ad ad

समाज


यी सामान्य गल्तीले हुन्छ भिडियो बैठकमा अनधिकृत घुसपैठ

यी सामान्य गल्तीले हुन्छ भिडियो बैठकमा अनधिकृत घुसपैठ

यज्ञराज जोशी
असार ९, २०७७ मंगलबार १२:३९,

कोरोना भाइरसका कारण धेरै मानिसहरु एक ठाउँमा जमघटमा गर्न नमिल्ने भएपछि विभिन्न भिडियो एपहरुको प्रयोग बढ्दो छ।

नेपालमा विभिन्न संघसंस्थाका बैठक, स्कुलका कक्षा, पत्रकार सम्मेलन, टेलिभिजन कार्यक्रमहरुमा पनि पनि जुमलगायत भिडियो सफ्टवेयर प्रयोग हुँदै आएका छन्।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहभागी भएको पर्यटन बोर्डको भर्चुअल कार्यक्रममा अश्लील भिडियो बजेपछि यस्ता एप कति सुरक्षित भन्ने विषयमा बहस सुरु भएको छ।

सूचना प्रविधि (आईटी)को क्षेत्रमा काम गर्ने विज्ञहरुहरु यस किसिमको समस्या पटक पटक दोहोरिनुमा प्रयोगकर्ता स्वयमको दोष धेरै देख्छन्। सही तरिकाले प्रयोग गर्न नजानेर तथा सुरक्षाका सामान्य उपाय पनि नअपनाउँदा अनधिकृत घुसपैठ हुने गरेको उनीहरुको तर्क छ।

नेपालमा इन्टरनेट सेवा प्रदायक तथा बैंकिङ क्षेत्रमा आईटी सेक्युरिटी कन्सल्टेन्टका रुपमा काम गरिरहेको संख्या क्रिप्टोजेन नेपालका प्रमुख आईटी अडिटर अशोक गुरुङले सफ्टवेयर प्रयोगका सामान्य कुरामा ध्यान नपुर्‍याउँदा यस्ता समस्याहरु दोहोरिने गरेको बताए।

‘सुरुमा त सफ्टवेयर किनेरै चलाउनुपर्‍यो। किनेको सफ्टवेयरमा सुरक्षाका उपाय पनि हुन्छन् र बेलाबेला रिभ्यु अपडेट पनि हुन्छन,’ गुरुङले नेपालखबरसँग भने, ‘अर्को भनेको बैठक आयोजकलाई सफ्टवेयरसम्बन्धी ज्ञान हुनुपर्‍यो। बैठक उसको नियन्त्रणमा हुनुपर्‍यो।’

किनेर चलाएको सफ्टवेयरलाई कम्पनीले नियमित रेगुलेट गर्ने भएकाले त्यहाँ समस्या आउन नदिन उनीहरुको तदारुकता हुने उनले बताए। तर, निशुल्क पाइने र अनधिकृत रुपमा प्रयोग भएका सफ्टवेयरमा कम्पनीको निगरानी नहुने भएकाले त्यसमा ह्याकरहरुको पहुँच बढी हुने गुरुङको भनाइ छ।

‘सफ्टवेयर कम्पनीको पनि अनुसन्धान टिम हुन्छ। आफ्नो सफ्टवेयरको विश्वसनीयता कायम राख्न उसले २४ सै घण्टा काम गरेको हुन्छ,’ गुरुङले भने, ‘यसक्रममा कुनै खराबी देखियो या कसैले अनाधिकृत प्रवेश खोज्यो भने कम्पनीले तत्काल त्यसलाई रोक्छ र आफ्ना ग्राहकलाई सुरक्षित बनाउँछ।’

जुम कति सुरक्षित?
गुरुङले जुम या अरु कुनैपनि सफ्टवेयर कहिल्यै पूर्ण रुपमा सुरक्षित नहुने बताए। जति सुरक्षित बनाएपनि ह्याकरले कहीँ न कहीँ ‘लुपहोल’ खोज्ने भएकाले सुरक्षाका लागि प्रयोगकर्ता नै सचेत हुनुपर्ने बताए।

‘जुम आफैँमा नराम्रो चाहिँ छैन। हामीले आधिकारिक, सुरक्षित ढंगबाट चलाउनुपर्‍यो,’ गुरुङले भने, ‘बैठक आयोजकले सूचीबाहेकका अन्य व्यक्तिलाई प्रवेशमा रोक लगाउनुपर्ने, सहभागीहरुको संख्या पुगेपछि मिटिङ लक गर्ने, वक्ताबाहेक अरुको भिडियो र अडियो बन्द गर्ने लगायत विषयमा ध्यान पुर्‍याउनुपर्छ।’

‘मिटिङमा एउटा नाम गरेको मान्छे सहभागी हुँदैछ भने उसको स्थानमा अर्को मान्छे छिर्नुभएन। त्यो कन्ट्रोल आयोजकका हातमा हुनुपर्छ,’ गुरुङले भने, ‘सामान्य कुराहरु मेन्टेन गर्नसक्दा धेरै किसिमका खराब क्रियाकलापहरु नियन्त्रण गर्न सकिन्छ।’

गुरुङले सही ढंगबाट प्रयोग नभए व्यक्तिगत विवरणहरु दुरुपयोग हुनसक्ने खतरा पनि औँल्याए। यदि ह्याक गर्न सकिने जुममा प्रयोग भएको इमेल आइडी र पासवर्ड बैंक तथा अन्य स्थानमा प्रयोग भएका छन् भने त्यहाँसम्म ह्याकरको पहुँच हुनसक्ने उनले बताए।

गुरुङ र उनको कम्पनीले गण्डकी प्रदेशका साइबर अपराधको अनुसन्धानमा संग्लन हुने प्रहरी अधिकारीहरुलाई समेत प्रशिक्षण दिइसकेको छ।

उनले नेपालमा अझै परिपक्व ढंगले साइबर सेक्युरिटीमा काम नभएको अनुभव सुनाए। बैंक तथा वित्तीय क्षेत्रले राष्ट्र बैंकको प्रावधानका कारण वर्षेनि सेक्युरिटी अपडेट गर्ने गरेका छन्। अन्य क्षेत्रमा भने साइबर सुरक्षा कमजोर रहेको उनको ठम्याइ छ।

‘नेपालमा कुनैपनि सफ्टवेयर कहाँबाट आएको हो? त्यसको सोर्सकोडको रिभ्यु भएको छ कि छैन? त्यो प्रयोग गर्दा कम्प्युटर तलमाथि पारिएको छ कि छैन भनेर सुरक्षा मापन नै गरिन्न,’ गुरुङले भने, ‘सामान किन्दा सेक्युरिटी पहिचान नगर्दा र बेलाबेला अपटेड नगर्दा त्यहाँ ह्याकरको पहुँच बढेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .