ad ad

समाज


सोतीले विवेक गुमाउँदा एकातिर ६ जना मारिए, अर्कोतिर गाउँ नै बाँधियो

सोतीले विवेक गुमाउँदा एकातिर ६ जना मारिए, अर्कोतिर गाउँ नै बाँधियो

उजिर कार्की
असार २, २०७७ मंगलबार १५:४९,

रुकुम पश्चिमको चौरजहारी ८ स्थित सोती गाउँ यतिबेला सुनसान छ।

मल्ल गाउँका धेरैको नामावली बोकेर जेठ ११ गते बिहानै घरघरमा प्रहरी आइपुग्यो। इलाका प्रहरी कार्यालय चौरजहारीबाट आएका प्रहरीले १० जनालाई त्यही दिन हतकडी लगाए। पछि अरु थपिँदै गए। १२÷१३ घर रहेको सोतीको मल्ल टोलका २२ जना प्रहरीको सूचीमा थिए।

कुनै परिवारका बाबु–छोरा, कुनै परिवारका एक जना मात्रै पक्राउ परे। तर, कुनै घर चोखो रहेन, जसका कुनै सदस्यको हातमा हतकडी लागेको नहोस्।

अघिल्लो दिन अर्थात् जेठ १० गते साँझ जाजरकोटका ६ जना युवाको नृशंस हत्या भएको थियो।

जेठ १० गते साँझ भेरी नगरपालिका ४ का नवराज विक प्रेम सफल तुल्याउन साथीहरुसहित सोतीकी किशोरीको घरतर्फ गएका थिए। तर, नवराजको प्रेम नरसंहारमा गएर टुंगियो।

ती युवाहरु लखेटिए, कुटिए र नदीमा मारिए। भेरीका ६ युवा रहेनन् र फर्किएका १२ युवा पनि चोट बोकेर आए।

नवराजकी प्रेमिका भनिएकी किशोरीको घरका अधिकांश सदस्य गिरफ्तारीमा परे। उनको ७ जनाको परिवारमा किशोरी, उनको दाजु, बुबा र आमासहित चार जना पक्राउ परे। घरमा उनकी भाउजु भदैनी र सानो भाइ मात्र रहे।

नवराज विक र उनका साथीहरुको हत्या अभियोगमा पूरै गाउँ बाँधियो। किशोरीले पछिल्लो समय नवराजसँग सम्बन्ध टुटेको बयान प्रहरीलाई दिएकी छन्।

प्रहरीले तयार गरेको बयानमा धेरैले हत्या गरेको स्वीकारेको उल्लेख छ। अब उनीहरुको बयान अदालतमा पनि हुनेछ। त्यसपछि घटनाको छिनोफानो अदालतले गर्ने नै छ।

तीन महिना लामो लकडाउनले देश नै लड्खडाउन थालेको छ। कोरोना संक्रमणको त्रास र लकडाउनले संसार नै प्रताडित छ। नेपालमा पनि संक्रमण दिनहुँ बढिरहेको छ।

तर, यो चिन्ताले पश्चिम नेपालका यी दुई गाउँलाई छोएको छैन। उनीहरुलाई त्योभन्दा गहिरो पीडाले सताएको छ। भेरी नदीले छुट्याएको दुवै गाउँ अहिले विक्षिप्त छन्।

घटना जातीय कारण हो कि होइन? मृतक सबैलाई कुटेरै मारिएको हो कि होइन? बाहिर बहस चलिरहेको छ।

तर, रुकुमको चौरजहारी ८ सोतीले विवेक गुमाउँदा जाजरकोटको भेरीले नराम्रो चोट बेहोरिरहेको छ।

भेरीका ६ जना मारिए, पूरै गाउँ शोक र आक्रोशमा छ।

सोतीका २९ जना थुनामा छन्। ५ जना भागेका छन्। २९ जनालाई अदालतले थुनामा पठाएको छ। बयान सकिएपछि टुंगो लाग्नेछ उनीहरु मध्ये कति कारागार जालान् र कति गाउँ फर्केलान्!

प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार मल्लगाउँका पुरुषहरु तत्कालै गाउँ फर्किन गाह्रो देखिन्छ। २१ जनालाई आजीवन कारावासको माग गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ।

वडाध्यक्ष नै पक्राउ परेपछि निमित्तको जिम्मेवारी सम्हालेकी देवी खड्का भन्छिन्, ‘गाउँमा कोही पनि पुरुष रहेनन्। बालबच्चा र महिला मात्रै छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .