ad ad

समाज


अपहरणपछि भान्जाको हत्या : फिरौती आफै लिए, प्रहरीमा उजुरी दिएर भागे

अपहरणपछि भान्जाको हत्या : फिरौती आफै लिए, प्रहरीमा उजुरी दिएर भागे

उजिर कार्की
साउन ४, २०७७ आइतबार ९:४८,

काठमाडौंको कमलादीमा ११ वर्षीय बालकको शव फेला पर्‍यो। सो शव सडकको छेउमा थुपारिएको फोहोरसँगै प्लास्टिकमा प्याक गरिएको थियो।

२०६४ असोज २७ गते शव भेटिएको ठाउँमा प्रहरीसँगै पुगेका थिए, ती मृतक बालकका मामा राजेश गुप्ता।

राजेशले ५ दिन पहिले नै भान्जा अपहरणमा पर्दा प्रहरीलाई खबर गरेका थिए। प्रहरी कार्यालयमा पुगेर जाहेरी पनि उनैले दिए।

तर १३ वर्षपछि कथा उल्टियो। उनै राजेशलाई प्रहरीले घरमै पुगेर समात्यो। अपहरणपछि भान्जाको हत्या गरेर उनी भागेर भारतमा बस्दै आएका थिए।

२०६४ असोज २४ गते घरबाटै अपहरणमा परेका बालक रोहितको शव कमलादीमा फेला परेको थियो।

राजेश गुप्ता धर्मपथमा डेरा गरेर बस्थे। भारतको बिहार राज्य, सितामणी जिल्ला मुजफ्फरपुर घर भएका ११ वर्षीय रोहितका परिवार न्युरोडमा कपडा पसल थियो। उनीहरु खिचापोखरीमा बस्थे। रोहित राई स्कुल जोरपाटीमा कक्षा ७ मा पढ्थे।

त्यही साँझ साढे ८ बजे अपरिचित व्यक्तिले टेलिफोन गरे। बालकका बुवा बासुदेव गुप्तालाई फोनमा भनियो, ‘छोरो अपहरणमा परेको छ, २ लाख ५० हजार रुपैयाँ फिरौती रकम दिएमा मात्रै छाड्दिन्छौं।’

त्यो पैसा आफ्नै सालो राजेशलाई दिएर पठाउनु भनी टेलिफोनमा भनिएको थियो।

तर फिरौतीपछि पनि बालक छुटेनन्। परिवारले खोजतलास गरिरहेको थियो। २७ गते साँझ बालकको शव आफन्तले सनाखत गरे।

राजेश गुप्ताले काठमाण्डौं खिचापोखरीमा कोठा भाडामा लिई पसल सञ्चालन गरेका थिए। उनको पसलमा धादिङका विष्णु सुनार पनि काम गर्थे। उनीसँग मिलेर बालकलाई जादु सिकाउने भनी लगिएको थियो।

सुनार पक्राउ परेपछि बल्ल प्रहरीले हत्यासम्बन्धी रहस्य र विवरणहरु पत्तालगाउन थाल्यो।

‘कोठामा लगेपछि हात पछाडी लगी माईला भन्ने बिष्णु सुनारले नाइलनको डोरिले घाँटिमा बाँधे,’ प्रहरी अनुसन्धानमा खुल्योे, ‘कस्दा रोहित चिच्याउन थाले, राजेशले रुमालले मुख थुने, दुबैले घुँडाले थिचेर रोहितको निर्मम रुपमा हत्या गरे।’

छोरालाई अपहरणमुक्त गर्नका लागि वासुदेवले सालो राजेशलाई नै दुई लाख रुपैयाँ दिएका थिए।

दुई लाख रुपैयाँ लिएर गएका राजेशले भिनाजु वासुदेवलाई भनेका थिए, ‘थानकोटस्थित त्रिभुवन पार्कमा लगेर पैसा दिएँ। तर ट्याक्सीमा आएका ३ जना अपरिचित व्यक्तिले रकम लिएर भागे।’

उता भान्जा छुटाउन भिनाजुलाई सहयोग गरिरहेको नाटक गरिरहेका राजेशले कोठामा भान्जाको शव बोरामा पोको पारे।

भरिया बोलाएर व्यापारको खुद्रा सामान हो भन्दै कमलादी नजिक सडकमा फ्याक्न लगाएको प्रहरी अनुसन्धानमा खुल्यो।

शव फालिसकेपछि उनी भिनाजु बासुदेवसँगै प्रहरी कार्यालय पुगे। प्रहरी कार्यालयमा गएर उनीहरुले खोजतलासका लागि जाहेरी दिए।

भान्जा छुटाउन ढिला गरेको भन्दै प्रहरीसँग उनै राजेश झोकिन्थे।

प्रहरीले घटनाको अनुसन्धान गर्दै गयो। राजेश भने केही समयपछि छठ मनाउन भन्दै भारत फर्किए।

प्रहरीले मंसिर १२ गते धादिङको थाक्रेबाट विष्णु सुनारलाई पक्राउ गर्‍यो।

उनी पक्राउ परेसँगै खुल्यो घटनामा राजेशको संलग्नता। दुई लाख रुपैयाँका लागि राजेशकै योजनामा बालक अपहरण गरेको विष्णुले बयान दिए।

फरार सूचीमा रहेका राजेशलाई भारतबाटै प्रहरीले पक्राउ गरेर शनिबार नेपाल ल्याएको हो। ४५ वर्षीय राजेशलाई प्रहरी अपराध महाशाखाले आइतबार सार्वजनिक गरेको छ।

भारत मुजफ्फरपुर नगर थाना आखाडाघाटका राजेश भान्जाको हत्यापछि उतै बस्दै आएका थिए।

आइतबार नै म्याद थपका लागि उनलाई अदालत लगिने महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .