानमार्फत नेपालीलाई फर्काउनका लागि गरिदिने भन्दै पत्र पठाएको थियो।

यूएईका कम्पनीहरुले जहाज चार्टर गरेर फर्काइदिने भएपनि त्यो नेपालले तोकेको प्राथमिकता अनुसार नहुने भएपछि समस्या देखिएको छ।

कम्पनीहरुले दूतावासको सूची अनुसार नभएर आफ्नो कम्पनीका कामदारलाई जहाज चार्टर गरेर पठाउने भएपछि त्यसरी धेरै श्रमिक फर्काउन स्वीकृति नदिने नेपालको तयारी छ।

सरकारले नेपाली जहाजलाई प्राथमिकता दिने भने पनि त्यो नहुने भएको छ। जुन जहाजमा सस्तो पर्छ त्यही प्रयोग गर्ने विकल्प खुल्ला गरिएको छ। यस्तै आफ्नै खर्चमा उतैका कम्पनीले फर्काइदिने भएपछि उनीहरु नेपाली कम्पनीका विमान प्रयोग गर्न बाध्य हुने छैनन्।

यूएईस्थित दूतावासलाई पनि थप छलफल गरेर आफ्नो सूचीअनुसार नै फर्काउन पहल गर्न भनिएको छ। यसअघि यूएईले पीसीआर परीक्षण गरेर मात्रै नेपाली फर्काइदिने भनेको थियो। तर शुक्रबार फर्किएकाको परीक्षण गरिएको थिएन।

खाडीका अरु देश र मलेसियाका राजदूतले पनि कोरोना परीक्षण गरेर मात्रै फर्काउन सम्भव नभएको जानकारी सरकारलाई दिइसकेका छन्। यस्तै आफ्नो कम्पनीमा कार्यरत श्रमिक फर्काउन ठूला कम्पनीहरु तयार भएपनि हवाई भाडाका कारण समस्या भएको बताएका छन्। चार्टर उडानमा भाडा दोब्बर पर्ने भएपछि ती कम्पनीले नियमित दरमा मात्रै भाडा दिने भनिरहेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले बताएका छन्।

राजदूतहरुले नियमित उडान खोल्न समेत सरकारलाई आग्रह गरेका छन्। राजदूतहरुको आग्रहपछि परराष्ट्रले जसरी सहज रुपमा फर्काउन सकिन्छ, त्यही विकल्प अपनाउन नियोगहरुलाई भनेको छ।

यसअघि यूएई र म्यानमारले पनि उनीहरुकै खर्चमा नेपाली कामदारलाई फर्काइदिएका थिए। युएईबाट १ सय ६८ र म्यानमारबाट २६ जना नेपाली फर्किएका हुन्।

म्यानमारबाट सरकारी खर्च र युएईबाट रोजगारदाता कम्पनीले नेपालीलाई ल्याइदिएको मन्त्रालयले जानकारी दियो। यूएईबाट नेपाली फर्काउन तीनवटा कम्पनीले जहाज चार्टर गरेका थिए।

म्यानमारको जहाजले भने नेपालमा रहेका आफ्ना नागरिक लिन आउँदा त्यहाँबाट फर्किन चाहने नेपालीलाई पनि ल्याइदिएको हो।

हालसम्म ३० देशबाट नेपाली फर्काउनु पर्ने अवस्था आएको परराष्ट्रको भनाइ छ। यी देशबाट फर्कन करिब ५० हजारले आवेदन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .