२०६३ पुस २० गते। रातिको ९ बज्न लागेको थियो। सीतापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातीकाजी सुवेदीका परिवार खाना खाएर आ–आफ्नो कोठामा गइसकेका थिए।
एक्कासी कसैले ढोका ढकढकाए। नातीकाजीकी श्रीमती सानु सुवेदी बाहिर निस्किएर हेरिन्। कोही पनि देखिएनन्। उनी भित्र पसिन्, फेरि ढोका ढकढक्याए। आफ्नै मिलमा काम गर्ने दुई जना कामदार अलिपर लुकेर बसिरहेका रहेछन्।
सर्लाहीका जयकिशोर साह र बाँकेका प्रताप रानाले सानुमाथि खुकुरी प्रहार गर्न थाले। एउटाले मुख बन्द गरिदिए। नातिकाजी निस्किए उनीमाथी पनि खुकुरी प्रहार गरे।
उनीहरुले सुवेदी दम्पतीको हत्या गरे।
उनीहरुका जेठा छोरा विलभ सुवेदी पनि बाहिर निस्किए। उनीमाथी पनि खुकुरी र छुरी प्रहार गरे। उनको पेटबाट हानेको छुरी ढाडबाट निस्कियो। १५ वर्षीय विलभ त्यहीँ ढले। त्यसपछि विलभ मरे भनेर साह र राना छाडेर हिँडे।
विलभले आँखै अगाडी बाबुआमाको मृत्यु भएको देखे। उनीहरुको हत्या गर्ने मान्छे नदेखेपछि उनी बाहिर निस्किन कोसिस गरे अरुलाई खबर गर्न। तर, त्यसपछि उनी कहाँ ढले उनलाई नै थाह भएन।
विलभका १२ वर्षीय भाइ दूर्लभ भने यो सबै देखेर ढोका बन्द गरेर भित्र बसेछन्।
उनलाई हत्याराले छुन सकेनन्। बेहोस् विलभलाई वीर अस्पतालमा लगियो। १३ दिन आइसीयूमा राखेर बाहिर निकालियो। बाबुआमाका हत्याराले मर्यो भनेर छाडिदिएका विलभ अस्पतालबाट निको भएर फर्किए।
बाबुआमाको हत्यापछि उनीहरुका हजुरबुबा र हजुरआमा पनि मोरङको डाँगीहाटबाट काठमाडौं आए। नातीहरुसँगै तीन वर्ष बसेर उनीहरु फर्किए। त्यसपछि दाजुभाइ मात्रै सीतापाइलास्थित घरमा बस्न थाले।
विलभले बाबु आमाका हत्यारालाई अनुहारले चिन्थे। तर उनीहरुको विवरण भने केही पनि थिएन। प्रहरीले उनीहरुमाथी अनुसन्धान त्यतिबेलैबाट थालेको थियो। तर पक्राउ गर्न सकेको थिएन। उनीहरु भारत भागेछन्।
याे पनि: यसरी १४ वर्षपछि पक्राउ गरियो दम्पती हत्याका फरार मुख्य अभियुक्त
प्रहरीसँग उनीहरुको पहिचान गर्ने केही प्रमाण थिएन। विलभलाई नै लिएर प्रहरी उनीहरुको गाउँ पुग्यो। सोधीखोजी गर्दा उनीहरु दुवै जना भारतमा बस्ने पत्ता लाग्यो। उनीहरु भारतबाट एक पटक पनि फर्किएका रहेनछन्।
प्रहरीले आफन्तबाट सम्पर्क नम्बर लियो र उनीहरु माथीको अनुसन्धान थाल्यो। उनीहरु लखनउमा बस्दै गरेको थाह भयो। दुई वर्षसम्म सँगै काम गरेका साह र राना त्यसपछि छुट्टाछुट्टै बस्न थालेको प्रहरीले पत्ता लगायो।
भारतकै आधारकार्ड लिएर उनीहरु त्यहीँ बसेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख डीआईजी सहकुल थापाले बताए।
हत्या अभियुक्त मध्येका जयकिशोर साहलाई सीआईबीले लखनउबाट पक्राउ गरेर नेपाल ल्याएको छ। तीनदिन पहिले लखनउमा पक्राउ परेका साहलाई आइतबार बाँकेको सीमाना हुँदै काठमाडौं ल्याइएको हो।
तर हत्याका अर्का अभियुक्त प्रताप राना अझै फरार छन्। साहलाई सोमबार सीआईबीले सार्वजनिक गरेको छ।
बाबुआमाका हत्यारा सार्वजनिक कार्यक्रममा विलभ र उनका भाइ दूर्लभ पनि उपस्थित थिए।
विलभले भने, ‘पैसा लाने तर काम नगर्ने गरेका कारण बुबाले गालि गर्नुभएको रहेछ। त्यही रिसले हत्या गरेका हुन्। मलाई पनि मर्यो भनेर छाडिदिएका रहेछन्, भाइ ढोका बन्द गरेर कोठा भित्रै बसेकाले बाँच्यो।’
प्रहरीले साहलाई नेपाल प्रहरी स्वयम्भू वृत्त मार्फत मुद्दा चलाउने तयारी गरेको छ।
Shares
प्रतिक्रिया