ad ad

समाज


कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स

कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स

नेपालखबर
भदौ ३, २०७७ बुधबार ११:५०,

विभिन्न कारणले बासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई उद्धार गरेर सहजै बासस्थान पुर्याउन र समयै उपचार गर्न छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो। यसअघि अन्य सवारी साधनमा उद्धार गरी पोखरा जुओलोजिकल पार्कको उद्धार केन्द्रमा उपचार गरिँदै आइएको डिभिजन प्रमुख रामकाजी श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अब वन्यजन्तुलाई प्राथमिक उपचार व्यवस्थासहितको एम्बुलेन्सले उद्धार गर्ने छ। विशेषगरी कास्की आसपासमा बढी मात्रामा चितुवा शहरी क्षेत्रमा देखिने हुँदा त्यसको उद्धारका लागि छुटै एम्बुलेन्सको व्यवस्था नहुँदा समस्या पर्दै आइरहेको छ। उनले गण्डकीमै त्यस्ता हिंस्रक वनजन्तुलाई डार्टिङ (सुई हानेर बेहोस बनाउने विधि) गर्ने टोली नहुँदा पनि उद्धारमा समस्या हुँदै आएको र सोका लागि काठमाडौं वा सौराहाको टोली झिकाउनुपर्ने बाध्यता रहेको बताए।

गत आर्थिक वर्षमा प्रदेश सरकारले वन्यजन्तु उद्धार केन्द्र तथा पार्क निर्माणका लागि रु डेढ करोड बजेट विनियोजन गरेको थियो। सोही बजेटमार्फत डिभिजन वन कार्यालय कास्कीले रु ४६ लाख लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको श्रेष्ठले जानकारी दिए। उक्त एम्बुलेन्स सञ्चालनको जिम्मा पचभैयास्थित वनजन्य उद्धार केन्द्रलाई दिने तयारी भएको र त्यससम्बन्धी पूर्वाधार र नियम तयार गरेर हस्तान्तरण गर्ने योजना रहेको उनको भनाइ छ।

श्रेष्ठले उद्धारका लागि डार्टिङसहितको टोली तयार गर्ने योजना रहेको बताए।

‘हामी डार्टिङसहितको दक्ष टोली नै तयार गर्ने योजनामा छौं, त्यो जनशक्तिका लागि प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट माग गरेका छौँ।’

उनले वनजन्तु उद्धार केन्द्रको डिपिआरमै डार्टिङ टोलीको पनि व्यवस्था छ भन्ने उल्लेख भएकाले सोही योजनानुसारको जनशक्ति माग गरी परिचालन गर्ने तयारी रहेको जानकारी दिए।

श्रेष्ठका अनुसार डार्टिङ टोली तयार नभइसक्दा प्रयोगविधिअनुसार वन्यजन्तु उद्धार गरिने छ। चितुवाको लागि छुट्टै खोर नै चाहिने र एम्बुलेन्समा सो उपलब्ध भएकाले धेरै सहज हुनेछ। स्कोरपिया गाडीको ढाँचा परिवर्तन गरेर एम्बुलेन्समा ढालिने छ। त्यसमा साइरन, माइक र खोर जडान गरिएको छ। बन्दाबन्दीका कारण डार्टिङ गन र औषधि भने आइपुगेको छैन। उनले डार्टिङसहितका एम्बुलेन्स काठमाडौं र चितवन पछि गण्डकी प्रदेशमा पहिलो भएको जिकिर गरे।

वन्यजन्तु उद्धारका लागि छुट्टै एम्बुलेन्स सञ्चालन भएपछि अब सहज हुने जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेलले बताए। उनले निर्माणाधीन उद्यानमा रहेको वन्यजन्तु उद्धार केन्द्रका लागि थप भएको पूर्वाधारले प्रदेशमै वन्यजन्तु उद्धारमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

कास्कीमा गत वर्ष सात चितुवा उद्धार गरिएको थियो। त्यसमा दुई मृत फेला परेका थिए। डार्टिङसहितको एम्बुलेन्सले विशेष गरी चितुवाको उद्धार र संरक्षणमा बढी सघाउ पुग्ने विश्वास गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .