ad ad

समाज


सलह ल्याउने हावाबारे मौसम महाशाखाले जारी गर्‍याे विशेष बुलेटिन

सलह ल्याउने हावाबारे मौसम महाशाखाले जारी गर्‍याे विशेष बुलेटिन

नेपालखबर
असार १४, २०७७ आइतबार १५:४२,

आफ्नो अनुमानविपरीत सलह नेपाल भित्रिएपछि यतिबेला सरकारी अधिकारी तीनछक परेका छन् । कृषि मन्त्रालयद्वारा गठित कार्यदलले नेपालमा सलह भित्रिने अवस्था नरहेको भन्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो।

तर शनिबार नेपालको तराईका विभिन्न जिल्लामा सलह देखिएपछि सरकारको अनुमान गलत साबित भएको छ। अहिले कृषिसम्बद्ध सरकारी विज्ञले एकाएक मौसम बदलिएकाले सलह भित्रिएको भन्न थालेका छन्।

उनीहरूको दाबी के छ भने मनसुनमा पूर्वबाट पश्चिम हावा चल्नुपर्नेमा केही दिनदेखि अचानक दक्षिण–पश्चिमबाट उत्तर–पूर्व भएर हावा चलेकाले सलह नेपाल भित्रिएका हुन्। सलह हावा जता चल्छ, त्यतै उड्ने विज्ञ बताउँछन्।

यसै सन्दर्भमा मौसम पूर्वानुमान महाशाखाले पनि चासो देखाएको हो।

पश्चिमी वायुका कारण सलह नेपालमा भित्रिएको भन्ने चर्चा चल्न थालेपछि महाशाखाले आइतबार- ‘यही मिति २०७७।३।१३ शनिबारका दिनदेखि नेपालका केही जिल्लामा सलहको आगमन भएको भन्ने जानकारीमा आएको र सलहको आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यो बुलेटिन जारी गरिएको छ’ भनेर सूचना प्रकाशन गरेको हो।

महाशाखाका अनुसार नेपालमा विगत २-३ दिन देखि मनसुनको अरेबियन शाखाबाट वहने पश्चिमी-दक्षिण-पश्चिमी वायुको प्रभाव छ। साथै मनसुन न्यून चापीय रेखा नेपालनजिक छ।

‘आगामी तीन दिनको हावारवर्षाको पूर्वानुमान’ जारी गर्दै महाशाखाले भनेको छः आज (आइतबार) दक्षिण-पश्चिमी वायुको प्रभाव रहने र भोलि (सोमबार) बाट भने पूर्वी वायुको प्रभाव बढ्ने सम्भावना छ।’

यसको मतलब सलह ल्याउने पश्चिमी वायु भोलिबाट हट्ने सम्भावना मौसमविद्ले व्यक्त गरेका हुन्।

महाशाखाले जारी गरेको तीन दिनको हावाको दिशा र वर्षाको पूर्वानुमान यस्तो छः

असार १४ गते (आइतबार)
हावाको दिशा (औसत): दक्षिण–दक्षिण पश्चिमी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति (अधिकतम): (३०–४०) किमि प्रतिघण्टा

वर्षाः धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा

असार १५ गते (सोमबार)
हावाको दिशा (औसत): दक्षिण पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति (अधिकतम): (३५–४५) कि.मि प्रतिघण्टा

वर्षाः धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा

असार १६ गते (मंगलबार)
हावाको दिशा (औसत): पूर्वी

जमिनको सतहभन्दा १० मि. माथिको हावाको गति (अधिकतम): (३५–४५) किमि प्रतिघण्टा

वर्षाः केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा 

याे पनि:  पश्चिमी वायुकै कारण सलह भित्रिएको हो भने ‘भोलिदेखि कमजोर हुँदैछ यो’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .