‘शिक्षण अस्पतालमा एउटा शव छ, त्यसलाई लैजानु पर्यो,’ शुक्रबार बिहान उनलाई प्रहरीबाट फोन आयो।
आफन्त कोही नभएका एक जना वृद्ध बिरामी भएको खबर आएपछि उनी ललितपुरको लुभु पुगेकी थिइन्। ती वृद्धलाई वीर अस्पतालमा भर्ना गरेर उनी र उनका साथीहरु शिक्षण अस्पताल पुगे।
त्यसपछि एक वर्ष पहिले ज्यान गुमाएका एक पुरुषको शव लिएर उनी पशुपति पुगिन्। दागबत्ती पनि उनैले दिइन्।
उनले दागबत्ती दिएको यो २३ औँ बेवारिसे शव थियो।
उनी अर्थात्, सपना मगर। जो बेवारिसे शवका वारिस बनेकी छन्।
कुनै बेला यी युवती बुटवल र पोखराका सडकमा मृत्युसँग संघर्ष गरिरहेकी हुन्थिन्। घर, पढाइ सबैथोक छोडेर उनी सडकमा बरालिएकी थिइन्। तर आज उनी आफैँ सहाराविहीनलाई सहारा दिएर उदाहरणीय बनेकी छन्।
म्याग्दीको बरङ्जाकी सपनाले २०७३ सालमा गाउँकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिएकी थिइन्। त्यसपछि गाउँ छाडेकी उनी सदरमुकाम बेनीमा कक्षा ११ मा भर्ना भइन्।
घर छाडिसकेपछि दैनिकी बदलियो। साथी संगत फेरियो।
‘त्यसपछि म खराबसंगतमा फसिसकेको रहेछु,’ सपना सम्झिन्छन्, ‘त्यसैले मलाई सडकमा पुर्यायो।’
बाबु–आमा र दाजु–दिदीले भनेको नमान्दा घर परिवारसँग सम्बन्ध बिग्रियो। जोसँग सम्बन्ध बन्यो त्यो दिगो भएन।
केही समय बुटवल बसिन्, केही समय पोखरा। यी सडक चहार्दा चहार्दै जीवनले आत्मविश्वास गुमाइसकेको थियो।
‘मेरा लागि सडक बाहेक ठाउँ थिएन, सडकको जीवन कति काट्ने? म हारिसकेकी थिएँ, कोसिस गरेर पनि आत्महत्या गर्न सकिनँ,’ सपना भन्छिन्।
आज उनी ती दिनलाई फर्केर हेर्छिन्, अनि लाग्छ, ‘म त्यही सपना हो र!’
उनलाई पछुतो लाग्छ।
‘तिम्रो उमेर सानै छ, पढ अरु कुरा छाडिदेऊ’ भन्ने दिदीसँग उनको बोलचाल नै बन्द भएको थियो।
त्यतिबेला दिदीले उनलाई गाली गरेकी थिइन्। उनले ठानिनन् आफ्नो भलो चिताएर दिदीले यो भनिरहेकी छन्। उनलाई त लाग्यो परिवारले उनको खुसी देख्न सकेन।
दाजु, दिदी विदेशमा। घरमा एक्ली छोरी सपना।
‘बुबा आमाले भनेको पुर्याइदिन्थे, त्यही भएर म मात्तिएछु,’ सपना भन्छिन्।
तर, अहिले जीवनप्रति उनको आशा फर्किएको छ। आमा बुबासँग नियमित कुराकानी हुन्छ। घर जाँदा पनि राम्रो गर्छन्।
‘अब एउटै धोको छ, सबैको मन जितेर गाउँ जान्छु अनि धित मरुन्जेल रुन्छु,’ सपना भन्छिन्।
सुरुसुरुमा बेवारिसे शव व्यवस्थापनमा काम गर्न उनी डराउँथिन्।
पाँच महिनाअघि उनी पहिलो पटक विनयजंग बस्नेतसँग शिक्षण अस्पतालको शवगृह पुगेकी थिइन्।
‘पुराना लास डरलाग्दा देखिन्थे, तान्दा हातगोडा चुँडिएर आउँथे,’ उनी भन्छिन्, ‘त्यो देखेर म रुँदै बाहिर निस्किएँ। हरर मुभीको दृश्य आँखै अगाडि भयो।’
त्यो दिन उनले केही गर्न सकिनन्। तर, विनयले उनलाई सम्झाए, हिम्मत दिए। विनयले नै अरु ठाउँमा पनि सँगै लिएर जान थाले। त्यसपछि सपनाको आँट बढ्दै थयो। जसका कोही छैनन् उनीहरुलाई दागबत्ती दिनु भाग्यको कुरा हो भन्ठानिन्।
गएको पाँच महिनामा उनले २३ वटा बेवारिसे शवको अन्त्येष्टि गरिसकिन्।
उनीहरुले दाहसंस्कार गर्ने प्रायः शव एक वर्ष पुराना हुन्छन्।
सडकमा भेटिएका शव प्रहरीले अस्पताल लैजान्छ। पोस्टमार्टम गरेर शवगृहमा राख्छ र कोही आफन्त आइहाल्छन् कि भनेर पर्खन्छ। तर एक वर्ष कटिसकेपछि पनि आफन्त सम्पर्कमा नआएमा दाह संस्कारका लागि सपनाको टोलीलाई जिम्मा दिन्छ।
आफैं गाडी लिएर पुग्छन् उनीहरु। अनि लैजान्छन् पशुपति। आफैं दागबत्ती दिन्छन्, अनि सन्तानको कर्म पूरा गर्छन्।
गत साता एकै पटक ६ वटा शवको अन्त्येष्टि गर्नु पर्ने भयो। सपना आफ्नो टोलीसँग त्यहाँ पुगिन्। जहाँ १६/१७ वर्षकी किशोरीको शव थियो। सँगै झन् कम उमेरकी अर्को किशोरीको शव पनि।
त्यसले सपनालाई नराम्ररी झस्कायो। आफ्नो विगत सम्झाइदियो। मन थाम्न सकिनन्।
सोचिन्, ‘मैले बाटो नबदलेको भए आज मेरो यही हालत हुन्थ्यो।’
तर, आज आफ्नो जीवन बदलिइसकेको छ भन्ने महसुस हुँदा उनलाई असल काम गर्ने थप प्रेरणा प्राप्त हुन्छ।
प्रतिक्रिया