नेपालभित्र गरिएको कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन)को गुणस्तर निर्धारणका लागि पाँच नमुना विदेश पठाइने भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले नेपालभित्र पहिलो पटक कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरिएको भन्दै त्यसको गुणस्तर निर्धारणका लागि विदेश पठाउन लागेको हो। जसका लागि परिषदले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आग्रह गरेको छ।
'क्वालिटी कन्ट्रोलका लागि विदेश पठाउने तयारीमा छौँ। जसका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई आग्रह गरेका छौं,' परिषदको अनुसन्धान विभाग प्रमुख मेघनाथ धिमालले भने, 'संगठनकै कुनै ल्याबमा यसको परीक्षण हुन्छ। भ्लालिडेसनका लागि १० प्रतिशत पठाउने व्यवस्था भएपनि केही थप गरेर ५ वटा नमुना पठाउने तयारीमा छौं।'
नेपालभित्र पहिलो पटक कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ गरिएको हो।
नेपालले पहिलो चरणमा १५ वटा नमुनाको सिक्वेन्सिङ गरेको हो। काठमाडौंको थापाथलीमा रहेको सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन)का समीरमणि दीक्षितले परिषदले उपलब्ध गराएको १५ वटा नमुनाको अध्ययन अन्तिम चरणमा रहेको बताए। उनले थप दुई सातामा सबै नमुनाको परीक्षण सकिने बताए।
'परिषदले एक सय वटा नमुनाको जिनोम सिक्वेन्सिङ गर्ने भने पनि हामीलाई उपलब्ध गराएको १५ वटा नमुनाको सिक्वेन्सिङको काम अन्तिम चरणमा छ,' दीक्षितले नेपालखबरसँग भने, 'परिषदले एक सय वटा परीक्षण गर्ने जनाएको छ।'
यसअघि पनि सीएमडीएनले अन्य विषयमा जिनोम सिक्वेन्सिङ गरेको थियो।
जिन सिक्वेन्सिङको बहुआयामिक प्रयोग हुने भएपनि नेपालमा गरिने परीक्षणमा सबैभन्दा पहिले यहाँ देखिएको कोरोना भाइरस अन्य देशसँग के कति मेल खान्छ वा फरक हुन्छ भनेर हेरिने छ। यस्तो अध्ययनले नेपाली संक्रमित भएको भाइरसको उत्पत्ति मात्रै नभएर यसले ल्याउने सक्ने जटिलताको बारेमा पनि महत्वपूर्ण जानकारी दिनेछ।
नेपालमा कोरोना भाइरसको प्रमुख स्रोत भारत, खाडी राष्ट्र, युरोप तथा चीन हुन्। गत जेठको चौथो साता संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको भाइरस बढी खतरनाक भएको बताएपछि उनी विवादमा परेका थिए।
फरकफरक देशबाट आएका, मृत्यु भएका, निको भएका, तीन वटै भौगोलिक क्षेत्र, विभिन्न जातजाति, उमेर समूह, लिंग, संक्रमण भेटिएका समयसहितका समूह निर्धारण गरेर नमुना संकलन गरिएको विभागका प्रमुख धिमालले बताए।
बिहीबार दिउँसोसम्म नेपालमा ३५ हजार ५ सय २९ जना संक्रमित भएकामध्ये २० हजार ७३ जना निको भएका छन्। १५ हजार २ सय ७३ जना उपचारको क्रममा छन्। नेपालमा हालसम्म १ सय ८३ जनाको निधन भएको छ।
नेपालमा कोरोना संक्रमण भएको व्यक्तिको पहिलो जिन सिक्वेन्सिङ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को हङकङ विश्वविद्यालयस्थित ल्याबमा गरिएको थियो। सम्बन्धित निकायबाट स्वीकृति नलिई गरिएको सो अध्ययन विवादमा परेको थियो। परिषदको स्वीकृति नलिई गरिएको सो अध्ययनमा संलग्न ६ जना वरिष्ठ अधिकारीहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ। पहिलो संक्रमित व्यक्ति चीनको वुहानबाट आएका विद्यार्थी थिए।
परिषदले विभिन्न देशले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिक ट्रायलमा नेपाल पिन सहभागी हुने जनाएको छ। त्यसैगरी नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएको औषधि रेमडिसिविर पनि अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया