कास्कीको माछापुच्छ्रे गाउँपालिकामा शुक्रबार बिहान खसेको पहिरोमा पुरिएर एकै घरका तीन किशोर-किशोरीको मृत्यु भएको छ।
माछापुच्छ्रे ८ को खोराकोमुखस्थित पाखा निवासी प्रेमराज विकको घर बिहान पौने ६ बजे पहिरोले बगाउँदा उनका दुई जना नाति र एउटी नातिनीको मृत्यु भएको हो। ज्यान गुमाउनेमा १६ वर्षीय कुशल र १४ वर्षीय समिर तथा १६ वर्षीया रेजिना विक रहेका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए।
सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका छन्। घरभन्दा दुई सय मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो। ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिरोले बगाएको वडाध्यक्ष दवाडीले बताए।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरे। प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठ सहितको टोली घटनास्थल पुगेको छ। घटनास्थल पोखराबाट उत्तर पश्चिम २० किमीको दूरीमा पर्छ।
Shares
प्रतिक्रिया