ad ad

समाज


बढुवा डीआईजीको, परीक्षा आईजीको

बढुवा डीआईजीको, परीक्षा आईजीको

उजिर कार्की
असार ३१, २०७७ बुधबार १४:४१,

असार २५ गते प्रहरीको नेतृत्व सम्हालेका महानिरीक्षक शैलेश थापा क्षेत्री यतिबेला एआईजी बढुवाको परीक्षामा छन्। उनी आईजी भएपछि र अर्का एआईजी तारिणीप्रसाद लम्सालले अवकास पाएपछि प्रहरीमा दुई एआईजी रिक्त छन्।

रिक्त एआईजीमा सरकार र शक्ति केन्द्रका फरक–फरक इन्टे«स्ट देखिएका छन्। तर आईजी क्षेत्रीले आफ्नो नेतृत्वमा रहेका ८० हजार प्रहरीलाई सन्तुष्ट पार्नसक्ने नतिजा दिनुपर्नेछ।

थापा आफैं पनि शक्तिकेन्द्रको स्वार्थभन्दा संगठनको उचित मूल्यांकनका कारण सर्वोच्च पदमा पुगेका प्रहरी हुन्। जसलाई शक्ति केन्द्रका अनेक स्वार्थबीच संगठनले जोगायो। त्यसैले यतिबेला उनले संगठनलाई न्याय दिन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न महत्वपूर्ण बनेको छ।

रिक्त एआईजी संख्या दुई मात्रै छ। बढुवामा चार डीआईजीको नाम चर्चामा छ। विगतमा सत्ताले हस्तक्षेप गर्दा प्रहरी नेतृत्व पनि बदनाम भएका छन्। तर थापा गत चैतमा एआईजी बढुवा हुँदा होस् वा असार २३ मा आईजी बन्दा निर्विवाद र सर्वस्वीकार्य बने।

यही थितिलाई निरन्तरता दिनसक्नु उनका लागि चुनौती बनेको छ, जसको सुरुवात ठाकुर ज्ञवालीबाट भएको थियो।

डीआईजीमध्ये निरज शाही र प्रद्युम्न कार्की वरियतामा अगाडि छन्। उनीहरु अन्यभन्दा सेवा प्रवेश नै अगाडि गरेका हुन्। उनीहरुसँगै बढुवाको लबिङमा छन्, विश्वराज पोख्रेल र सहकुल थापा। यदि उनीहरु माथि गए र अगाडिका छुटे भने आईजीपी थापालाई प्रहरीमा अनुशासन कायम राख्न नसकेको आरोप लाग्नेछ।

‘आईजीको मूल्यांकन गर्ने बेला नै यही हो, हामीले पनि नजिकबाट हेरिरहेका छौं, ८० हजार प्रहरीलाई उहाँले कमान्ड गर्न सक्नुहुन्छ कि सक्नुहुन्न, यसैबाट थाहा हुन्छ,’ पूर्वडीआईजी रमेश खरेल भन्छन्, ‘यदि उहाँले व्यावसायिक र सिनियर प्रहरीलाई प्रोमोसन दिन सक्नु भएन र जुनियर आए भने फोर्स कमान्ड गर्ने नैतिकता गुमाउनुहुन्छ।’

‘यति ठूलो संगठन चलेको भनेकै चेन अफ कमान्डका कारण हो। त्यो कायम भएन भने प्रहरी नेताको घर, शक्तिकेन्द्रदेखि दलालका घरघर चहार्न थाल्छन्,’ खरेलले थपे, ‘सिपाहीदेखि नै दौडिन थाल्छन्। नेतृत्वले संरक्षण गर्न सक्दैन भने उसले भनेको किन मान्ने भन्ने हुन थाल्छ।’

त्यसो त प्रहरीमा क्षमताको पनि कुरा हुन्छ। ऐनले डीआईजीमध्यबाटै एआईजी बढुवा गर्ने अधिकार दिएको छ। तर वरिष्ठ खराब भए मात्रै कनिष्ठलाई ल्याउनुपर्ने एकाथरीको तर्क छ।

तर, सत्तामा रहेकाहरुले जहिले पनि ‘एसम्यान’ खोज्ने गरेको खरेल बताउँछन्।

‘भ्रष्ट शक्तिले आफूप्रति लोयल हुने र कानुनभन्दा आफ्नो आदेश मान्ने मान्छे खोज्छ। सत्ताका यस्तै स्वार्थका कारण प्रहरीमा बेलाबेला हस्तक्षेप गरेर भद्रगोल बनाइएका उदाहरण छन्,’ उनले भने।

अर्का पूर्वडीआईजी बढुवामा शक्तिकेन्द्र हावी भए प्रहरी अधिकारीले तिनकै स्वार्थमा काम गर्ने बताए।

‘दण्डहीनता संगठनभित्रै बढ्छ, विभागको स्वार्थमा भन्दा जुन शक्तिका कारण बढुवा भएका छन् त्यतैको स्वार्थमा काम गर्न थाल्छन्। संगठन ध्वस्त हुन्छ,’ उनले भने।

यसअघिका एआईजी बढुवामा वरिष्ठता कायम राख्न सफल भएकै कारण ठाकुर ज्ञवालीको वाहवाही भयो।

‘आजसम्म आफूभन्दा तल रहेको मान्छे गलत तरिकाले माथि गयो भने उसलाई किन मान्ने भन्ने हुन्छ। प्रहरी अधिकृतकै बीचमा द्वन्द्व देखिन थाल्छ,’ ती पूर्वप्रहरी भन्छन्।

यसअघिका आईजीपी सर्वेन्द्र खनाल पूरै कार्यकाल आन्तरिक द्वन्द्वमा फसे। उनी आईजी हुनासाथ दोस्रो वरियतामा रहेका डीआईजी रमेश खरेलले राजीनामा दिए। अर्का एआईजी पुष्कर कार्कीसँग पनि उनको सम्बन्ध राम्रो रहेन।

त्यसअघि पनि यस्तै भयो। प्रकाश अर्याल आईजीपी भएपछि नवराज सिलवालले राजीनामा दिए। जुन विषय नै अदालतसम्म पुग्यो। सर्वेन्द्रको अवकाससँगै ट्रयाकमा आएको प्रहरीले लिक छाड्छ छाड्दैन भन्ने एआईजी बढुवाले निधो गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .