ad ad

समाज


‘प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत तर प्रमाणित होइन’

‘प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत तर प्रमाणित होइन’

वाशुदेव मिश्र
असार ३०, २०७७ मंगलबार १२:३४,

राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले नेपाल र भारत तरंगित हुँदा केही विद्धानहरुले भने प्रधानमन्त्री ओलीको अभिव्यक्ति तर्कसंगत भएको जिकिर गरेका छन्।

पूर्वीय दर्शनका ज्ञाता एवं मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार मुकुन्द शरण उपाध्यायले प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत भए पनि प्रमाणित भने नभएको बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीले तर्कका आधारमा रामाको जन्मभूमि अयोध्याका बारेमा आफ्नो भनाइ राखेको भन्दै यसको खोज तथा अनुसन्धान गर्नुपर्ने बताए।

‘उहाँ (प्रधानमन्त्री)ले तर्कबाट भन्नुभएको छ। प्रमाण खोज्न त रामायणहरु अध्ययन गरेर खोज्नुपर्छ’, उनले नेपालखबरसँग भने, ‘वाल्मीकि आश्रम र जनकपुरभन्दा धेरै टाढा अयोध्या थिएन।’

उनले अयोध्याबाट रामले सीतालाई बाल्मीकि आश्रम छाड्नलाई बिहानै पठाएको र लक्ष्मणले त्यहाँ छाडेर अयोध्या फर्केको घटनाले यो धेरै टाढा थिएन भन्ने पुष्टि हुने बताए।

‘रामले जब सीतालाई वाल्मीकि आश्रममा लगेर छाड भनेर लक्ष्मणलाई पठाए नि, पठाउँदा बिहानै जाऊ, उज्यालो भएपछि लैजाँदा सहरबासीहरु थाहा पाउछन् भनेपछि, महारानी सीतालाई लिएर लक्ष्मण जंगलतिर गए, त्यहाँ छाडेर आफ्नो दरबारमा आइपुगे’, उनले टेलिफोनमा नेपालखबरसँग भने,‘ भनेपछि त वाल्मीकि आश्रम त त्रिवेणीमा छ। अब त्रिवेणीबाट फर्केर आउँदा मिल्ने त नजिकैको ठाउँ हुनुपर्‍यो। त्यो हिसाबले तर्कले उहाँ ( प्रधानमन्त्री ओली) ले भन्नुभएको हो। तर, यसको अनुसन्धान हुनुपर्‍यो। प्रमाणित गर्नुपर्‍यो।’

उनले त्रिवेणीमा वाल्मीकि आश्रम रहेको कुरा भारतले पनि मानेको जिकिर गर्दै वाल्मीकि आश्रम पनि नजिक पर्ने, मिथिला पनि नजिक पर्ने ठाउँमा अयोध्या नै हुनुपर्ने तर्क पनि गरे।

‘त्यहाँ रापती भन्ने खोला छ, सौराहामा। रापतीका दुईवटा भंगाला छन्। एउटा भंगालालाई रेउ खोला भन्छन्, अर्कोलाई राप्ती खोला भन्छन्। ती दुबै गएर कालीमा अर्थात् नारायणीमा मिसिन्छन्’, उनले भने, ‘रेउ खोलाको नाम प्राचिनकालतिर संस्कृतमा सरेयू रहेछ कि? सरेयू सरेयू भन्दाभन्दै ‘स’ हराएर ‘रेउ’ भएको पो हो कि? त्यहाँ रेउ भन्ने ठाउँ पनि छ।’

प्रधानमन्त्री ओलीले अनुसन्धानअघि नै बोल्दा बढी हल्लखल्ला भएको उनले स्वीकारे।‘प्रधानमन्त्रीले तर्कका आधारमा भने पनि अलिकति हतारजस्तो देखियो अहिलेलाई’, उनले भने, ‘हरेक कुरामा डिप्लोम्याट तरिकाले जानुपर्छ। अहिले हाम्रो सरकारले डिप्लोम्याट तरिकाले जाने कुरामा गरेको छ कि छैन भन्नेबारे मलाई थाहा छैन।’

उनले भारतसँग नेपालको मतभेदलाई भने दूर्भाग्यपूर्ण भएको टिप्पणी गरे। ‘मोदीजीले त आफू प्रधानमन्त्री हुनासाथ नेपाललाई चिनाउँछु भनेर महत्व दिएर ४–४ पटक नेपाल आए नि त। उनलाई के–के कुरामा फसाइएजस्तो लाग्छ, त्यहाँ पनि उनका विपक्षी छन्। विपक्षीहरुले कताकता के गर्छन्। उहाँहरुको पनि सीमा हुन्छन्। आ–आफ्नो शक्तिको कुरा हुन्छ’, उनले भने, ‘मोदीले नेपाललाई महत्व दिएर ४/४ पटक आएकाले उनी नेपाललाई सकारात्मक रुपले हेर्ने व्यक्ति हुन् भन्न सकिन्छ।’ 

चौतारोमा बसेर गफ चुट्ने जेष्ठ नागरिकलाई जस्तो छुट प्रधानमन्त्रीलाई छैन : कवि तीर्थ श्रेष्ठ

कवि मुकुन्द शरणले प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत भएको बताए पनि पोखराकै प्राज्ञिक व्यक्तित्वहरुले भने प्रधानमन्त्रीको अभिव्यक्ति नसुहाउँदो भएको टिप्पणी गरेका छन्। अध्यात्म, दर्शन, साहित्यमा रुचि राख्ने तथा राजनीतिक चेत भएका कवि तीर्थ श्रेष्ठले प्रधानमन्त्रीसँग अप्रामाणिक कुरा बोल्ने छुट नभएको बताएका छन्।

कवि तीर्थ श्रेष्ठ

‘दिन काटन गाह्रो भएर गाउँको चौतारीमा बसेर गफ हाँकिरहेका ज्येष्ठ नागरिकलाई झैं गफ गर्ने छुट पक्कै छैन’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै पनि देशको प्रमुख कार्यकारीको वाणी भनेको मुलुकको वाणी हो। त्यसलाई अमुक व्यक्तिको निजी धारणा वा बिचार भनेर पन्छिन मिल्दैन। त्यसैले सत्ताको शिखरमा बसेकाले बोल्दा धेरै सोंच विचार गरेर प्रामाणिक कुरा बोल्नु पर्छ।’

उनले प्रधानमन्त्री ओलीले राम जन्मभूमि अयोध्याका सम्बन्धमा व्यक्त गरेको विचार नेपाल–भारतबीचको सम्बन्धमा थप जटिलता उत्पन्न गराउन सहायक हुने खालको रहेको दावी गरेका छन्। ‘उहाँको विचारलाई उपेक्षा नगर्ने हो भने पनि सम्भावनाको खोजी गर्ने र प्रमाणित गर्ने काम उहाँकै नेतृत्वको सरकारको होइन र?’, प्रधानमन्त्रीमाथि प्रश्न गर्दै कवि श्रेष्ठ थप्छन्, ‘अप्रमाणिक कुरा गरेर स्थितिलाई थप जटिल बनाउनु बुद्धिमानी हुन सक्दैन। प्रधानमन्त्री ओली किन यस्ता बोली बोल्नुहुन्छ? के यो सुविचारित हो? वा आफू सर्वज्ञानी भएको दम्भ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .