ad ad

समाज


काठमाडौंमा कोरोना महामारी डरलाग्दाे बन्दैछ : स्वास्थ्य मन्त्रालय

काठमाडौंमा कोरोना महामारी डरलाग्दाे बन्दैछ : स्वास्थ्य मन्त्रालय

नेपालखबर
साउन १७, २०७७ शनिबार १७:२३,

 सरकारले जनस्वास्थ्यका सामान्य मापदण्ड पनि पालना नगर्ने तथा कोरोनाप्रतिको बढ्दो हेलचक्र्याइँ आत्मघाती हुनसक्ने जनाएको छ।

लकडाउन अन्त्य भएसँगै सहरी क्षेत्रमा बढ्दो भिडभाड, कोरोनाप्रति झन् संवेदनशील बन्नुपर्ने समयमा सर्वसाधारणले बेवास्ता गरेको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थिति भयावह हुनसक्ने जोखिम देखाएको हो।

स्वास्थ्य जोखिम कायमै रहेको तथा कोरोनाको मात्रामा समेत वृद्धि भइरहेको अवस्थामा अनावश्यक रूपमा नारा जुलुस गर्ने, मास्क नलगाई हिँड्ने, सामाजिक दूरी कायम नगर्ने तथा मलाई केही हुँदैन, अरूलाई नै कोरोना लागेको भन्नेजस्ता मानसिकता नै आत्मघाती हुँदै गएको छ।

यस्तै काम नै नभई घरबाट बाहिर निस्कने, सार्वजनिक सवारीसाधनमा समेत एकै ठाउँमा धेरै जना बस्ने, स्यानिटाइजरको प्रयोग नगर्ने तथा अनावश्यक रूपमा भिडभाड गर्ने प्रवृत्तिले जोखिम बढाउँदै लगेको छ।

पछिल्ला दिनमा कोभिड–१९ संक्रमणको जोखिम कम गर्न सरकार तथा विश्व स्वास्थ्य संगठनले सुझाएका रोकथामका उपायको बर्खिलाप गर्ने गतिविधि बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यस्ता क्रियाकलाप आत्मघाती हुनसक्ने बताएका हुन्।

सरकारले कोभिड–१९ संक्रमण फैलनसक्ने भन्दै २५ भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने निर्णय गरे पनि यो वा त्यो बहानामा एकै स्थानमा धेरै मानिस जम्मा भएको पाइएको उनले बताए। अनावश्यक भिडभाड नगर्न सरकारले बारम्बार अनुरोध गरेपनि विरोध प्रदर्शनका नाममा सडकमा भेला हुने, नारा लगाउने जुलुस तथा प्रदर्शन गर्ने गतिविधिले पछिल्ला दिनमा निरन्तरता पाइरहेका छन्।

‘अझै पनि गोष्ठी, सभा, बैठक, जलुस तथा धार्मिक कार्यक्रम गरेको पाइएको छ, यस्तो नगर्न अनुरोध छ। यो धेरै आत्मघाती हुनसक्छ, कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित नियमित ‘प्रेस ब्रिफिङ’ मा उनले भने।

ठूलो जनघनत्व भएका स्थानमा धेरै जना भेला भएर गरिने जुनसुकै कार्यबाट पनि संक्रमण फैलिएर जनस्वास्थ्यमा ठूलो असर गर्ने सम्भावना उच्च रहेको उनले बताए। राजधानीमा विभिन्न माग राखेर अनशन पनि चलिरहेको छ। यसले समेत थप जोखिम बढाएको छ। सुरक्षाकर्मीसमेत कोरोनाबाट प्रभावित भएका छन्।

त्यसकारण संयमता अपनाउनु नै प्रमुख कर्तव्य हुन जान्छ। कारागार, हिरासत, सुधारगृह तथा पुनःस्थापना केन्द्रजस्ता स्थानमा क्षमताभन्दा बढी मान्छे राख्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै प्रवक्ता गौतमले अहिलेको भौतिक संरचनाको अवस्थालाई हेर्दा ती ठाउँमा भौतिक दूरी गरी कायम गरी राख्न सक्ने स्थिति नभए पनि उचित सावधानी अपनाउन आग्रह गरे।

कोभिड–१९ रोकथाम रोक्नका लागि भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र सफासुग्घर भएर बस्ने नै उपयुक्त विधि भएको बताउँदै उनले दैनिक उपभोग्य वस्तु राम्रोसँग सफा गरी निर्मलीकरण गरी भित्र्याउन र सामाजिक दूरी कायम हुने गरी हिँडडुल गर्न आग्रह गरे।

प्रवक्ता गौतमले अनावश्यक भिडभाड नगर्न, अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन, अनिवार्य रूपमा मास्क लगाउन, साबुनपानीले २० सेकेन्डसम्म मिचिमिची हात धुन स्मरण गराए। पछिल्ला केही दिनयता स्थलमार्गबाट सीमानाका हुँदै नेपाल प्रवेश गरेका व्यक्तिलाई क्वारेन्टिनमा नराखी सीधै घर पठाउने गरेको पाइएको भन्दै उनले कोरोना परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरेर रिपोर्ट नआउन्जेल क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन आग्रह गरे।

विभिन्न सरकारी तथा निजी कार्यालयमा काम गर्ने कर्मचारीले भौतिक दूरी कायम नगरेको, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले पनि स्वास्थ्य सुरक्षाको उपाय नअपनाएको सूचना सरकार समक्ष आएको जानकारी दिँदै उनले जनस्वास्थ्यका मापदण्ड पालनामा कञ्जुस्याइँ नगर्न आह्वान गरे।

‘कतिपयले मास्क नलगाएको, मास्क लगाउँदा पनि ठीक ढंगले नलगाएर च्यूँडोमा लगाएको सूचना प्राप्त भएको छ,’ उनले भने,, ‘ठीकसँग मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र साबुनपानीले राम्रोसँग मिचिमिची हात धुन म पुनः अनुरोध गर्छ।’

राजधानी काठमाडौं प्रवेश गर्नेले पनि स्वास्थ्य सतर्कता नअपनाएको पाइएको छ। विशेषगरी भक्तपुरको नाका भएर काठमाडौं प्रवेश गर्नेमध्ये २४ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै अस्पतालमा कोरोनाका लक्षण भएका बिरामीको संख्या बढेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .