ad ad

समाज


घरैपिच्छे एक गिलास चामल उठाएर छाक टार्दैछ परिवार, अरुण बाकसमा फर्किए

घरैपिच्छे एक गिलास चामल उठाएर छाक टार्दैछ परिवार, अरुण बाकसमा फर्किए

उजिर कार्की
असार ५, २०७७ शुक्रबार १०:१७,

‘अन्न सकियो घरमा खाने केही पनि छैन,’ सर्लाहीको ईश्वरपुर १४ की कविता कुमारीले कतारमा भएका आफ्ना श्रीमान् अरुणकुमार पजियारसँग भिडियो कलमा गुनासो गरिन्।

अरुणले सान्त्वना दिँदै भने, ‘अब केही दिन पैँचो मागेर खाँदै गर्नू, म घर खर्च मात्रै होइन, ऋण तिर्न पनि पैसा पठाउँछु।’

वैशाख ५ गते साँझ ८ बजेतिरको कुरा हो यो।

अरुणले पनि उता तलब नथापेको चार महिना भइसकेको रहेछ। त्यसैले पैसा पठाउन अझै केही दिन लाग्ने उनले बताएका थिए।

नियमित कुरा भइरहने भएकाले त्यो दिन उनीहरु लामो समय बोलेनन्।

यता अन्न अभाव भएपछि कविताले नै इमोमा कल गरेकी थिइन्।

ईश्वरपुर १४, हरकठुवाको यो परिवारले सधैँ ऐँचोपैँचो लिएर अभाव टार्दै आएको थियो। पछि कमाएर त्यो पैँचो तिरिन्थ्यो।

तर, वैशाख ५ गतेदेखि यो परिवार विकल्पविहीन बनेको छ। ६ गते बिहानै फोन आयो, ‘अरुण सुतेकै ठाउँमा मृत भेटिए।’ उनीसँगै काम गर्ने साथीहरुले खबर गरे।

त्यसपछि परिवारमा रुवाबासी चल्न थाल्यो। गाउँले भेला भए। घर रित्तै थियो, त्यो बिहान अरुणका लालाबालालाई खान दिने अन्न समेत थिएन। यो अवस्था देखेपछि स्थानीयले बोरा लिएर गाउँमा एक गिलासका दरले चामल उठाउन थाले।

अरुणका वृद्ध बुबाको मानसिक सन्तुलन गुमेको छ। परिवारलाई उनको भर छैन। आमा अरुणका छोराछोरी स्याहार्न सघाउँछिन्, बनिबुतोमा हिँड्न सक्ने अवस्था उनको पनि छैन। अरुणकी श्रीमती कविता ८ महिनाकी सुत्केरी हुन्। अरुण विदेश जाने बेलामा उनी ५ महिनाकी गर्भवती थिइन्। उनीहरुका वर्षेनी जस्ता सन्तान् छन्। तीन छोरा र तीन छोरी सबै साना छन्। ठूली छोरी ११ वर्षकी मात्रै भइन्। सानी ८ महिना।

अरुण हुर्किएपछि त्यो परिवारले सहज महसुस गरेको थियो। तर, उनले पनि परिवारलाई उठाउन सकेका थिएनन्।

उनी विदेश जानुअघि एउटा पसलमा चामल ओसार्दिने काम गर्थे। दिनभरि पसलमा काम गरेर बेलुका चामल लिएर आउँथे र यो झुप्रोमा चुलो बल्थ्यो।

104408595_258686671901486_4959125949749955716_n.jpgअरुणको परिवार र उनको झुप्रो

हुन त त्यो झुप्रो भएको जग्गा पनि उनीहरुका होइन। अरुणका मामाले दिएका हुन् छाप्रो बनाउन एक कट्ठा जग्गा। अरुण नजन्मिँदै देखि यो परिवार यहाँ बस्न थालेको हो। अरुण विदेश नजाउन्जेल उनका बुबा पनि ठिकठाकै थिए। बुबाले बनिबुतो गर्थे, अरुण पसलमा काम गर्थे र परिवार पालेका थिए।

तर जुनदिन हात चल्यो, त्यो दिन मात्रै चुल्हो बल्न थालेपछि उनले विदेश जाने सोच बनाए। साँझ बिहान खानकै लागि पनि उनीहरुले गाउँमा धेरैसँग ऋण लिइसकेका थिए। त्यसमाथि अरुणले विदेश जाने बेलामा डेढ लाख रुपैयाँ ऋण थपे, सयकडा चारका दरले।

त्यो पैसामध्ये एक लाख रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाए। ५० हजार रुपैयाँ घरमा आफूले कमाएर नपठाइन्जेल खाँदै गर्नु भनेर छाडिदिए।

२०७६ वैशाख १७ गते अन्तिम स्वीकृति लिएर उनी कतारतर्फ उडे। उनको सम्झौतामा काम ड्राइभर, तलब १९०० कतारी रियाल तोकिएको छ। तर कतार पुगेपछि अरुणले त्यो काम नपाएको बताएका थिए।

‘काम सजिलो छ, झण्डा देखाउनुपर्छ गाडी आउँदा जाँदा भन्नु भएको थियो, तर कमाई ८ सय रियाल मात्रै हुन्छ भन्नुहुन्थ्यो,’ शुक्रबार कविताले नेपालखबरसँग भनिन्। कतारको कम्पनी मिड गल्फ कन्ट्रक्सनमा दुई वर्षको सम्झौतामा गएका अरुण शुक्रबार बाकसमा फर्किए।

बसनियाँबाट विकल्प खोज्दै हरकठुवा सरेको यो परिवारले ठूलो बज्रपात खेप्नु परेको छ। अरुण बितेको खबर आएको दिन गाउँलेले उठाइदिएको चामल बाहेक यतिबेला छाक टार्ने अरु विकल्प नरहेको कविताले सुनाइन्।

शुक्रबार अरुणको सँगै २० वटा शव कतारबाट नेपाल ल्याइएको छ। अरुणको शव घरसम्म पुर्‍याउने व्यवस्था वैदेशिक रोजगार बोर्डले गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .