ad ad

समाज


सुदूरपश्चिममा कोरोना संक्रमणः सय पुग्न २ महिना, हजार पुग्न १५ दिन

सुदूरपश्चिममा कोरोना संक्रमणः सय पुग्न २ महिना, हजार पुग्न १५ दिन

गोकुल जोशी
असार ७, २०७७ आइतबार १३:१०,

चैत २२ गतेसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका थिए। तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए।

वैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो। चैत मसान्तसम्म अलि अलि बढेको संक्रमण त्यसपछि एक महिना भन्दा बढी समय शून्य जस्तै भयो। फेरि पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीब्र बनेको छ।

लकडाउनको बीचमा भारतबाट नेपालीलाई स्वदेश फर्काउन थालेपछि जेठ महिनायता सुदूरपश्चिममा संक्रमण तीव्र बन्यो। जेठ २४ गतेसम्म प्रदेशभर सय संक्रमित रहेकोमा अहिले बढेर हजार नाघेको छ। सुदूरपश्चिममा पछिल्लो दुई साताको अवधिमै संक्रमित संख्या हजार नाघेको हो।

गत चैत १४ गते दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवकमा कोरोना भाइरस संक्रमणको पहिलो केस फेला परेको थियो। त्यसयता चैत्र महिनामा केहीमा संक्रमण देखा परे पनि २०७७ को वैशाखतिर संक्रमित शुन्य भएको थियो। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पहिलो सय नाघ्न दुई महिला भन्दा बढी लाग्यो।

तर दुई साताको अवधीमै संक्रमितको संख्या हजार नाघेको छ। जेठ २४ गते शनिबार प्रदेशभरमा संक्रमित संख्या सय पुगेको थियो। असार ७ गते आइतबारसम्म आइपुग्दा यो संख्या दिन दुई गुणा रात चार गुणा भएको छ। आइतबार ७६ जनामा संक्रमण पुष्टि भएसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आइतबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाडौंमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा भएको परीक्षणमा डोटीका दुई महिला, १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुरामा तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २९, डोटीका ५, कञ्चनपुरका ३, बाजुरा, बैतडी र डडेल्धुराका २/२ जना संक्रमण पुष्टि भएको थियो। प्रदेशमा कोरोना संक्रमित ५ जना बिरामीको मृत्यु भएको निर्देशनालयले जनाएको छ।

१ सय ३४ जना उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन्। भारतबाट पछिल्लो समय लाखौँ मानिस भित्रिएकाले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने विज्ञहरुको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .