ad ad

समाज


मन्त्री र नेताले जस्तापाताको आश्वासन मात्रै दिए, हावाहुरीपीडित वर्षातका बेला पनि खुला आकाशमुनि

मन्त्री र नेताले जस्तापाताको आश्वासन मात्रै दिए, हावाहुरीपीडित वर्षातका बेला पनि खुला आकाशमुनि

शैलेन्द्र महतो
असार १२, २०७७ शुक्रबार ५:३५,

गएको १२ वैशाखामा हावाहुरीसँगै आएको असिनापानीले धनुषाको बट्टेश्वर गाउँपालिका १ र ३ का सयौँ घरमा क्षति पुग्यो।

असिना पानी र हावाहुरीबाट भएको क्षतिको अवलोकन गर्न गाउँमा नेता, मन्त्री, सांसद, गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिघि पुगे। हावाहुरी पीडितको गाउँमा गाडीको लस्कर लाग्यो।

त्यतिबेला पुर्वमन्त्री रघुवीर महासेठ, प्रदेशका आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोज सिंह कुश्वाहा, नेकपाका प्रदेश सांसद शत्रुधन महतो, बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतसहित रेडक्रसका पदाधिकारीसमेत गाउँ पुगेरै पीडितलाई आश्वास दिए।

उनीहरुले घरघरमा पुगेर पीडितलाई चाँडै जस्तापाताको छानोको व्यवस्था गर्ने भन्दै चिन्ता नगर्न आग्रह गरे। लस्करै पुगेका मन्त्री र नेताले सान्त्वना दिँदै पीडितसँग फोटो खिचाए। दुईसाता भित्रै जस्तापाता र त्रिपाल दिने आश्वासन बाँढे। ‘जनताको नेता’ बनेर सस्तो लोकप्रियता पनि कमाए।

तर, अहिलेसम्म पीडित परिवारले नयाँ छानो त परै जावस् एउटा त्रिपाल पनि पाएका छैनन्। मध्य वर्षातको बेला पीडित परिवार पानी चुहिने झुपडीमा कष्टकर जीवन विताउन बाध्य छन्।
दुई सातासम्म पनि जस्ता पाता नपाएपछि सामथ्र्य भएकाहरुले छानो टालटुल पारे पनि ज्याला मजदुरी गरी खाने गरिब तथा विपन्न परिवार अझै चुहिएको छानो भित्र कष्टकर जीवन व्यथित गर्न बाध्य छन्।

‘असिनाबाट क्षति भएकै भोली पल्ट ठूला ठूला नेता, मन्त्री, सांसद, गाउँपालिका अध्यक्ष आए। चाँडै छानोको व्यवस्था गर्छौ भन्दै घर हेरेर फर्कैका थिए। तर दुई महिना बित्दा पनि आजसम्म उनीहरुले ओत लाग्ने एउटा त्रिपाल समेत दिएनन्,’ वर्षामा भिजेरै गुजारा गरिरहेकी चित्रपुरकी सुमित्रा देवीले भनिन्, ‘पैसा छैन कहाँबाट छानो हाल्नु? लगातारको वर्षाले घर पनि ढल्न लागेको छ।’

वर्षाको बेलामा पुरै घर चुहिँदा उनले छोराछोरीलाई ओत लाग्न छिमेकको घरमा पठाउने गरेकी छन्। उनको घर अहिले पूर्ण रुपले हिलाम्य छ। काठको पुरानो खम्बाले ठड्याएको उनको घर कतिबेला ढल्ने हो, ठेगान छैन।

चार छोराछोरी र पतिसहित बस्दै आएकी सुमित्रा वर्षा आउनसाथ भयवित हुन्छिन्। असिनाले टालीको छानोमा प्लालै प्वाल परेको छ। एक स्थानीयले दिएको त्रिपालले फुटेको छानोको केही भाग उनले टालेकी छन्।

‘वर्षामा छोराछोरीलाई अरुको घर पठाइदिन्छौँँ,’ उनले भनिन्, ‘नेता मन्त्री सबै आए, ढाँटेर गए। कोहि फर्केर हेर्न आएनन् । गरिबको कोहि हुँदैनन्। के गर्ने जसोतसो बाँच्नै पर्यो।’

स्थानीय राजकुमार महतोले जनताको पीडालाई मजाक बनाउने जनप्रतिनिधिप्रति आक्रोश पोखे। ‘असिना परेकै भोलीपल्ट आएर घर हेर्दै नेता, मन्त्री, सांसद र गाउँपालिका अध्यक्ष हामी पीडित र हाम्रो घरको फोटो खिचे। सामाजिक सञ्जालमा राखे। दुईसातामै जस्तापाताको व्यवस्था गर्छौं भनेका थिए,’ उनले भने, ‘कमिसन पाउने काममा मात्रै यिनीहरुको जाँगर चल्छ। हाम्रीलाई सहयोग गर्दा कमिसन नआउने भयो होला। अनि किन चासो राख्थे?’

असिनापानीले बटेश्वर गाउँपालिकाका सात सय ३६ घरधुरीसहित धनुषाका २१ सय ४४ परिवार प्रभावित भएका थिए। असिना पिडितहरुलाई जस्तापाता दिने मन्त्रीपरिषदबाट समेत निर्णय भइसकेको बताइएको छ। तर गरिब परिवारलाई जस्तापाताकालागि गाउँपालिका अध्यक्ष र जिल्ला प्रशासन कार्यालय उदासिन छ।

जिल्ला विपद व्यवस्थापन समितिले पनि पीडित परिवारलाई जस्तापाता दिने आश्वासन दिएको थियो। अहिले धनुषाका प्रमुख जिल्ला अधिकारी विदामा छन्।

‘यस विषयमा जिल्ला विपद व्यवस्थापन समितिमा केही निर्णय भएको थियो। तर मलाई विस्तृत थाहा छैन। सीडीओ साहेब विदामा हुनुहुन्छ। आएपछि मात्र केहि भन्न सकिन्छ,’ जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले भने।

बट्टेश्वर गाउँपालिका अध्यक्ष राउतले समेत पीडितको छानो हाल्ने विषयमा पहलकदमीमा ढिलाई भएको स्वीकारे। त्यतिबेला उनले अन्य निकायबाट नभए वैशाख भित्रै गाउँपालिकाबाट कुनै उपाय निकालेर चाँडै छानोको व्यवस्था गरिदिने प्रतिवद्धता गरेका थिए।

लकडाउनमा कोरोना रोकथाममै व्यस्त छु भनेर पन्छिदै आएका गाउँपालिका अध्यक्ष राउत अहिले गाउँसभाको तयारीमा छन्। उनले करिब १५ दिनदेखि पीडित परिवारको विषयमा बुझ्न नसकेको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .