ad ad

समाज


एम्बुलेन्समा गाँजा र ट्याक्करमा रक्सी तस्करी, पाँच जना पक्राउ

एम्बुलेन्समा गाँजा र ट्याक्करमा रक्सी तस्करी, पाँच जना पक्राउ

नेपालखबर
जेठ २८, २०७७ बुधबार ७:३४,

ठूलो परिमाणमा लागुऔषध गाँजासहित प्रहरीले वीरगन्जबाट तीन जनालाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–२७ रामपुर टोलमा लागुऔषध गाँजा ओसारपसार हुँदैछ भन्ने प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी अधिकृत नेतृत्वको टोलीले गएराति ५६ किलोग्राम लागुऔषध गाँजा र त्यसको ढुवानीमा प्रयोग भएको एम्बुलेन्ससहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१५ का २३ वर्षीय जीतबहादुर वाइवा, सोही ठाउँका २२ वर्षीय दिलबहादुर वाइवा र पर्सा बहुदरमाई नगरपालिका–५ भौराटारका ३२ वर्षीय हरिशंकर महतो रहेको पर्साको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्।

उनका अनुसार ना४च ८५९९ नंको अल्पाइन मेडिकल कलेज (टिचिङ हस्पिटल) सिमरा बाराको एम्बुलेन्स प्रयोग गरी पर्साको बहुदरमाई नगरपालिका–५ भौराट्टार गाउँतर्फ लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको गाँजासहित उनीहरुलाई पक्राउ गरिएको हो।

यसैगरी तेल ट्यांकरमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा विभिन्न ब्राण्डका रक्सीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मौका छोपी तस्करले ना२ख ७३७५ नंको तेलट्यांकरमा विभिन्न ब्राण्डका रक्सी राजश्व छली चोरी निकासी गरी भारततर्फ लैजाँदै गरेको गोप्य सूचनाका आधारमा यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले बुधबार बिहान ६ः३० बजे वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ठूलो परिमाणमा विभिन्न ब्राण्डका रक्सी बरामद गरेको छ।

गोल्डेल ओक क्वाटर साइजको ४८ थान, नेपाल आइस बियर (क्यान) २४ थान, सिग्नेचर क्वाटर साइजको ३३ थान र ८८४८ ब्राण्डको भोड्का क्वाटर साइज २८ थानसहित प्रहरीले उक्त तेल ट्यांकरका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ का ४७ वर्षीय सन्दीप थिङ र सहचालक सोही ठाउँका २२ वर्षृ राधे बुढाथोकी समेतलाई नियन्त्रणमा लिएको छ।

रक्सीसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .