अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाले ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक कर्मचारीलाई पक्राउ गरेको छ।
सिंचाइ विकास डिभिजन कार्यालय कलैया बाराका सवइन्जिनियर गजेन्द्रप्रसाद जैसवाललाई घुस लिएको अभियोगमा पक्राउ गरिएको आयोग क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ।
सवइन्जिनियर जैसवाललाई वडा नं ४ कलैया बजारमा सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरिएको हो। नदीको तटबन्ध जाली लगाउने काम सम्पन्न भएपछि रकम भुक्तानी गरिदिएवापत सेवाग्राहीसँग अवैध रकम मागेको भन्ने विशेष उजुरीका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको बुझिएको छ।
आयोगको टोलीले घुस लिएको देखेपछि सवइन्जिनियर जैसवालले आफ्नो नजीक रहेका चन्दन जैसवाललाई रकम दिई भाग्न खोजेको अभियोग लगाइएको छ। दुवैलाई पक्राउ गरी हेटौंडा ल्याइएको छ। अनुसन्धानपछि काठमाडौं पठाइने आयोग क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ। रासस
प्रतिक्रिया