ad ad

समाज


१२ देशबाट फर्किए ४२ सय नेपाली, २९ जना अस्पताल भर्ना

१२ देशबाट फर्किए ४२ सय नेपाली, २९ जना अस्पताल भर्ना

उजिर कार्की
असार ७, २०७७ आइतबार ९:५७,

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश आउने अनुमति दिएपछि ४ हजार २ सय १७ जना नेपाली फर्किसकेका छन्। जेठ २१ गतेदेखि १२ देशबाट ३२ वटा उडानमा ती नेपाली फर्किएको कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी) ले जनाएको छ।

सरकारले चार्टड उडानमा विदेशबाट नेपाली फर्काउन थालेपछि विभिन्न १२ देशबाट नेपाली फर्किएका छन्। यो संख्या दैनिक बढिरहेको छ।

हालसम्म मलेसिया, बंगलादेश, थाइल्यान्ड, सिंगापुर, कुवेत, साउदी अरब, ओमान, यूएई, कतार, माल्दिभ्स, दक्षिण कोरिया र जापानबाट नेपाली फर्किएका छन्।

असार २३ गते म्यानमारबाट २६ र यूएईबाट १ सय ६९ जना फर्किए। लकडाउन सुरु भएसँग अन्तर्राष्ट्रिय उडान बन्द हुँदा आउन नपाएका र विदेशमा अलपत्र परेका नेपालीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्।

रोजगारीका लागि गएका कतिपयलाई भने कम्पनीले टिकटको व्यवस्था गरेको छ। कुवेतका नेपाली भने त्यहीँको सरकारको खर्चमा फर्किएका हुन्। भागेर काम गरिरहेका, भिसाको म्याद सकिएर पनि नफर्किएका र दलालमार्फत त्यहाँ पुगेका नेपालीलाई आममाफी दिएर कुवेतले फर्काइदिएको हो। यसरी फर्किएका नेपालीलाई कुवेतले जरिवाना समेत छुट गरेको थियो।

विदेशबाट फर्किएका ४ हजार २ सय १७ जनामध्ये सबैभन्दा धेरैलाई प्रदेशको क्वारेन्टिनमा राखिएको छ। सातै प्रदेशले तयार गरेका क्वारेन्टिनमा २ हजार ७ सय ४२ जना पठाइएको छ। उनीहरुलाई १४ दिनपछि घर पठाइने छ। यस्तै आफ्नै खर्चमा होटलमा बस्ने ३ सय १३ जना छन्।

विदेशमै पीसीआर रिपोर्ट लिएकाहरुलाई भने सीधै होम क्वारेन्टिनमा पठाइएको छ। अहिलेसम्म ४ सय ९७ जना होम क्वारेन्टिनमा छन्। स्थानीय तहका क्वारेन्टिनमा ६ सय ३६ पुगेका छन्।

विदेशबाट आएकामध्ये २९ जना अस्पताल भर्ना भएका छन्। यीमध्ये केहीमा कोरोना पुष्टि भइसकेको छ भने अरु शंकास्पद हुन्। केही अन्य गम्भीर प्रकारका बिरामी पनि अस्पतालमा रहेको श्रम मन्त्रालयले जनाएको छ।

त्यस्तै शनिबारसम्ममा विदेशबाट ४१ वटा शव नेपाल ल्याइसकिएको छ।

शुक्रबार कतारबाट २० र शनिबार मलेसियाबाट ११ वटा शव एउटै उडानमा ल्याइएको थियो। हालसम्म फर्किएकाहरु नेपाल सरकारको आर्थिक सहयोगमा फर्किएका होइनन्।

सरकारले उद्धार गर्नैपर्नेहरुलाई ल्याउन कार्यविधि तयारी गरिरहेको छ। कसका लागि कल्याणकारी कोषको रकम खर्च गरेर ल्याउने भन्ने कार्यविधि बनिरहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

विदेशबाट आउनेलाई विमानस्थलमा विवरण संकलन गरेर होल्डिङ सेन्टरमा लगिन्छ। त्यहाँबाट उनीहरुले रोजेअनुसारका ठाउँमा सम्बन्धित निकायसँगको समन्वयमा नेपाली सेनाले पु¥याउने व्यवस्था गरिएको छ।

तर विदेशमा एक हप्ताभित्रमा कोरोना परीक्षण गरेकाहरुलाई सीधै घर पठाउने गरेको छ। सरकारले भारतबाहेकका देशबाट ४७ हजार फर्किने अनुमान गरेपनि त्यो संख्या घट्न सक्ने अनुमान गरेको छ।

पहिलो चरणमा फर्किन ४७ हजारले आवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .