ad ad

समाज


मलेसियामा कुटिएका नेपाली नवलपरासीका, कुट्ने सुपरभाइजरलाई कारबाही नभए कम्पनी कालोसूचीमा

मलेसियामा कुटिएका नेपाली नवलपरासीका, कुट्ने सुपरभाइजरलाई कारबाही नभए कम्पनी कालोसूचीमा

नेपालखबर
साउन १८, २०७७ आइतबार ८:१८,

 मलेसियाको एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले नै कुटपिट गरेका छन्।

नवलपरासीका इश्लाम हुसेनमाथि सोही कम्पनीमा कार्यरत मलेसियन सुपरभाइजर कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ। उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले हुसेनमाथि कुटपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन्।

उता कम्पनीले भने कुटपिटमा संलग्न मलेसियन सुपरभाइजरको बचाऊ गर्दै नेपालीले नै कुटपिट गरेको बताएको छ। नेपालीमाथि नै आरोप लगाएपछि घटनाको थप अनुसन्धान तथा  सोधपुछका लागि कम्पनी सञ्चालकलाई नेपाली दूतावासले झिकाएको छ।

कुटपिटमा संलग्न व्यक्ति पनि नेपाली भगौडा कामदार भएका जवाफ कम्पनीले दूतावासलाई दिएको छ। तर, भिडियोमा देखिएका व्यक्ति मलेसियन सुपरभाइजर भए पनि अरुलाई आरोप लगाएर उम्काउन खोजेको भन्दै कारबाही नभए उक्त कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी वैदेशिक रोजगार व्यवसायी संघले दिएको छ।

यसका लागि मलेसियास्थित नेपाली दूतावासलाई पत्र पठाइसकिएको संघका महासचिव सुजित श्रेष्ठले नेपालखबरलाई बताए। कम्पनीलाई कारबाहीको दायरामा ल्याउनका लागि मलेसियास्थित सेक्युरिटी गार्ड एसोसियसनसँग पनि कुरा गरिसकेको उनको भनाइ छ। ‘दोषीलाई कारबाहीको माग गर्दै हामीले नेपाली दूतावासलाई पत्र पठाइसकेका छौँ’, उनले भने, ‘सो कम्पनीलाई कारबाहीको दायरामा ल्याउनका लागि मलेसियास्थित सेक्युरिटी गार्ड एसोसियसनसँग पनि कुरा गरिसकेका छौँ।’

उनका अनुसार श्रमिकका संगठन पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सहमत छन्।

गत शुक्रबार मलेसियामा नेपालीमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दूतावासले समेत चासो दिएको थियो। दूतावासले उक्त घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोमबार उजुरी दर्ता गराउने तयारी गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए।

‘अभियुक्तको बारेमा अहिले केही भन्न मिल्दैन, कुटाइ खाने व्यक्ति नेपाली नै हुन्। सोमबार सबै विवरण सार्वजनिक गर्छौँ’, राजदूत पाण्डेले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .