ad ad

समाज


प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

प्रहरीको ‘अपत्यारिलो अप्रेसन’, सुन र हतियार बुझाएर राजधानीमै गाडीमा भाग्न संभव छ?

उजिर कार्की
साउन १३, २०७७ मंगलबार १३:४६,

मंगलबार बिहान ९ बजे राजधानीको कमलपोखरी चोकनजिक प्रहरी गाडी चेकजाँचमा थियो।

तर बा ६ च ५५१९ नम्बरको स्करपियो गाडी प्रहरीले रोक्न खोज्यो। तर चालकद्वारा गाडी नरोकी झन गति बढाइयो।

गाडीलाई प्रहरीले पिछा गर्‍यो। कमलादीस्थित नबिल बैंक अगाडि सेतो रङ्गको कपडाको झोला फ्याकी गाडी फरार भयो। झोलामा दुई थान अबैध हतियार र पहेंलो धातु भेटियो। त्यो लिएर प्रहरी फर्किए तर गाडीमा रहेका ती संदिग्ध व्यक्ति भने फरार भए।

राजधानीको मुटुमा भएको मंगलबार बिहानको यो घटनाले प्रहरीको क्षमता वा नियतमाथी शंका जन्माएको छ। महानगरको व्यस्त चोकमा भएको यो घटनाबारे प्रहरीका अन्य युनिटले जानकारी समेत पाएनन्।

ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले यस विषयमा ट्राफिकलाई कुनै जानकारी नआएको बताए। सामान्य ट्राफिक नियम उल्लंघन गरेको गाडी रोक्न प्रहरीले उपत्यकाभर तत्काल सर्कुलर गर्छ। तर हतियारसहितका अभियुक्तलाई पक्रिन किन खबर गरिएन भन्ने विषयले आशंका जन्माएको छ।

गतसाता राजधानीकै सितापाइलामा युवतीमाथी एसिड आक्रमण भयो। प्रहरी अपराध महाशाखा र राजधानीका सबै युनिटलाई सर्कुलर गरियो। घटना भएको तीन घण्टा भित्रमा प्रहरीले एसिड आक्रमणमा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भयो।

तर हतियारसमेत भेटिएको सो घटनाबारे अपराध महाशाखाले समेत सुइको पाएन। महाशाखाका प्रमुख दीपक थापाले भने, ‘यो घटनामा हामीलाई जानकारी भएन, परिसरले गरेको होला, के कसो भयो हामीलाई थाहा छैन।’

अभियुक्तले फालेको झोलामा दुई थान चाइनिज पेस्तोल र ३५ थान सुनजस्तै पहेंलो धातु फेला पर्‍यो। सुन भए नभएको एकिन गर्न प्रहरीले सुनचाँदी व्यवसायीबाट परीक्षण गर्‍योे। तर ५ सय ग्रामको एक थान मात्रै सुन भएको पुष्टि भयो।

भिडियाे: 

अरु सुनको जलप लगाएको र भित्र चाँदी रहेको नेपाल प्रहरी काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए।

प्रहरीले सार्वजनिक गरेको मध्य १ केजी लेखिएका ८ थान, २५० ग्राम लेखिएका २६ थान र ५०० ग्राम लेखिएको एक थान थिए। तीमध्ये ५०० ग्रामको मात्रै सक्कली सुन भएको प्रहरीले जनाएको छ।

यो घटना सार्वजनिक भएसँगै यो अप्रेसनले प्रश्न जन्माएको प्रहरीहरु नै बताउँछन्। यो घटनाको बारेमा प्रहरीसँग पर्याप्त जानकारी थियो कि थिएन? सुचना थियो भने प्रहरीले योजना बनाएर त्यही अनुसारको अप्रेसन किन गरिएन भन्ने लगायतका प्रश्न उब्जिएको प्रहरी अधिकारीहरु बताउँछन्।

अभियुक्त सामान र हतियार छाडेर किन भागे, हतियार नै फाल्छ भने उसले केका लागि पेस्तोल बोकेको थियो र गोलिबिनाको पेस्तोल किन बोक्यो भन्ने प्रश्न उब्जिएको ती अधिकारीहरुले बताए।

राजधानीका चोकचोकमा सीसीटीभीहरु राखिएको छ। यी मुख्य चोकमा दिनदहाडै संदिग्ध व्यक्तिहरु गाडीमा भाग्न कसरी संभव भयो भनी प्रश्न उठेको छ।

काठमाडौं परिसर प्रमुख एसएसपी ज्ञवाली भन्छन्, ‘आश्चर्य त हामीलाई पनि लागेको छ, गाडी पहिचान भइसकेको छ, ढिलो चाँडो अभियुक्त पक्राउ गर्छौं।’

पूर्व डीआईजी हेमन्त मल्ल भन्छन्, ‘यो घटनामा भएका कमजोरीबाट सिकेर अगाडी बढ्नुपर्छ र आइन्दा यस्तो कमजोरी गर्नुहुन्न।’

परिसरले फरार अभियुक्तको खोजी भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .