छोराछोरी पढाउन ६ वर्ष पहिले तेह्रथुमबाट काठमाडौं सरेको एउटा परिवार अहिले कपनको डेराबाट विस्थापित भएको छ। परिवारका ४ सदस्यमध्ये आमाको ज्यान गयो, हत्या अभियोगमा बाबु जेल परे भने किशोरवयका छोराछोरी दुवै अरुको शरणमा पुगेका छन्।
यो कथा हो भीमबहादुर र सीता लिम्बुको परिवारको। र, यो परिवारको दुर्दशा सुरु भएको थियो डेढ महिनापहिले।
जेठ १६ गते मजदुरी गरेर भीमबहादुर डेरामा फर्किए। उनी रक्सीले मात्तिएर आइपुगेका थिए। डेरामा उनकी पत्नी सीता पनि रक्सीले लट्ठ थिइन्। त्यसको ६ महिना पहिले गम्भीर बिरामी भइसकेपछि डाक्टरले सीतालाई रक्सी छाड्न भनेका थिए। परिवारले पनि उनलाई रक्सी नखान कडाइ गर्दै आएका थिए। उनको उपचारमा ठूलो रकम खर्च भएको थियो।
तर सीताले त्यसपछि पनि रक्सी छाडिनन्। लुकेर पनि खान थालिन्। यही विषयमा भीमबहादुर र सीता बारम्बार झगडा गरिरहन्थे। जेठ १६ गते राति झगडाले उग्र रुप लियो।
भीमबहादुरले पत्नीलाई कुटपिट गरे। झगडापछि उनी छोरासँग छुट्टै कोठामा गएर सुते। कुटपिटबाट घाइते भएकी सीतालाई बिहान मात्रै भीमबहादुरले अस्पताल पुर्याए।
चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स् अस्पतालमा सीतालाई डाक्टरले मृत घोषित गरे। उनको शरीरभरी निलडाम र चोट थिए। अस्पतालले पोस्टमार्टमपछि यही रिपोर्ट दियो।
भीमबहादुरविरुद्ध हत्या अभियोगमा बौद्ध प्रहरीमा जाहेरी दर्ता भयो। किटानी जाहेरीपछि भीमबहादुरलाई श्रीमती हत्या अभियोगमा प्रहरीले पक्राउ गर्यो।
सीताका माइती पक्षले भीमबहादुरले नै कुटेर हत्या गरेको बयान दिए। छोराछोरीले झगडा भएको र आमाले रक्सी खाएका कारण घटना हुन पुगेको बताए। घटनासँग सम्बन्धित सबैसँग बयान लियो र असार २९ गते अदालतले भीमबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्यो।
‘अभियोग दाबी बमोजिमका कसूरदार होइनन् भनी विश्वास गर्नसक्ने मनासिव आधार तत्काल प्राप्त प्रमाणबाट विद्यमान देखिएन। पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाललाई सिधा खान पाउने गरी स्थानीय कारागारमा थुनामा राख्न पठाइदिनू,’ आदेशमा भनिएको छ।
आमाको मृत्यु र बुबा जेल गएपछि १९ वर्षीय छोरा र १४ वर्षीया छोरी बेसहारा भए। उनीहरुलाई भीमबहादुरले मजदुरी गरेर परिवार पाल्दै आएका थिए। भीमबहादुर जेल गएपछि छोराछोरीको हेरचाह र शिक्षाको अवस्था तथा भविष्य अन्यौलमा देखिएको भन्दै जिल्ला अदालतले उनीहरुको जीविकोपार्जनको व्यवस्था गर्न आदेश दियो।
‘निजहरुको हकमा तत्काल सामाजिक सुरक्षा वा जीविकोपार्जनको उचित व्यवस्था गर्न कुनै संघ, संस्था वा नेपाल सरकारको सम्बन्धित निकायमार्फत निजहरुको उचित व्यवस्थापन हुनु उपयुक्त देखिएकोले निजहरुले मन्जुर गरे जिल्ला सरकारी वकिल कार्यालय र महानगरीय प्रहरी वृत्त बौद्धमार्फत आवश्यक पहल गर्नू,’ थुनछेक आदेशमा भनिएको छ।
सोही आदेशपछि छोरालाई ठूलोबुबाले लगे, छोरीलाई माइती नेपालले लग्यो। सुन्दर सपना बोकेर ६ वर्ष पहिले राजधानी पसेको एउटा परिवारको यसरी वियोगान्त भएको छ।
प्रतिक्रिया