ad ad

कारोबार


उद्योग महासंघमा चुनावी सरगर्मी : किन प्यानलसहित आए चन्द्र ढकाल?

उद्योग महासंघमा चुनावी सरगर्मी : किन प्यानलसहित आए चन्द्र ढकाल?

दीपक भट्ट
असार ३०, २०७७ मंगलबार १२:३५,

उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आगामी साउन २६ र २७ गते हुँदै छ।

चैतमा हुनुपर्ने महासंघको साधारणसभा कोरोना संक्रमणसँगै भएको लकडाउनले रोकिएपछि निर्वाचनको नयाँ मिति घोषणा गरिएको थियो। उक्त मिति नजिकिँदै गर्दा व्यवसायीहरुको निर्वाचनको माहोल पुनः तातेको छ।

महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ। विधानमै यस्तो व्यवस्था भएका कारण अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन्।

सोही कारण वरिष्ठ उपाध्यक्ष पदलाई लिएर निर्वाचनको माहोल तात्नथालेको हो। यो पदमा व्यवसायीद्वय चन्द्र ढकाल र किशोर प्रधान आमनेसामने हुँदै छन्। तर उनीहरु दुईबाहेक पनि जोडिने गरी निर्वाचनको माहोल बनिरहेको छ।

चार महिनाअघि नै वरिष्ठ उपाध्यक्षमा दाबेदारी घोषणा गरेका उपाध्यक्ष ढकालले मंगलबार प्यानल नै घोषणा गरेका छन्।

chandra ummedwari 4
ढकालकाे प्यानल। 

उनको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन्।

त्यस्तै किशोर प्रधानले पनि प्यानल निर्माणको काम सम्पन्न गरिसकेको छन्। उनले कुपण्डोलमा आफ्नो प्यानलको सम्पर्क कार्यालय समेत खोलिसकेका छन्। उनको प्यानल आधिकारिक घोषणा हुन भने बाँकी छ। तर प्यानलमा बस्ने पदाधिकारीहरुको टुङ्गो लागिसकेको छ।

प्रधानको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा मेडिकल कजेल व्यवसायी दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा सौरभ ज्योति छन्। एक/दुई दिनमा नै उनीहरुको प्यानल घोषणा हुँदै छ।

यसअघिका चुनावमा महासंघ अध्यक्षको लागि माहोल तात्थ्यो तर अहिले वरिष्ठ उपाध्यक्षका लागि प्यानल विभाजनसहित उम्मेदवारी घोषणाले तताएको छ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बनेपछि शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए। उनको पालामा पनि पूरै प्यानल निर्माण भएको थिएन।

तर योपटक भने पदाधिकारी मात्रै होइन, केन्द्रीय सदस्यहरु समेत प्यानल प्यानलमा देखापर्ने भएका छन्।

shekhar golcha 2
शेखर गाेल्छा

कसरी सुरु भयो प्यानल निर्माणको कसरत?
यो वर्ष निर्वाचन हुँदै छ भनेपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था खारेज गर्ने गरी विधान संशोधनको कुरा गत वर्षदेखि नै उठ्यो। त्यसको मारमा शेखर गोल्छा पर्ने भए। पछि विधान संशोधन यतिकै सेलायो र मौजुदा व्यवस्थाले नै निरन्तरता पायो।

गोल्छाको अध्यक्षता सुनिश्चित भइसकेकोले जुन प्यानलले जिते पनि काम उनैसँग मिलेर गर्नुपर्छ। अतः यो निर्वाचनमा गोल्छा सबैको साझा देखिनुपर्ने थियो।

तर उनी अहिले आफ्नो पूर्व निर्वाचन प्रतिस्पर्धी किशोर प्रधानलाई साथ दिँदै छन्। सोही कारण आफूले प्यानल बनाएर उम्मेदवारी घोषणा गरेको ढकालले बताए।

chandra ummedwari 1
चन्द्र ढकाल

‘स्वाभाविक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षका रुपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुनेछ’, प्यानलसहित उम्मेदवारी घोषणा गर्दै मंगलबार गोल्छाबारे ढकालले भने, ‘मैले यो मञ्चबाट शेखरजीलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौं? त्यसको मर्मलाई अहिले कसले मार्दै छ? त्यो केका लागि?’

ढकालले चार महिनाअघि नै आफूले गोल्छाको नेतृत्वमा एउटा व्यावसायिक र गतिशील टिम बन्ने बताएको स्मरण गर्दै यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई नभई एक र एक जोडेर एघार बन्ने बताएको समेत उल्लेख गरे।

याे पनिः 
यसकारण मैले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा प्यानलसहित उम्मेदवारी घोषणा गरेँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .