ad ad

समाज


भारतबाट ‘कन्ट्रयाक्ट किलर’ बाेलाएर श्रीमतीको हत्या

भारतबाट ‘कन्ट्रयाक्ट किलर’ बाेलाएर श्रीमतीको हत्या

वाशुदेव मिश्र
साउन १, २०७६ बुधबार १०:२८,

पाेखरामा एक ब्यक्तिले अबैध सम्बन्ध लुकाउन पेशेवर हत्यारा प्रयाेग गरी आफ्नै श्रीमतीकाे हत्या गरेका छन्।

साली नाता पर्ने एक युवतीसँग सम्बन्ध जोडिएपछि पेशेवर हत्यारा लगाएर आफ्नै श्रीमतीको हत्या गर्ने व्यक्तिलाई कास्की प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

पोखरा–१५,कान्तिपुरचोकमा बस्दै आएका ३३ वर्षीय रमेश नेपालीले आफ्ना केही साथीको सहयोगमा भारतबाट हत्यारा बोलाएर गएको असार १ गते आफ्नै श्रीमती २७ वर्षीया लक्ष्मी नेपालको हत्या गरेका हुन्। प्रहरीका अनुसार उनी विगत एक वर्षदेखि नाताले साली पर्ने २९ वर्षीय अनु नेपालीसँग सम्बन्धमा थिए।

सो सम्बन्धबारे श्रीमतीले थाहा पाएपछि उनकी प्रेमिकाले नै रमेशसँग दिदीलाई  ‘साइड लगाउन’ आग्रह गरेकी थिइन्। अनुको आग्रहमा रमेशले पोखराको पृथ्वीचोकमा मोवाइल पसल संचालन गर्दै आएका सर्लाही ईश्वरपुर–तिनघरिया स्थायी घर भएका २६ वर्षीय चित्राञ्जन साह र भोजपुर–५ घर भई पोखराको महेन्द्रपुलमा मोवाइल पसल गर्ने ३२ वर्षीय संजय शर्मासँग एक जना आइमाईललाई मार्नु पर्‍यो, सहयोग चाहियो भनेका थिए।

अभियुक्तहरुका अनुसार रमेशले मानुपर्ने व्यक्ति आफ्नै श्रीमती भएको साथीहरुलाई समेत भनेका थिएनन्। उनले ‘मान्छे मारे राम्रो पैसा आउँछ’चाहिँ भनेका थिए। रमेशको आग्रहमा साहले भारत पुगेर ३ जना पेशेवर हत्यारा खोजेका थिए। पेशवर हत्याराहरु जेठ ३१ गते पोखरा आए।

उनीहरुलाई पोखरामा एक होटलमा राखियो। होटलमा राखेपछि मारेर फाल्ने ठाउँको खोजी भयो। उनीहरुले पोखरा–२२ को कर्कले भन्ने ठाउँको जंगलमा लक्ष्मीलाई लैजाने र मार्ने योजना बनाए। योजना अनुसार रमेशले पेशेवर हत्यारालाई पेश्कीस्वरुप १ लाख रुपैयाँ दिए। उनीहरुलाई पहिल्यै जंगलमा पठाइयो।

रमेश भने खुट्टामा एलर्जी भएकी श्रीमतीलाई ‘जाऊँ घाउमा लगाउने जडिबुटी खोजौँ’ भन्दै जंगल लिएर गए। जंगलमा केही जडिबुटी खोजेजस्तो पनि गरे। त्यस्तैमा उनले अकस्मात मलाई पिसाब लाग्यो तिमी खोज्दै (जडिबुटी ) घर भनेर आफू अर्के तिर लागे। त्यत्तिकैमा पहिल्यै जंगललमा लुकेका पेशेवर हत्याराले सलले मुख बाँधेर, घाँटी रेटेर लक्ष्मीको हत्या गरे अनि शब लुगासहित पुरेर हिँडे।

हत्यापछि रमेशले ५ लाख रुपैयाँ हत्यारालाई दिए र बाँकी ४ लाख साहमार्फत पछि दिने भनेर हिँडे। पेशेवर हत्यारा आफ्नो बाटो लागे। रमेश भने आफ्नी श्रीमती हराएको उजुरी बोकेर बिलौनागर्दै जिल्ला प्रहरी कार्यालय पुगे। उनले श्रीमती खोजिदिन सार्वजनिक संचारमाध्यमसँग आग्रह पनि गरे।

पछि लक्ष्मीकी आमाले पनि हराएकी छोरी खोज्न प्रहरीकहाँ निवेदन दिइन्। गहिरो अनुसन्धानमा लागेको प्रहरीले हत्यामा श्रीमानकै संलग्नता भएको पत्ता लगायो र रमेशलाई असार २५ गते पक्राउ गर्‍यो।

‘पक्राउपछि पोल खोल्यो, हत्या रमेशले नै गरेको हो।’ बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले भने।

अहिले रमेशसहित साह र शर्मा थुनामा छन्। हत्यामा संलग्न भारतीयहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

आत्महत्या, बलात्कार बढ्दो

कास्की प्रहरीले बितेको एक वर्षमा १ सय २८ जनाले आत्महत्या गरेको जनाएको छ। आत्महत्या हतास मानशिकताको उपज भए पनि आत्महत्याको बढ्नुलाई प्रहरीले गम्भीर रुपमा लिएको बतायो।

‘आत्महत्या बढ्नुमा सामाजिक कारणहरु हुनसक्छन्, हाम्रो समाज कता जाँदैछ भन्नेबारे अब हामीले अनुसन्धान गर्नुपर्ने भएको छ’, कास्की प्रहरी प्रमुख कार्कीले भने,‘ यो सामाजिक अध्ययनको विषय पनि हो।’ उनले बलात्कार,ज्यामार्ने उद्योगसहित लागूऔषध दुव्र्यसनका घटना बढ्दै गएकोमा प्रहरी सचेत भएको उनले बताए।

कास्की प्रहरीको नयाँ अभियान कास्की प्रहरीले केही नयाँ योजनाहरु पनि सार्वजनिक गरेको छ। प्रहरीले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएका तर गम्भीर प्रकृतिका अपराध नगरेकाहरुलाई यही महिनाबाट सामाजिक सेवामा लगाउन थालेको छ।

प्रहरीका अनुसार अहिलेसम्म करिब १ दर्जन व्यक्तिहरुलाई सुधारको लागि सामाजिक काममा लगाइएको छ। उनहरुलाई बृद्धाश्रमलगायतका ठाउँमा सेवा गर्न पठाइएको प्रहरीले जनाएको छ  यसैगरी,लामो दूरीमा चल्ने सार्वजनिक सवारी चालकहरुलाई छुट्ने समयमा मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गर्ने, यात्रुहरुलाई यात्राको क्रममा सावधानी अपनाउन आग्रह गर्ने एवं लागूऔषध दुव्र्यसनीहरुलाई आत्मबल बढाउँदै ‘ म गर्न सक्छु’ भन्ने अभियान पनि चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताए।

‘लागूऔषध दुव्र्यसनीलाई दुव्र्यसन छाड्न सक्छु भन्ने बनाउने र उनीहरुलाई गाली गरेर, कारवाही गरेर हैन कि आत्मबल बढाएर सुधार्ने हाम्रो लक्ष्य हो’, उनले भने, ‘कम्तिमा यो अभियानबाट १० प्रशितत मात्रै सफलता मिल्यो भने पनि ठूलो कुरा हुन्छ।’ समुदाय प्रहरी साझेदारी, पीडितको घरमै पुगेर उनीहरुको पीडा सुन्ने कामको सुरुवात पनि गरिएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .